Logo
Logo
प्रदेश २

एकीकृत समाजवादी सरकार सहभागी हुने भएपछि जसपाका दुई मन्त्री हट्दै


सन्तोष साह


काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा जुटेका छन् । नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनुपर्ने भएपछि मुख्यमन्त्री राउतले एक मन्त्री र एक राज्यमन्त्रीलाई राजीनामा गरेर सहयोग गर्न आग्रह गरेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश यादव र अर्थराज्यमन्त्री उषा यादवलाई राजीनामा गर्न मुख्यमन्त्री राउतले आग्रह गरेका हुन् । एकीकृत समाजवादीको आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेसँगै मुख्यमन्त्रीले दुई मन्त्रीलाई राजीनामा गरेर सहयोग गर्न आग्रह गरेका हुन् ।

संघीय सरकारमा कृषिमन्त्री रहेका महेन्द्रराय यादवको कोटाबाट रामनरेश प्रदेशमा मन्त्री भएका थिए । त्यसैले पार्टीभित्र शक्ति समीकरण मिलाउन रामनरेशलाई फिर्ता बोलाउन लागिएको हो । कोरोनाकालमा प्रदेशमा अति नै भ्रष्ट छवि बनाएका पर्यटनमन्त्री रामनरेशलाई हटाउन सजिलो रहेको समेत चर्चा हुने गरेको छ ।

यता, अर्थराज्यमन्त्री उषा यादवलाई फिर्ता बोलाएर सो ठाउँमा जसपाका सांसद निरा साहलाई पठाउने तयारी भएको छ । जसपा प्रतिनिधिसभाका सांसद प्रमोद साह संघीय सरकारमा मन्त्री हुने भनेर पार्टीले टुंगो लगाए पनि अन्तिम समयमा उनको नाममा टिपेक्स लागेको थियो । निरा उनै प्रमोदका पत्नी हुन् । संघीय सरकारको क्षतिपूर्ति स्वरुप प्रदेश सरकारमा निरालाई राज्यमन्त्री बनाउनुपर्ने माग हुँदै आएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारिणी समितिका सदस्यद्धय महेन्द्रराय यादव र राजकिशोर यादव लगायतका नेता प्रदेश सरकार पुनःगठनबारे निरन्तर छलफलमा छन् ।

पाँच दलीय गठबन्धनको आन्तरिक सहमतिअनुसार प्रदेश २ सरकारमा एकीकृत समाजवादी सहभागी हुने निश्चित भएपछि दुई साताअघि जनकपुरधाममा जसपाका शीर्ष नेताको बैठक बसेको थियो । जुन बैठकमा विभिन्न तीन विकल्पमा छलफल गरिएको थियो ।

छलफलमा मुख्यमन्त्रीसहित पार्टीबाट सरकारमा सहभागि सबैलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई मौका दिनेसम्मको प्रस्ताव आएको थियो । तर, पार्टीभित्र मुख्यमन्त्री कसलाई बनाउने भन्ने अर्को समस्या आउने भएकाले तत्कालका लागि एकीकृत समाजवादीलाई मात्रै सहभागी गराउन केही मन्त्रीलाई फिर्ता बोलाउने भद्र सहमति भएको थियो ।

सोही सहमतिअनुसार मुख्यमन्त्रीले एक मन्त्री र एक राज्यमन्त्रीलाई राजीनामा गर्न आग्रह गरेको जसपा स्रोतले जनाएको छ । मन्त्री रामनरेशले राजीनामा गरेमा एकीकृत समाजवादी प्रदेश २ संसदीय दलका नेता शत्रुधन महतोको नेतृत्वमा एकीकृत समाजवादी प्रदेश सरकारमा सहभागी हुनेछ ।

सहमतिअनुसार समाजवादीले दुई मन्त्रालय पाउनेछ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय समाजवादीले पाउने पक्का जस्तै छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दलका नेता महतो र अर्को मन्त्रालयमा सर्लाहीकी बेची लुंगेलीको नाम चर्चामा रहेको समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले बताए ।

मुख्यमन्त्री राउतले खाली रहेका दुई मन्त्रालय कानुन तथा प्रदेश मामिला मन्त्रालय र वाणिज्य आपूर्ति मन्त्रालय दिएर नेकपा समाजवादीलाई सरकारमा सहभागी गराउने प्रयास गरिरहेका थिए । तर, समाजवादीले यो मन्त्रालयमा रुची नदेखाएपछि रामनरेशसँग राजीनामा मागिएको हो । अहिले प्रदेश २ सरकारमा जसपाको नेतृत्वमा नेपाली कांग्रेस र माओवादी केन्द्र मात्र सहभागी छन् ।

यता, राजीनामा मागेपछि मन्त्री रामनरेशले असन्तुष्टि व्यक्त गरेका छन् । आफूनिकट नेताहरुसँग रामनरेशले दलीय गठबन्धनलाई पूर्णता दिन मुख्यमन्त्रीसहित सरकार पुनःगठन हुनुपर्ने सर्त राखेका छन् ।

‘मन्त्रीको राजीनामा माग्ने अधिकार मुख्यमन्त्रीसँग भएपनि मुख्यमन्त्री पनि पार्टीले नै बनाएकाले पार्टीको वैधानिक समितिबाट राजीनामाको निर्णय हुनुपर्छ । सरकार पुनःगठन गर्नुपर्दा मुख्यमन्त्रीसहित गर्नुपर्छ’ मन्त्री यादवले आफू निकटका नेताहरुसँग भन्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्