काठमाडौं । प्रहरीले छापा मारेर देशका विभिन्न क्षेत्रबाट ७९ जना जुवाडेलाई पक्राउ गरेको छ । तिहारको छेक पारेर जुवा खेलिरहेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं– चन्द्रागिरी नगरपालिका–१४ पुरानो नैकाप बस्ने ४१ वर्षीय शंकर थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय पुष्कर थापासहित १६ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ४३ हजार ३ सय ५ रुपैयाँ, जुवातास खेल्न प्रयोग भएको गलैचा १ थान र ६ सय ३४ पत्ती तास सहित पक्राउ गरेको हो ।
भक्तपुर– चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाउँ बस्ने ५२ वर्षीय मणिराम पुरीको घरमा तास खेलिरहेको अवस्थामा पुरी लगायत १५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १२ लाख ४३ हजार ७ सय ८० रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके– नेपालगंज उपमहानगरपालिका–१३ बाबुगाउँबाट जुवातास खेलिरहेको अवस्थामा ४८ जनालाई नगद ४ लाख ६६ हजार ७७ रुपैयाँ र १० गड्डी ताससहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा केही मानिस जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।











