भूमिसम्बन्धी समस्या समाधानको काम तोकिएकै समयमा सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन « Drishti News – Nepalese News Portal
Logo

भूमिसम्बन्धी समस्या समाधानको काम तोकिएकै समयमा सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले उद्देश्यअनुसार परिणाम निस्कने गरी काम गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई निर्देशन दिएकी छन् ।

राष्ट्रिय भूमि आयोगको कार्यालय ताहाचलमा आज आयोजित कार्यक्रममा उनले यसअघिका आयोगले गरेका कामलाई आधार मानेर बाँकी काम तोकिएको समयमा नै सम्पन्न गर्ने गरी योजनाबद्ध रुपमा लाग्न आग्रह गरिन्।

मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्था कार्यान्वयन गरी नागरिकलाई अधिकार दिने विषयमा अब ढिलाइ गर्न नहुने भन्दै प्रभावकारी रुपमा काम गर्नेगरी योजना र कार्यविधि बनाउन निर्देशनसमेत दिइन् । “आयोग गठन हुने तर कामले पूर्णता नपाउने कुराको अब अन्त्य हुनुपर्छ, अघिल्ला आयोगले गरेका कामलाई स्वामित्व नलिने परम्परा छ, नागरिकलाई नैसर्गिक अधिकार दिन ढिला भइसक्यो, जुन कुरा संविधानमा नै छ त्यो काम गर्न ढिला गर्नुहुँदैन । भूमिहिन किसानका समस्या छिटोभन्दा छिटो समाधान गरेर उनीहरुलाई अधिकार सम्पन्न गराउनुपर्छ”, उनले भनिन् ।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र उपाध्यक्ष नहेन्द्र खड्काले आयोगले कार्ययोजना तयार पारेर जतिसक्दो छिटो काम सम्पन गर्नेगरी अगाडि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्