बल्ल पो लेखक भइयो ! « Drishti News – Nepalese News Portal
Logo

बल्ल पो लेखक भइयो !


श्याम रिमाल


पत्रकार, वकिल, चिकित्सक, इञ्जिनीयर, प्राध्यापकका आ–आफ्नै सङ्गठन छन् । ती सङ्गठनले आआफ्ना सदस्यलाई सदस्यता बाँड्छन्, परिचयपत्र दिन्छन् । सङ्गठित मजदूर, उद्योगी–व्यापारीले परिचयपत्र पाएकै होलान् । कर्मचारी सबैले पाएकै छन् । ज्येष्ठ नागरिकले पाएका छन् । नपाउनेमा किसान पनि होलान् ।

साहित्यकार, कलाकार, गीतकार–गायक–सङ्गीतकारले पाएका छैनन् । नेपाल प्रज्ञा–प्रतिष्ठान(एकेडेमी)ले पनि आइतबारदेखि साहित्यकारलाई परिचयपत्र दिने कामको थालनी गरेको छ । शायद विश्वमै यस्तो कामको शुरुवात गर्नेमा एकेडेमी पहिलो भएको पनि हुन सक्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाबाट परिचयपत्र पाएपछि एकेडेमीका पूर्वकुलपति वैरागी काइँलाले त बल्ल लेखक भइयो भने । उनले यतिसम्म भने ‘मन्त्री (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन)ज्यू, अब त प्लेनमा यो परिचयपत्रले मान्यता पाउला नि ?” उनको सङ्केत साहित्यकारले सवारी साधनमा छुट पाउनुपर्छ भन्नेतर्फ नै हुनुपर्छ ।

श्याम रिमाल

जो वास्तविक साहित्यकार हो, उसलाई यो समाजले चिनिहाल्छ । परिचयपत्र देखाएर चिनाइरहनु पर्दैन । समाजलाई योगदान दिनेलाई त्यहीँ समाजका सदस्यले चिनेनन् भने कि त्यो समाज नै कृतघ्न हो, वा योगदानकर्ताको वास्तविक योगदानप्रति नै औँला ठड्याउनुपर्छ ।

यो शहरमा भानुभक्त आचार्य, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, माधव घिमिरे, रमेश विकल, कृष्णप्रसाद पराजुली, गोविन्द मल्ल, विजय मल्ल, चित्तधर हृदय, सिद्धिदास अमात्य, पारिजात आदि नचिन्ने शायदै कोही थिए होलान् । जनकवि गोकुलप्रसाद जोशी, धर्मराज थापा, सडक कवि शम्भु दाहाल, सडक तताउँथे । झलकमान गन्धर्व सारङ्गीबाटै चिनिन्थे ।

मयलपोश सुरुवालका साथ कम्मरमा खुकुरी भिरेर हिँड्ने गोपालप्रसाद रिमाललाई कसले चिनेन होला ? जनकवि दुर्गालाल श्रेष्ठ जनजनका हृदयमा छन् । विदेशको कुरा गर्दा, बेलायती रोमान्टिक कवि विलियम वर्डसवर्थको कोकरमाउथस्थित घर हेर्न दैनिक हजारौँ मानिस पुग्ने गरेको पर्यटन व्यवसायी विक्रम पाँडे काजीले शनिबार एक पुस्तक विमोचन कार्यक्रममा बताए ।

साहित्यकारहरू राष्ट्रका गौरव मात्र होइनन्, तिनले यो समाजलाई नदेखिने गरी प्रेरणा दिएको र चलायमान गराएको जनाउँदै उनले ‘लुसी ग्रे’का रचयिता वर्डसवर्थका घर वरिपरि थुपै्र पसल व्यवसाय, होमस्टे चलेकाले त्यहाँ आर्थिक गतिविधि राम्रो चलेको उदाहरण पनि दिए ।

बेलायतकै स्ट्राटफोर्ड–अपन–एभनस्थित शेक्सपियरको घर पनि पर्यटकीयस्थल बनेकै छ । तिनले आफ्नो जीवनकालमा दिएको योगदानले नै जनता कृतज्ञ बनेका हुन् ।

अहिले पनि कतिपय साहित्यकारका दर्जनौँ पाण्डुलिपि घरमा छन्, छापिदिने कोही छैन । कतिपय डेराभाडा तिर्न नसकेका, कोही औषधिमूलो गर्न नसकेका, कोही मर्दा पनि दाउरा नपाएर जल्न नपाएका साहित्यकार छन् ।

चाडपर्वमा धक फुकाएर खान नपाउने कयौँ होलान् । एक आर्थिक वर्षमा पूँजीगत खर्च गर्न नसकेर अर्बाैँ रकम फ्रिज हुने हाम्रो देशका देवकोटा, पारिजात अझै उपचार नपाएर थलिएर बसेको गथासो कति गर्नू ?

नेपाली सुगम सङ्गीत, शास्त्रीय भजन र राष्ट्रिय गीत–सङ्गीतमा योगदान दिने भक्तराज आचार्य जस्ता सम्पत्तिलाई राज्यले आजीवन भत्ता दिए हुन्न ? वाङ्मय शताब्दी पुरुषले पनि एकेडेमीको आजीवन भत्ता, वाङ्मय पुरुष भत्ता र लपु महानगरपालिकाबाट विशेष सुविधा पाएकै छन् क्यारे ।

सुदूरपश्चिमका वासुदेव भाइसाहब के गर्दै होलान् ? पूर्वका सडकमा हिँड्दै गाउने गङ्गा वरदान देश जस्तै झन् दुब्लाए होलान् । अझ स्रष्टा ग्राम बनाउने कुरा कहाँ गयो ? कवि–लेखकहरूलाई आवासीय सुविधा दिलाएर तिनबाट खँदिला सिर्जना प्राप्त गर्ने अवसर दिलाउन माधवकुमार नेपालको सरकारले ल्याएको योजना कहाँ अलपत्र पर्याे ?

प्राप्त आवेदनका आधारमा साहित्यकारलाई क्रमशः प्रमाणपत्र वितरण गरिने त भनिएको छ तर यसको उपादेयता घाँटीमा झुण्डाउने मात्र हो कि आयामेली कविले भने झैँ त्यसबाट सार्वजनिक यातायात, अस्पताल आदिमा पनि सुविधा वा छुट पाइने हो ?

कुनै बेला एकेडेमीका प्राज्ञ सदस्य दाबेदार कवि, आख्यानकार तथा पत्रकार हरि अधिकारीले फेसबुकमा भनेका छन्, ‘कस्तो हुन्छ होला यो परिचय–पत्र ? नागरिकताको प्रमाणपत्र जस्तो कि ड्राइभिङ लाइसेन्स जस्तो कि सरकारी–गैरसरकारी संस्थाका कर्मचारीहरूको परिचय–पत्र जस्तो ? अनि यो कागज बोक्नेले के–के कुरा पाउँछन् समाजबाट ? त्यस्ता पुर्जा–धारकलाई राज्यले केही सुविधा पनि दिन्छ कि ? … कि फगत एकेडेमीले मलाई साहित्यकार भनेर प्रमाणित गरिदिएको छ भन्दै गमक्क पर्नका लागि मात्रै काम लाग्ने हो ? त्यो अलि बाक्लो कागजको चिर्पट ? यस्ता निर्मूल्य प्रमाणपत्र लिनै नचाहने, यस्तो स्किमका शख्त विरोधी म जस्ता साहित्यकारको चाहिँ के हुन्छ त्यसपछि ? …मलाई सम्झाइदेओस् कसैले !!’

हो, एकेडेमीले साहित्यकार परिचयपत्रको औचित्य पुष्टि गरोस् र तिनका सुविधाका लागि राज्यबाट पहल पनि तुरुन्त गरोस् । हैन भने कवि–साहित्यकारभन्दा लाज लाग्नुपर्ने तथा साहित्यमा लाग्दा सुखसुविधाबाट सधैँ वञ्चित हुनुपरेको, घरपरिवार सम्हाल्न नपाएको, सन्तानको बेहाल भएको यो समाजमा अर्काे घाँडो बोक्ने, बोकाउने काम नहोस् ।

साहित्यकार परिचयपत्रका भोका होइनन्, सिर्जनाका लागि छट्पटिएका छन् जो देश वा राज्यमा चेतनाको, रुपान्तरणको र युग परिवर्तनका लागि अझै मस्तिष्क खियाउन तयार छन् । तिनलाई राज्यका गहनाका रुपमा मात्र हेर्ने कि वास्तविक रुपमा लगानी पनि गर्ने ?

२०७८ कात्तिक २८
[email protected]

प्रतिक्रिया दिनुहोस्