Logo
Logo

‘कानुन व्यवसायीमाथिको आक्रमणबारे छानबिन नभए अन्तर्राष्ट्रियकरण गर्छौं’



काठमाडौं । नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले कानुन व्यवसायीमाथि भएको आक्रमणबारे छानबिन नभए मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने बताएकी छन् ।

प्रर्दशनपछि नेपाल बारले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘अदालत परिसरभित्र दंगा प्रहरीबाट घाइते गराउने काम र हतियारसहितको प्रहरी प्रवेश गराउने विषयको छानबिन भएन भने हामी यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने छौं, यसको सन्तोषजनक जवाफ आएन भने हामीले त्यसविरुद्ध जाने छौं ।’

उनले सर्वोच्च अदालतलाई युद्ध मैदान बनाइएको आरोप पनि लगाइन् । आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी परिचालन गरेर दमन गरिएको उनको भनाइ थियो । उनले भनिन्, ‘हामी शान्तिपूर्ण रुपमा आन्दोलनमा थियौं। हामीमाथी दंगा प्रहरी परिचालन गरियो। मूलद्वारमा हामी बसेपछि प्रधानन्यायाधीशले वैकल्पिक बाटो प्रयोग गर्नुभयो, त्यता जान खोज्दा हामीमाथि प्रहार भयो ।’

शान्तिपूर्ण आन्दोलनमा दमन भएको भन्दै यसको अनुसन्धान र आगामी आन्दोलनको अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई उनले आग्रह गरिन् । बारले सञ्चालन गरेको आन्दोलनबाट सेवाग्राहीमा परेको असहजलाई केही समय साथ दिन उनको आग्रह थियो ।

प्रतिक्रिया दिनुहोस्