Logo
Logo

आज विप्लवको नेपाल बन्द, यस्तो देखियो विहानै उपत्यकाका सडक



काठमाडौं । नेकपा नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहले आज (मंगलबार) नेपाल बन्दको आह्वान गरेको छ । विप्लव समूहले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आज नेपाल बन्द आह्वान गरेको हो ।

नेपाल बन्दका कारण आज विहान काठमाडौंका सडकमा आशिंक प्रभाव परेको देखिएको छ । बन्दको दिन आज विहान काठमाडौं उपत्यकमा सवारी चाप त्यति देखिएको छैन ।

सडकमा सुरक्षा प्रहरीको उपस्थित देखिएको छ भने छिटफुट मात्रै सवारी गुडेका छन् । उपत्यकाका मुख्य चोकहरुमा बिहानै गाडी पर्खने यात्रुहरु घुँइचो देखिएको छ । तर, गाडी भने त्यति गुडेका छैनन् ।

यस्तै ‘विप्लव’ समूहले नेपाल बार एसोसिएसनको आन्दोलनमा जाने अधिवक्तालाई नरोक्ने जनाएको छ । न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार देशव्यापी आन्दोलनमा उत्रिएको छ ।

प्रधानन्यायाधीश बहिर्गमनका लागि अधिवक्ताहरु दिनहुँ धर्ना र नाराबाजी गरिरहेका छन् । यसैक्रममा मंगलबार घोषित नेपाल बन्दमा आन्दोलन के हुने अन्योलका बीच बार महासचिव लिलामणी पौडेलले सोमबार साँझ विज्ञप्ति जारी गरेर बन्दमा अधिवकतालाई अवरोध नहुने जानकारी गराएका छन् ।

‘भोलि विप्लव समूहले नेपाल बन्दको कार्यक्रम राखेको भए पनि कानून व्यवसायीहरुको शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन कालो कोट, बारको लोगो र परिचय पत्र सहित बार एशोसिएशन र अदालतमा उपस्थित हुने कानून व्यवसायीहरुलाई कुनै रोक, अवरोध नगर्ने भन्ने अनौपचारिक जानकारी सहमति भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञज्ञप्तिमा सर्वोच्च अदालतलगायत देशभरका सबै कानून व्यवसायीहरुलाई कुनै अवरोध नहुने र नरहने भएकोले सम्पूर्ण कानून व्यवसायीलाई बार र एकाईहरुबाट गरिने कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ ।

नेपाल बन्द सफल हुन्छ’
विप्लव समूहले गरेको नेपाल बन्द आव्हान भव्यरूपमा सफल बनाउने मिथिला स्वायत्त जनपरिषद् प्रमुख पवन महतोले बताएका छन् । मंगलबार हुने बन्द जनताको लागि गरेको हुँदा सबैको सहभागिता उल्लेख्य रहने उनको भनाई छ ।

महोत्तरी लगायत प्रदेश-२ का ८ वटै जिल्लामा बन्द सफल बनाउन आफ्ना नेता, कार्यकर्ता परिचालन भइसकेको बताउँदै उनले बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म सवैजनालाई ऐक्यबद्धता जनाउन अपिलसमेत गरे ।

प्रदेश २ मा विप्लव समूह अलि कमजोर भए पनि उनीहरूले गरेको बन्दमा सर्वसाधारणको समेत सहभागिता रहने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्