Logo
Logo

दिल्लीमा प्रदूषण बढेपछि कर्मचारीलाई घरबाटै काम गर्ने आदेश



काठमाडौं । दिल्लीमा प्रदूषणको तह उच्च भएपछि सम्पूर्ण विद्यालय र निर्माण कार्य बन्द भएका छन् । त्यहाँका संचारमाध्यमका अनुसार त्यहाँका सरकारी कर्मचारीले समेत घरबाटै काम गर्ने थालेका छन् । पछिल्लो एक सातादेखि राजधानी नयाँ दिल्लीलाई प्रदूषणले ढाकेपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले सो घोषणा गरेका हुन् ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डकाअनुसार शनिबार साँझ साढे ६ बजे दिल्लीको औषत वायु गुणस्तर सूचांक ४२७ पुगेको थियो । सामान्यतया शून्यदेखि ५० सम्मको वायु गुणस्तर सूचांकलाई वातावरणका दृष्टिले उपर्युक्त मानिन्छ । वायु गुणस्तर सूचांक ४०० भन्दा बढी हुनुलाई प्रदूषणको तह खतरनाक अवस्थामा पुगेको भन्ने बुझिन्छ । यस्तो प्रदूषणले फोक्सोको क्यान्सरलगायत मुटु र श्वासप्रश्वासजन्य समस्या उत्पन्न हुन्छ ।

नयाँ व्यवस्थाअनुसार अब सरकारी कर्मचारीले सात दिनसम्म घरबाटै काम गर्नेछन् । त्यस्तै, धुलो र प्रदूषणको मुख्य कारक मानिएका निर्माणसम्बन्धी कार्य १७ नोभेम्बरसम्म बन्द हुने भएका छन् ।

प्रदूषण नियन्त्रण गर्न केन्द्र र दिल्ली सरकारका नाममा सर्वोच्च अदालतले आपतकालीन कदम चाल्न आदेश दिएपछि मुख्यमन्त्री केजरीवालले प्रदूषण रोक्न विभिन्न योजना ल्याएका हुन् । सरकारले प्रदूषण नियन्त्रण गर्न आवश्यक परे लकडाउनसम्म गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्