Logo
Logo

एमालेको १०औं महाधिवेशन : मतदान र परिणाम एकदिनमै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व छनोटका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन (इ–भोटिङ मेसिन) प्रयोग हुनेछ । महाधिवेशनमा एकदिनमै मतदान र परिणाम सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ ।

१०औं महाधिवेशन मूल व्यवस्थापन समितिका सदस्य काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी एकै दिनमा मतदान र परिणाम सार्वजनिक गर्ने गरी सय भन्दा बढी मेसिन व्यवस्थापन गरिँदैछ ।

मंसिर १०, ११ र १२ गते चितवनमा हुने महाधिवेशनमा १ हजार ९ सय ९९ सय प्रतिनिधिले मतदान गर्नेछन् । कात्तिक २७ गते देशभर एकैदिन महाधिवेशन प्रतिनिधि चयन गर्ने सर्कुलर पार्टीले गरिसकेको छ । एमालेले नवौं महाधिवेशनमै इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गर्ने प्रयास भएको थियो । तर, यस बिषयमा सहमति जुट्न नसक्दा कागजको मतपत्रमै मतदान भएको थियो ।

‘एकजना मतदातालाई आधा घण्टा जति समय मतदान गर्नमा लाग्छ । सोहीअनुसार हामीले सम्बन्धित कम्पनीलाई सयभन्दा बढी मेसिनको व्यवस्था गर्न आग्रह गरिसकेका छौं’ अधिकारीले भने, ‘सबैलाई सहज होस् । एकै दिनमा मतदान र परिणाम आउँने गरी व्यवस्थापनमा हामी लागेका छौं ।’

ललितपुरको गोदावरीमा हालै सम्पन्न प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव जना गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

केन्द्रीय सदस्यमा खुलातर्फ ९८, समावेशीतर्फ ६६ र भूगोलतर्फ ४६ जना गरि २ सय १० जना केन्द्रीय सदस्य निर्वाचित गर्ने छ । यसैगरी महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको पनि चयन गर्नेछ । एकतिहाई महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी बनाउने विधानले व्यवस्था गरेको छ ।

एमालेले १० गते नारायणी नदीको किरानामा उद्घाटन र सौराहामा नेतृत्व छनोटका लागि बन्दसत्र सञ्चालन गर्ने तयारी गरेको छ । ११ गते मनोनयन र प्रतिनिधिहरुलाई इभिएम मतदान गर्न अभ्यास र १२ गते मतदान हुने मुल व्यवस्थापन समितिका सदस्य एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिए ।

‘सर्वप्रथम हामीले नेतृत्व चयनका बिषयमा सर्वसम्मतको प्रयास गर्नेछौं । सर्वसम्मत हुन नसकेको अवस्थामा मतदानको प्रक्रियामा सहभागि हुनेछौं’ शाक्यले भनिन्, ‘पदाधिकारीसहित केन्द्रीय कमिटीमा आउँनेको संख्या बढी नै भएकाले मतदान प्रक्रियामा जानुपर्ने हुनसक्छ । तर हामी सर्वसम्मतमै टुंगो लगाउँने प्रयास गर्नेछौं ।’

कहाँ–कहाँबाट आउँछन् प्रतिनिधि ?
एमालेले आगामी कात्तिक २७ गते शनिबार एकै दिन देशभरबाट प्रतिनिधि छनोट गर्दैछ । केन्द्रीय कमिटीको निर्णयअनुसार देशैभरी एकै दिन प्रतिनिधि छनोट हुन लागेको हो । त्यसअनुसार भूगोल, जनवर्गीय संगठनबाट निर्वाचित भएका सदस्य तथा केन्द्रीय कमिटी र निकायबाट पदेन प्रतिनिधित्व हुने छन् ।

महाधिवेशनका प्रतिनिधिको निर्वाचन एकसाथ यसरी हुदैछ :
– केन्द्रीय सल्लाहकार परिषदका पदाधिकारीसमेत सदस्यहरू मध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि । सल्लाहकार परिषदका अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उनीहरूलाई मताधिकार नहुने ।

– प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तिमा २ महिलासहित ५ जनाका दरले निर्वाचित हुने प्रतिनिधि ।
– प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिला सहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप १ जना, १६०० सम्म सदस्य थप भएमा थप २ जना, २४०० सम्म सदस्य थप भएमा कम्तिमा १ महिला सहित ३ जना र सो भन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने प्रतिनिधि । ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा १ जना महिला अनिवार्य हुने ।

– देशभित्रका विशेष जिल्ला अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिला सहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप १ जना, १६०० सम्म सदस्य थप भएमा थप २ जना, २४०० सम्म सदस्य थप भएमा कम्तिमा १ महिला सहित ३ जना र सो भन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने प्रतिनिधि । ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा १ जना महिला अनिवार्य हुने ।

– देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि । सो संख्यामा ५०० सम्म सदस्य थप भएमा थप १ जना, १००० सम्म सदस्य थप भएमा थप २ जना, १५०० सम्म सदस्य थप भएमा कम्तिमा १ महिला सहित ३ जना र सो भन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने दलित प्रतिनिधि । ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा १ जना महिला अनिवार्य हुने ।

– भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने प्रनितनिधि ।

– भारत, अमेरिका (क्यानडा समेत), युरोप, एशिया प्यासिफिक, खाडी र ओसियाना मध्ये प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तिमा २ महिला सहित ५ जनाका दरले निर्वाचित हुने प्रतिनिधि ।

– पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यहरूबाट निर्वाचित हुने कम्तिमा २ महिला सहित ५ जना प्रतिनिधि । विभागका सचिव र सदस्यहरू विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेको मध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्ने ।

– स्वदेशका देहायबमोजिमका २२ जनसंगठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यहरूबाट कम्तिमा २ महिला सहित ५ जनाका दरले निर्वाचित प्रतिनिधि :

नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ, नेपाल, राष्ट्रिय जनसाँस्कृतिक महासंघ, नेपाल, लोकतान्त्रिक मधेसी संगठन, नेपाल खेलकूद महासंघ, आदिवासी–जनजाति महासंघ, नेपाल, पेशागत महासंघ, नेपाल, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल मुस्लिम ईत्तेहाद संगठन, प्रेस चौतारी, नेपाल, नेपाल भूमिहीन सुकुम्बासी संगठन, लोकतान्त्रिक अपाङ्ग संगठन, नेपाल बुद्धिजीवी परिषद, प्रगतिशील पेशागत कानून व्यवसायी संगठन, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन, नेपाल उद्योग व्यवसायी महासंघ, प्रगतिशील इन्जिनीयर्स एशोसिएसन, नेपाल, मानव अधिकार एलाइन्स र राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल ।

प्रतिक्रिया दिनुहोस्