Logo
Logo

नेपाल प्रहरीमा अबको आईजीपी को ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एउटा बढुवाले नेपाल प्रहरीको भावी नेतृत्वको हिसाबकिताब उथलपुथल बनाइदिएको छ । दुई ब्याच सिनियर एसएसपीलाई उछिनेर विश्वराज पोखरेललाई नेकपाको सरकारले डिआईजीमा बढुवा गरेपछि भावी प्रहरी नेतृत्वबारे नयाँ लेखाजोखा सुरु भएको छ ।

जसरी पोखरेलले झन्डै एक दर्जन एसएसपीलाई पछि पारेर बढुवा भए त्यसअनुसार उनी सर्वेन्द्र खनालपछि नै आईजीपी हुनसक्ने कतिपयले आँकलन गर्न थालेका छन् । सिंगो राज्यसंयन्त्रलाई नै हात लिएर उनले ६ महिनादेखि डिआईजी बढुवामा चलखेल गरेका थिए । उनको शक्ति देखेर प्रहरी अधिकारीहरु नै चकित भएका छन् ।

३० वर्षे सेवाहद कायमै रहेको अवस्थामा अहिलेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आगामी २९ माघमा अवकाश पाउनेछन् । त्यसपछिको पाँच महिनाका लागि ठाकुर ज्ञवाली वा तारिणी लम्सालमध्ये एक आइजीपी हुने आँकलन गरिएको छ । प्रहरी नियमावलीमा सिनियर एआईजीमध्येबाट तथा एआईजी नभएको अवस्थामा डिआईजीमध्येबाट आईजीपीको बढुवा गर्ने प्रावधान छ । त्यसकारण त्यो अवस्थामा अरुलाई पछि पारेर उनले नै बाजी मार्न सक्ने कतिपय प्रहरी अधिकारी बताउँछन् ।

ज्ञवाली र लम्सालमध्ये एक नै आईजीपी भएपनि असारमा आईजीपी बन्ने उनको योजना छ । खनालसँगै सबै एआईजीले माघमा अवकाश पाउँछन् । त्यो अवस्थामा शैलेश थापाको ब्याचलाई समेत ओभरटेक गरेर एक नम्बरमा एआईजी हुने र २५ असारमा आईजीपी बन्ने उनको योजना छ । त्यही योजनाअन्र्तगत उनलाई अहिले डिआईजीमा बढुवा गरिएको गृह मन्त्रालय स्रोत बताउँछ । त्यसरी आईजीपी भएमा उनले तीन वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । ‘जसरी पोखरेलको डिआईजीमा बढुवा भएको छ, त्यो हेर्दा अबको आईजीपी उनी नबन्लान् भन्न सकिन्न,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्,‘तर, यो प्रहरी संगठनका लागि भने दुर्भाग्य हुने छ ।’ थापाको ब्याचमा हरि पाल, निरज शाही, प्रद्युम्न कार्की लगायतका अधिकारी राजनीतिक लबिङका दृष्टिकोणले कमजोर भएकाले उनले ओभरटेक गर्न सक्ने आँकलन गरिएको हो ।

यसरी चरम राजनीतिक हस्तक्षेपबाट बनाइएको प्रहरी महानिरीक्षकले एकातर्फ निष्पक्ष भएर काम गर्न नसक्ने र अर्काेतर्फ सिनियर ब्याचका प्रहरी अधिकृतमा समेत बितृष्णा पैदा हुने भएकाले पोखरेलको उदयले प्रहरी भने ओरालो लागेको प्रहरी अधिकारीको भनाइ छ । पोखरेलको बढुवालाई प्रहरीमा चरम राजनीतिक हस्तक्षेपका रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्