Logo
Logo

साइकल खरिदमा भ्रष्टाचार भएको अख्तियारको ठहर



धनुषा । प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत वितरणका लागि खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको अख्तियारले ठहर गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खरिद गरेको साइकलमा प्रारम्भिक चरणको अनुसन्धानमा अनियमितता भएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए । उनले भने, ‘प्रारम्भिक अनुसन्धानको क्रममा साइकल खरिदमा अनियमितता भएको देखिएकाले त्यस चरणलाई सकाएर दोस्रो चरणमा विस्तृत रुपमा अनुसन्धान गरिरहेका छौँ ।’

‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत वितरणका लागि खरिद गरिएको साइकलमा अनियमितता भएको भन्दै उजुरी परेपछि बर्दिबासस्थित अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मार्दै केही फाइल नियन्त्रणमा लिएको थियो । ती फाइल अनुसन्धान गर्दा अनियमितता भएको पाइएको अख्तियारले जनाएको छ ।

सापकोटाका अनुसार साइकल खरिदमा भएको अनियमितताका लागि लागि छुट्टै अनुसन्धान अधिकृत नियुक्त गरिएको छ । विस्तृत अनुसन्धानमा समेत अनियमितता भएको देखिएमा कर्मचारी तथा पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा दायर गर्ने प्रमुख सापकोटाले जानकारी दिए । विस्तृत अनुसन्धान हुन अझै एक÷डेढ महिना कार्यालय प्रमुख सापकोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्