Logo
Logo
एमालेको १०औं महाधिवेशन

एमालेले एक निर्वाचन क्षेत्रबाट १२ सय बराबर ३ जना महाधिवेशन प्रतिनिधि छान्ने



काठमाडौं । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनका लागि कार्तिक २७ गते एकै दिन देशभर प्रतिनिधि छनोट हुँदैछ । एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन–१४ मा महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तोकिएको छ ।

एक निर्वाचन क्षेत्रबाट पार्टीका १ हजार २ सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था गरिएको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ । १ हजार २ सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ । यस अनुसार, ८ सय जना बराबर एक जना महाधिवेशन प्रतिनिधि थप छनोट गर्नुपर्ने हुन्छ ।

नेतृत्व छनोटका लागि इलेक्ट्रोनिक भोटिङ मेशिन (ई–भोटिङ)को प्रयोग गर्न लागेको एमालेले महाधिवेशनमा एकदिनमै मतदान र परिणाम सार्वजनिक गर्ने गरी तयारी गरेको छ ।

मंसिर १०, ११ र १२ गते चितवनमा हुने महाधिवेशनमा १ हजार ९ सय ९९ सय जना प्रतिनिधिहरुले मतदान गर्नेछन् । ललितपुरको गोदावरीमा हालै सम्पन्न प्रथम विधान महाधिवेशनमार्फत पारित एमालेको नयाँ विधानको व्यवस्था अनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

केन्द्रीय सदस्यमा खुलातर्फ ९८, समावेशीतर्फ ६६ र भूगोलतर्फ ४६ जना गरी २ सय १० जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । यसैगरी महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको पनि चयन गर्नेछ । एकतिहाई महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी बनाउने विधानमा व्यवस्था छ ।

यस्तो छ एमालेले जारी गरेको अपानी–१४

दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिको निर्वाचन देहाय बमोजिम गर्ने :

१. केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीसमेत सदस्यहरू मध्येबाट १५ जना प्रतिनिधि निर्वाचन गर्ने । प्रतिनिधिमा निर्वाचित नभएका सल्लाहकार परिषद्का सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर निजहरूलाई मताधिकार नहुने । २. प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तीमा दुई महिलासहित पाँच जना दरले प्रतिनिधि निर्वाचन गर्ने ।

३. प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्यबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले प्रतिनिधि निर्वाचन गर्ने । सो पछि प्रत्येक ८०० सम्मले थप एक÷एक जना प्रतिनिधि निर्वाचन गर्ने । त्यसरी प्रतिनिधि निर्वाचन गर्दा हरेक तीन जनामा एकजना महिला अनिवार्य हुनुपर्ने ।

४. देशभित्रका विशेष जिल्ला अन्तर्गतका १२०० सम्म पार्टी सदस्यबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले प्रतिनिधि निर्वाचन गर्ने । सो पछि प्रत्येक ८०० सम्मले थप एक÷एक जना प्रतिनिधि निर्वाचन गर्ने । त्यसरी प्रतिनिधि निर्वाचन गर्दा हरेक तीन जनामा एकजना महिला अनिवार्य हुनुपर्ने ।

५. भौगोलिक जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्य मध्येबाट एकजना प्रतिनिधि निर्वाचन गर्ने । सो पछि प्रत्येक ५०० सम्मले थप एक÷एकजना प्रतिनिधि निर्वाचन गर्ने । त्यसरी प्रतिनिधि निर्वाचन गर्दा हरेक तीन जनामा एकजना महिला अनिवार्य हुनुपर्ने ।

६. भौगोलिक प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तीमा तीन महिलासहित सात जनाका दरले प्रनितनिधि निर्वाचन गर्ने ।

७. प्रतिनिधि चयन गर्ने प्रयोजनका लागि पार्टी सदस्यको गणना कुनै एउटा निर्वाचन क्षेत्रमा मात्र हुने। एउटा सदस्यले कुनै एउटा निर्वाचन क्षेत्रमा मात्र चुन्न, चुनिन पाउने।

८. सल्लाहकार परिषद्ले परिषद्का सदस्य, भूगोलका प्रदेश कमिटीले मजदूर सदस्य र भूगोलका जिल्ला कमिटीले दलित सदस्यको निर्वाचन क्षेत्र निर्धारण गर्ने । यसरी निर्वाचन क्षेत्र निर्धारण गर्दा सम्बन्धित सदस्यको छनोटलाई मान्यता दिने। -भारत, अमेरिका (क्यानडा समेत), युरोप, एशिया प्यासिफिक, खाडी र ओसियाना अन्तर्गतका पार्टी सदस्यहरूले कम्तीमा दुई महिलासहित पाँच जनाका दरले प्रतिनिधि निर्वाचन गर्ने ।

१०. पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यहरूबाट कम्तीमा दुई महिलासहित पाँचजना प्रतिनिधि निर्वाचन गर्ने । विभागका सचिव र सदस्यहरू विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेको मध्ये कुनै एक स्थानबाट उम्मेद्वार बन्न सक्ने।

११. देहायबमोजिमका २२ जनसंगठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यहरूबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित प्रतिनिधि ः

– नेपाल ट्रेड युनियन महासंघ
– अखिल नेपाल किसान महासंघ
– अखिल नेपाल महिला संघ
– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
– राष्ट्रिय युवा संघ, नेपाल
– राष्ट्रिय जनसाँस्कृतिक महासंघ, नेपाल
– लोकतान्त्रिक मधेसी संगठन
– नेपाल खेलकूद महासंघ
– आदिवासी–जनजाति महासंघ, नेपाल
– पेशागत महासंघ, नेपाल
– नेपाल उत्पीडित जातीय मुक्ति समाज
– नेपाल मुस्लिम ईत्तेहाद संगठन
– प्रेस चौतारी, नेपाल
– नेपाल भूमिहीन सुकुम्बासी संगठन
– लोकतान्त्रिक अपाङ्ग संगठन
– नेपाल बुद्धिजीवी परिषद्
– प्रगतिशील पेशागत कानून व्यवसायी संगठन
– नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन
– नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ
– प्रगतिशील इन्जिनीयर्स एशोसिएसन, नेपाल
– मानव अधिकार एलाइन्स
– राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल

११. स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले प्रतिनिधि निर्वाचन सुनिश्चित हुनेगरी देहायबमोजिमका कमिटी र पदाधिकारीहरूले आ–आफ्नो कार्यक्षेत्रको विशेषताअनुरूप प्रतिनिधि निर्वाचनको व्यवस्थापन गर्ने ।

केन्द्रीय सल्लाहकार परिषदका पदाधिकारीसमेत सदस्यहरू मध्येबाट हुने प्रतिनिधि निर्वाचनको व्यवस्थापन केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्षले गर्ने ।

प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट हुने प्रतिनिधि निर्वाचनको व्यवस्थापन सम्बन्धित प्रदेश वा सो सरहका कमिटीले गर्ने ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका सदस्यहरू मध्येबाट हुने प्रतिनिधि निर्वाचनको व्यवस्थापन सम्बन्धित जिल्ला कमिटीले गर्ने । – देशभित्रका विशेष जिल्ला अन्तर्गतका प्रतिनिधि निर्वाचनको व्यवस्थापन सम्बन्धित विशेष जिल्ला कमिटीले गर्ने ।

देशभित्रका भौगोलिक जिल्ला अन्तर्गतका दलित सदस्यहरू मध्येबाट प्रतिनिधि निर्वाचनको व्यवस्थापन सम्बन्धित जिल्ला कमिटीले गर्ने ।

भूगोलका प्रदेश अन्तर्गतका मजदूर सदस्यहरू मध्येबाट प्रतिनिधि निर्वाचनको व्यवस्थापन सम्बन्धित प्रदेश कमिटीले गर्ने ।

प्रवास क्षेत्रमा प्रतिनिधि निर्वाचनको व्यवस्थापन प्रवास कमिटीका इञ्चार्जले गर्ने । १२. २०७७ चैत मसान्तसम्मका पार्टी सदस्यमात्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचनका लागि मतदाता हुने । प्रतिनिधिको निर्वाचन केन्द्रीय संगठन विभागबाट अभिलिखित पार्टी सदस्यता विवरणको आधारमा गर्ने ।

१३. २०७८ कात्तिक २७ गते स्वदेश तथा प्रवासमा एकैसाथ प्रतिनिधि निर्वाचन गर्ने । निर्वाचित प्रतिनिधिको प्रमाणित विवरण कात्तिक ३० गतेभित्र केन्द्रीय संगठन विभागमा दर्ता गर्ने ।

१४. एउटा पार्टी सदस्यले एउटा निर्वाचन क्षेत्रमा मात्र प्रतिनिधि चुन्ने÷चुनिने अधिकार प्रयोग गर्न पाउने। पदेन प्रतिनिधि हुने पार्टी सदस्य प्रतिनिधि चयन प्रक्रियामा सहभागी नहुने।

१५. केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष, प्रदेश वा सो सरहका कमिटी र जिल्ला वा सो सरहका कमिटीका अध्यक्ष र जनसंगठनका इञ्चार्जले आ–आफ्नो कार्यक्षेत्र अन्तर्गतका निर्वाचित प्रतिनिधि प्रमाणित गर्ने । केन्द्रीय कार्यालयका सचिवले केन्द्रीय विभागहरू र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यहरूबाट निर्वाचित प्रतिनिधि प्रमाणित गर्ने ।

१६. प्रतिनिधिको विवरणमा नाम–थर, ठेगाना, जन्म मिति, सदस्यता नम्बर, निर्वाचित भएको क्षेत्र, फोटो, फोन नम्बर, प्रमाणित गर्ने अधिकारीको हस्ताक्षर अनिवार्य हुनुपर्ने ।

१७. केन्द्रीय संगठन विभागले प्रतिनिधिको प्रामाणिक विवरण र परिचय–पत्र तयार गर्ने ।

राष्ट्रिय महाधिवेशनको सफल आयोजनाका लागि प्रतिनिधि निर्वाचनको विषय अत्यन्त महत्वपूर्ण छ । तसर्थ, प्रतिनिधि निर्वाचनसँग सम्बन्धित अन्तरपार्टी निर्देशन– १३ र १४ मा उल्लेख गरिएका विषयहरूलाई गम्भीरताका साथ लिन, निर्धारित समयमा प्रतिनिधि निर्वाचनको काम सम्पन्न गर्न र निर्वाचित प्रतिनिधिहरूको विवरण केन्द्रीय संगठन विभागमा दर्ता गर्ने सम्बन्धित सबै कमिटी, निकाय र सदस्यहरूलाई निर्देशित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्