पोखरा । अर्थमन्त्री जनार्दन शर्माले लोकतन्त्र र जनचाहनाविपरीत हुने कार्यलाई प्रेसले खबरदारी गर्नुपर्ने बताएका छन् ।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनको आज (शनिबार) पोखरामा उद्घाटन गर्दै उनले जनअधिकार कुण्ठित गर्ने र संविधान च्यात्ने निरङ्कुश प्रवृत्तिका विरुद्ध प्रेस जगत्लाई आन्दोलनमा उत्रिनसमेत आह्वान गरे ।
सञ्चार जगत्लाई सामाजिक परिर्वतनको पक्षमा उभिन आग्रह गर्दै उनले भने, ‘सकारात्मक कुरालाई प्रेसले स्थापित गर्नुपर्ने हुन्छ । पार्टीको आन्तरिक जीवनमा देखिने लोकतन्त्र विरुद्धका कार्यमा समेत तपाईँहरू बोल्नुपर्दछ । बचनले होइन कर्मले लोकतन्त्रको सेवा गर्नुपर्दछ । काम र व्यवहारले लोकतन्त्रको पक्षमा उभिने कुरा महत्वपूर्ण हुन्छ ।’
मन्त्री शर्माले भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढङ्गले कलम चलाउन पत्रकारलाई आग्रह गर्दै अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी सशक्त भण्डाफोर गर्नसमेत अपिल गरे ।
समाजवादतिर अघि बढ्ने संवैधानिक अधिकार रहेको चर्चा गर्दै उनले राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनतासहित समाजवादका लागि आवश्यक विचार, सङ्गठन, स्कुलिङ र संस्कार र व्यवहार हुनुपर्नेमा जोड दिए ।
मन्त्री शर्माले प्रेस सेन्टरले जनताको आवाजहरूमा रमाउने र स्थापित हुने कार्यदिशा तय गर्नसमेत सुझाव दिए । लोककल्याणकारी विज्ञापनलाई सबै सञ्चार संस्थाले प्राप्त गर्ने गरी व्यवस्थित गरिने जानकारी दिँदै उनले अनलाइन सञ्चारमाध्यमको मूल्याङ्कनका लागि प्रेस काउन्सिललाई आग्रह गरिएको र सोपछि अनलाइनलाई समेत लोककल्याणकारी विज्ञापन उपलब्ध गराइने बताए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशका इन्चार्ज एवं पूर्वमन्त्री हितराज पाण्डेले क्रान्तिकारी पत्रकारले जनताको आवाज बोल्नुपर्ने र कलम चलाउनुपर्नेमा जोड दिए ।












