Logo
Logo
साइकल वितरणमा भ्रष्टाचार प्रकरण

मुख्यमन्त्री राउतलाई राजीनामा दिन चौतर्फी दवाव



जनकपुरधाम । प्रदेश २ सरकारको साइकल वितरण कार्यक्रममा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरिसकेको छ ।

प्रदेश सरकारको कार्यक्रममा भ्रष्टाचार भएको ठहर भएसँगै मुख्यमन्त्री लालबाबु राउत नैतिक संकटमा परेका छन् । नैतिकताको आधारमा राजीनामा दिनुपर्ने दवाव बढ्दै गएको छ ।

अख्तियारले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेर साइकल वितरण कार्यक्रमको कागजात नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेपछि मुख्यमन्त्रीलाई राजीनामा दिनुपर्ने दवाव बढेको हो ।

प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलका नेता जितेन्द्र सोनल मुख्यमन्त्री राउतले तुरुन्त राजीनामा दिनुपर्ने बताउँछन् । अख्तियारले गरेको प्रथम चरणको अनुसन्धनअनुसार भ्रष्टाचार ठहर भइसकेकाले पदमा बसेर मुद्दालाई प्रभावित बनाउन सकिने भएकाले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने उनको धारणा छ ।

‘मुख्यमन्त्रीले नैतिकताको आधारमा तुरुन्त राजीनामा दिनुपर्छ । साइकल वितरण कार्यक्रममा भ्रष्टाचार भएको ठहर भइसकेको छ । अब ‘चार सिट’ तयार गरी मुद्दा हालिँदैछ । यस्तो अवस्थामा मुख्यमन्त्रीले तुरुन्त राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्छ’ सोनलले भने ।

लोसपा कार्यकारिणी समितिका सदस्यसमेत रहेका सोनल अख्तियारले निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताउँछन् । मुख्यमन्त्री राउत नेतृत्वको प्रदेश २ सरकारमा यसअघि सोनल भौतिक पुर्वाधारमन्त्री थिए ।

प्रतिपक्षी दल नेकपा (एमाले) प्रदेश २ संसदीय दलका नेता सत्यनारायण मण्डलले भ्रष्टाचारमा प्रदेश २ अघि रहेको आरोप लगाउँछन् । एमाले स्थायी कमिटीका सदस्यसमेत रहेका मण्डल प्रदेश २ सरकारको हरेक कार्यालयमा भ्रष्टाचार बढेको बताउँछन् । भ्रष्टाचार गरेको आरोप लागेका मुख्यमन्त्री राउतले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नपर्ने उनको भनाइ छ ।

‘साइकल वितरण कार्यक्रममा मात्रै नभई प्रदेश २ सरकारको हरेक कार्यालयका साथै स्थानीय तहमा समेत खुलमखुला भ्रष्टाचार भइरहेको छ । मुख्यमन्त्रीले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नु नै राम्रो हुन्छ’ मण्डलले भने ।

अहिले प्रदेश २ सरकारका हरेक मन्त्रालयका साथै स्थानीय तहका सरकारहरुमा भ्रष्टाचार खुलमखुला भइरहेको अख्तियारको रिपोर्टले पुष्टि गरेको उनले बताए । सुशासन कायम गर्नका लागि अख्तियारले अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउन आवश्यक रहेको मण्डल बताउँछन् ।

जनमत पार्टीका महासचिव चन्दन सिंह मुख्यमन्त्री लालबाबुसँग अलिकति पनि नैतिकता छ भने तुरुन्त राजीनामा दिनुपर्ने बताउँछन् । प्रदेश २ सरकार भ्रष्ट रहेको प्रमाणित भइसकेको बताउँदै उनले अख्तियारले अन्य कार्यक्रमको समेत छानबिन गरी भ्रष्टहरुलाई खोजी–खोजी कानूनअनुसार कारबाही गर्नुपर्ने सिंह बताउँछन् ।

‘मुख्यमन्त्रीसँग अलिकति पनि नैतिकता छ भने तुरुन्त राजीनामा दिनुपर्छ । जनताको काम नगर्ने केवल कमिसनमा केन्द्रित रहेको कुरा सबैलाई थाहा छ । यस्ता कमिसनखोरलाई कारबाही गर्नबाट अख्तियार पछाडि हट्नुहुन्न’ महासचिव सिंहले भने ।

जनमत पार्टीले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएको भन्दै उनले पदमा बसेर मुद्दा प्रभावित बनाउन नमिल्ने बताए । अख्तियारले अनुसन्धान प्रक्रिया अगाडि बढाएकाले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने उनको धारणा रहेको छ ।

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिका सदस्य एवं प्रदेश २ का सांसद रामनरेश राय यादव पनि मुख्यमन्त्री राउतलाई राजीनामा दिनुपर्ने सुझाव दिन्छन् । साइकल वितरण कार्यक्रमका साथै अन्य कार्यक्रममा भएको भ्रष्टाचारको विरोध गर्दा आफू मन्त्री पदबाट बर्खास्तीमा परेको बताउँदै उनले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताए ।

‘मैले पार्टी तथा संसदीय दलको बैठकमा पहिलेदेखि नै सरकारमा सहभागिलाई फिर्ता बोलाउँनुपर्ने सुझाव दिँदै आएको छु । अब हुने बैठकमा समेत यो कुरा उठाउँछु । यस्ता भ्रष्ट व्यक्तिका कारण पार्टीको छवि बिग्रिरहेकाले राजीनामा दिनु राम्रो हुन्छ’ यादवले भने ।

के भन्छन् राजनीतिक विश्लेषक ?
राजनीतिक विश्लेषक चन्द्रकिशोर वर्तमान राज्यव्यवस्थाको जग मधेस आन्दोलन नै रहेकाले मधेस आन्दोलनका नेतृत्वकर्तामा विचलन आउनु चिन्ताको विषय रहेको बताउँछन् ।

प्रदेश २ ले आफूलाई संघीयताको मानकको रुपमा स्थापित गर्नुपर्ने भएकाले भ्रष्टाचार आरोप लागेका मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु नै उत्तम हुने उनको भनाइ छ ।

चन्द्रकिशोर भन्छन– ‘भ्रष्टाचारको आरोप लागेपछि सत्तारुढ दलले यस बिषयमा निर्णय गर्नुपर्ने हुन्छ । तर, जसपा अलमलमा रहेको छ । के गर्ने भन्ने निर्णय नै गर्न सकेको छैन । अरु प्रदेशभन्दा प्रदेश २ ले नमुना काम गर्नुपर्ने हुन्छ । किनभने मधेस आन्दोलनको कारण नै मुलुकमा संघीयता आएको हो । जसपाले यस बिषयमा छिटै नै निर्णय गर्नु उत्तम हुन्छ ।’

भ्रष्टाचारको आरोप लागेपछि भारतमा कतिपय मन्त्री, मुख्यमन्त्रीहरुले राजनीनामा गरेर अनुसन्धानमा सहयोग गरेर नैतिकता प्रदर्शन गरेको उदारण दिँदै उनले भने– ‘मुख्यमन्त्री आवद्ध पार्टीले यस विषयमा ढिला नगरी निर्णय गर्नु र विकल्प दिनुपर्छ ।’

तर, अर्का राजनीतिक विश्लेषक तुलानारायण साह भने भ्रष्टाचार आरोप लाग्दैमा राजीनामा दिनु नपर्ने बताउँछन् । प्रदेश २ का मुख्यमन्त्री मात्रै नभइ देशका अधिकांश पालिका प्रमुख, उपप्रमुखमाथि भ्रष्टाचार आरोप लागेको छ । अख्तियारले अनुसन्धान पनि गर्दैछ । यस्तो अवस्थामा राजीनामा दिएपछि अवस्था अर्कै हुने उनले बताए । मुद्दा दायर गरेपछि संविधानको व्यवस्थाअनुसार उनीहरु निलम्बनमा पर्ने भएकाले राजीनामा गर्न हतार गर्न नहुने विश्लेषक साहको भनाइ छ ।

विश्लेषक साह भन्छन्– ‘जनताबाट निर्वाचित जनप्रतिनिधिमाथि यस्ता आरोप लाग्दै आएको छ । धेरैले नैतिकताको बिषय उठाउँछन् । तर नैतिकताको विषय उठाएर मात्रै भएन । अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेपछि उनीहरु स्वतः निलम्बनमा पर्छन् । त्यसैले राजीनामा दिन हतार गर्नुपर्दैन ।’

प्रदेश २ मा नैतिकताको बिषय उठाउनेहरुको पनि नैतिकता हेर्ने हो भने उनीहरुको विगत राम्रो देखिदैन । आफू नैतिकवान् नहुने तर अरुलाई नैतिकताको पाठ मात्रै सिकाएर नहुने साहको तर्क छ ।

के चाहन्छन् मुख्यमन्त्री राउत ?
प्रदेश सरकारको कार्यक्रममा भ्रष्टाचार भएको ठहर नै भए पनि मुख्यमन्त्री राउत भने अहिले नै राजीनामा दिने मनस्थितिमा छैनन् । उनी यस विषयमा कुरा गर्न समेत चाहँदैनन् । दृष्टिन्यूजले यस विषयमा कुरा गर्न खोज्दा मुख्यमन्त्री राउनले राउतले भने– ‘यस विषयमा म कुरा गर्न चाहन्न ।’

प्रतिक्रिया दिनुहोस्