Logo
Logo

घनश्यामको प्रस्ताव प्रभु साहद्वारा अस्वीकार



काठमाडौं । नेकपा (एमाले) को १०औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरुले आन्तरिक छलफललाई तिब्रता दिएका छन् । अध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेका एमाले उपमहासचिव घनश्याम भुसाल र नेता प्रभु साहबीच आज भेटवर्ता भएको छ ।

काठमाडौंको बिजुली बजारमा भएको भेटघाटमा भुषालले साहलाई आफ्नो प्यानलबाट उम्मेदवारी दिन आग्रह गरेको स्रोतले जनाएको छ । भुषालले आफ्नो समूहबाट उपाध्यक्ष, सचिव वा अन्य कुनै पदमा प्रतिस्पर्धा गर्न प्रस्ताव गरेका छन् । तर एमाले नेता साहले भुषालको प्रस्ताव अस्वीकार गरेका छन् ।

साहले एमालेको १०औं महाधिवेशनमा एकताको महाधिवेशन गर्नुपर्ने भन्दै निर्वाचनमा जान अस्वीकार गरेका छन् । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेको र सर्वोच्च अदालतको फैसलाले पुरानै अवस्थामा फर्किनुपर्ने बाध्यता भएपनि अहिलेको एमाले पुरानै एमाले नभएको साहको भनाइ छ ।

पुर्वमाओवादीका नेताहरु समेत अहिलेको एमालेमै रहेकाले अगामी महाधिवेशन एकताको नै महाधिवेशन हुनुपर्ने तर्क साहको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र साहबीचको सहमतीअनुसार साहको प्रस्तावमै हालै दुई जना नेता पार्टी केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

तर भुसालसँगै रहेका उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका थिए । छलफलमा साहले पार्टीलाई बलियो बनाउन भएको गतिविधिमा रावलले विरोध गर्नुले सहकार्य गर्न नसकिने बताए । साहलाई आफ्नो समूहमा लाग्न फकाउन पुगेका भुसाललाई नै ओलीकै नेतृत्वमा अगाडि बढन साहले प्रस्ताव गरेका छन् ।

पदाधिकारीमा प्रतिस्पर्धा गर्न भुसालले प्रस्ताव गरेपछि साहले ओलीलाई नै अध्यक्ष बनाएर एकताको महाधिवेशन गर्नुपर्ने भन्दै भुसाललाई सो प्रस्ताव गरे । भुसालको समूहबाट पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने र आफू ओलीकै नेतृत्वमा अगाडि बढ्न चाहेको चाहना साहले व्यक्त गरेको स्रोतले जनाएको छ ।

एमालेको १०औं महाधिवेशनमा मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव जना गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्