Logo
Logo

सर्वोच्चको समस्या छिट्टै समाधान हुन्छ : अध्यक्ष नेपाल



धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने बताएका छन् ।

बिहीबार धनगढीमा समाजवादी पार्टीको सुदूरपश्चिम प्रदेशको कार्यालय उद्घाटनपछि सञ्चारकर्मीलाई कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनुपर्नेमा पाँच दलीय गठबन्धन एकमत छ ।’

अध्यक्ष नेपालले त्यस सम्बन्धमा पाँच दलको बैठक बसेको बताउँदै अदालतमा देखिएको समस्यालाई राम्रो वातावरणमा छिटो भन्दा छिटो समाधान हुनुपर्नेमा सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय भएको बताए । उनले भने, ‘यसका निम्ति प्रधानमन्त्रीज्यूले पहल गर्नुहुन्छ ।’

पार्टी कार्यालय उद्घाटनका क्रममा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिमबाट फहराएको एकीकृत समाजवादीको झण्डा मेचीसम्म पुग्ने बताए । बुधबार सुदूरपश्चिम पुगेका नेपाल एकीकृत समाजवादीले बिहीबार धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्