Logo
Logo

साइकलमा भएको भ्रष्टाचारको विरोध गर्दा बर्खास्त गरियो : रामनरेश यादव



जनकपुरधाम । प्रदेश २ सरकारको उद्योग, पर्यटन, तथा वनमन्त्रीबाट बर्खास्त भएका रामनरेश राय यादवले भ्रष्टाचारको विरोध गर्दा जिम्मेवारीबाट हटाइएको आरोप लगाएका छन् ।

यादवलाई आजै मात्र प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए । दृष्टिन्युजसँग कुरा गर्दै यादवले भ्रष्टाचारको आरोप लागेका मुख्यमन्त्रीको राजीनामा माग्दा आफूलाई बर्खास्त गरिएको बताए हुन् ।

उनले भने, ‘मैले साईकल वितरण कार्यक्रममा भ्रष्टाचार भएको र मुख्यमन्त्रीसमेत जोडिएकाले सरकारमा पार्टीबाट सहभागि सबैले राजीनामा दिएर नयाँलाई अवसर दिनुपर्ने भन्दै आएको छु । यसैकारण मलाई मन्त्रीबाट हटाइएको हो । भ्रष्टाचारको आरोप लागेकालाई कारवाही गर्नुपर्नेमा मलाई किन बर्खास्त गरियो भनेर म पार्टीमा कुरा राख्छु ।’

जनता समाजवादी पार्टी नेपाल (जसपा)का कार्यकारिणी समिति सदस्यसमेत रहेका यादवले कार्यकारिणी समिति र प्रदेश २ को संसदीय दलमा यस बिषयमा कुरा राख्ने बताएका हुन् ।

‘मुख्यमन्त्रीमाथि भ्रष्टाचारको आरोप लागिसकेपछि अनुसन्धानलाई सफलता पूर्वक अगाडि बढाउन लालबाबुजीले राजीनामा दिनुपर्छ । यदि उहाँले यस्तो गर्नुभएन भने म कार्यकारिणी समितिको बैठक र संसदीय दलमा राजीनामा किन नदिएको भन्दै प्रश्न उठाउँछु’ यादवले भने, ‘केही समयमै स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आउँदैछ, यस्तो समयमा भ्रष्टाचार आरोप लागेकालाई मुख्यमन्त्री राखेर कसरी निर्वाचनमा जाने ? जनताले हामीलाई कसरी विश्वास गरेर मतदान गर्छन् ? यो गम्भीर बिषयमा पार्टीले सोच्नुपर्छ ।’

मुख्यमन्त्री राउतले राजीनामा गर्न भनेपछि यादवले दलीय गठबन्धनलाई पूर्णता दिन मुख्यमन्त्रीसहित सरकार पुनःगठन हुनुपर्ने शर्त राखेका थिए । यादवले राजीनामा नदिएपछि मुख्यमन्त्रीले आज बर्खास्त गरेका हुन् । उनको बर्खास्तिसँगै पार्टीमा विवाद बढेको छ । भ्रष्टाचारको आरोप लागेकाले मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने माग उठ्दै आएको छ ।

पाँच दलीय गठबन्धनबीच भएको सहमतिअनुसार प्रदेश २ सरकारमा नेकपा (एकीकृत समाजवादी)लाई सहभागि गराउन मुख्यमन्त्रीले यादवलाई बर्खास्त गरेका हुन् । अब सो मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादी प्रदेश २ संसदीय दलका नेता सत्रुधन महतोले लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्