Logo
Logo

टेलिकमको आम्दानी करिब ११ अर्ब, खुद मुनाफा ७४ करोड रुपैयाँले बढ्यो



काठमाडौं । नेपाल टेलिकमले चालु आवको पहिलो त्रैमासमा १० अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको छ । सञ्चालन आय गत आवको प्रथम त्रैमासिक (२०७७ असोजमसान्त) भन्दा चालु आवको सोही अवधिमा १३.२ प्रतिशतले वृद्धि भएको छ ।

गत आवको प्रथम त्रैमासिकमा कम्पनीको संचालन आम्दानी आठ अर्ब ६२ करोड ८४ लाख ३४ हजार रुपैयाँ रहेकामा चालु आवको सोही अवधिमा एक अर्ब चार करोड ८९ लाख चार हजारले बढेर नौ अर्ब ६७ करोड ७३ लाख ३८ हजार रुपैयाँ पुगेको टेलिकमले सार्वजनिक गरेको छ । यस्तै गत आवको पहिलो त्रैमासको तुलनामा टेलिकमले चालु आवको सोही अवधिमा आयमा पनि ८.३९ प्रतिशतले वृद्धि गरेको छ ।

गत आवको पहिलो त्रैमासिक (२०७७ आश्विन मसान्त) मा कम्पनीको कुल आय १० अर्ब १० करोड ४४ लाख ७५ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधि (२०७८ आश्विन मसान्त) मा ८४ करोड ७८ लाख ७१ हजार रुपैयाँले बढेर १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ पुगेको टेलिकमले जनाएको छ ।

त्यसैगरी गत आवको प्रथम त्रैमासिक अवधिमा इबीआइटीडीए तीन अर्ब ९७ करोड चार लाख ९१ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा २१.२८ प्रतिशतले वृद्धि गरेको छ । अर्थात् अघिल्लो आवको पहिलो त्रैमासभन्दा चालु आवको सोही अवधिमा इबीआइटीडीए ८४ करोड ४९ लाख ५७ हजार रुपैयाँले बढेर चार अर्ब ८१ करोड ५४ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।

फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँज विस्तार हुनु नै टेलिकमको वित्तीय अवस्थामा सुधार आउनुको मुख्य कारण भएको जनाएको छ । फोरजीको पहुँच विस्तारले सक्रिय ग्राहक आधार वृद्धि भएर मोबाइल डेटा, भ्वाइस, एसएमएस सेवा आदिमा उल्लेख्य वृद्धि हुन पुगेको टेलिकमले जनाएको छ ।

यसैगरी, टुजी÷थ्रीजी सेवाको पहुँच नपुगेका स्थानहरुमा समेत टुजी÷थ्रीजीका साथै फोरजीको पहुँच विस्तार गरिएकाले उक्त संख्यामा वृद्धि भएको बताइएको छ । कम्पनीको फाइबर टु दि होम (एफटीटीएच) सेवा प्रति ग्राहकहरुको आकर्षणमा निकै सुधार आएको बताइएको छ । एफटीटीएच वितरणबाट इन्टरनेट सेवा तथा टेलिफोन, आइपी टिभीका ग्राहकहरु बढेरकाले फिक्स्ड नेटवर्कको आयमा समेत सकारात्मक प्रभाव परेको टेलिकमले जनाएको छ ।

टेलिकमले कोरोना महामारीविरुद्धको खोप कार्यक्रम पश्चात चालु आवको सुरुआतबाटै कम्पनीले संचालन गरिरहेका आयोजना तथा सेवा वितरणमा सहजता आएको स्पष्ट पारेको छ । महामारीलाई लक्षित गरी कम्पनीले ग्राहकहरुका लागि कम मूल्यमा डेटा प्याकेज उपलब्ध गराइरहेको भन्दै सोबाट प्रत्यक्ष रुपमा राजश्व बढी नउठे पनि कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधार जस्ता क्रियाकलापहरुबाट कम्पनीका सेवाहरु उपयोग गर्नेको संख्या बढेको जिकिर टेलिकमको छ ।

कोरोना महामारी, अन्तर्राष्ट्रिय यात्रा सहज नभइसकेको अवस्था तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहेको जनाएको छ । कम्पनीको एडीएसएल, पीएसटीएन, सीडीएमएको आम्दानीमा पनि गिरावट आएको छ ।

तर, अनलाइन व्यवसाय, अनलाइन कक्षा, सोसल नेटवर्किङ, इन्टरनेटमा आधारित मनोरञ्जन आदिमा वृद्धिले कम्पनीको भ्वाइस, डेटा र एसएमएस सेवामा गत आवको प्रथम त्रैमासिक अवधिको तुलनामा चालु आवको सोही अवधिमाक्रमशः करिब ७ प्रतिशत, १५ प्रतिशत र ३३५ प्रतिशतले वृद्धि भएको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्