Logo
Logo
१० भाइ दशतिर

एमालेमा तेस्रो धार खारेज, रावल र भुसालबाहेक सबै ओली समूहमा विलय



काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशन आइसक्यो । नेताहरु राजनीतिक भविष्य सुरक्षित गर्न पहलकदमीमा जुटेका छन् । तर, विगत झै गुटको चर्चा भने छैन । एकाध बाहेक अघिकांश नेता अध्यक्ष केपी शर्मा ओलीलाई खुशी बनाएर राजनीति भविष्य सुरक्षित गर्ने लयमा जुटेका छन् ।

माधवकुमार नेपाल र झलनाथ खनाल एमालेबाट बाहिरिएपछि ओली एक्लो प्रतिस्पर्धी बनेका छन् । उनका प्रतिस्पर्धी छैनन् । प्रतिस्पर्धी नै नभएपछि गुट हुने बन्ने अवस्था छैन । पार्टी एक हुँदा माधव समूहका नेता शक्तिशाली थिए । माधवले पार्टी छोड्दा एमालेमै रहेका माधव समूहका बाँकी नेता पनि अहिले अस्तित्वविहीन छन् । एमालेमै रहेर संगठित संघर्ष गर्ने भनेकाहरु अहिले तितरबितर भइसके ।

पार्टी विभाजन हुँदा तेस्रो धारणका नाममा एमलेमै रहेका १० नेता अहिले १० तिर छन् । एक ठाउँमा नहुँदा उनीहरु कमजोर भइसके । १०औं महाधिवेशन आइसक्दा पनि तेस्रो धारको हलचल छैन ।

१० नेताले एमालेमै रहेर अन्तरसंघर्ष गर्ने भनेतापनि ओलीको शक्तिसामु टिक्न सकेनन् । त्यसैले उनीहरु १०औं महाधिवेशनमा ओलीकै नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिइरहेका छन् । ओली इतर समूह बनाएर प्रतिस्पर्धा गर्दा सबै पराजीत हुने उनीहरुलाई डर छ । ओलीलाई रिझाउँदै राजनीतिक भविष्य सुरक्षित गर्नका ‘बार्गेनिङ’ गर्ने अवस्थामा पुगेका छन् । लामो समयदेखि ओलीलाई आलोचना गर्दै आएका १० मध्ये अधिकांश नेता ‘देवत्वकरण’मा जुटेका छन् ।

दश विद्रोही दशतिर
एमालेमा भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा विद्रोही नेताको अस्तित्वमा थिए । उनीहरुले आफूलाई तेस्रो धार भन्ने गरेका छन् । पार्टी विभाजन हुँदा एमालेमै रहने निर्णयमा पुगेका यी १० नेता छोटो समयमै तितरबिरत भएका हुन् । अथार्त दश नेता दशतिर पुगिसकेका छन् ।

तेस्रो धार खारेज !
यी १० नेताले पार्टीलाई विभाजनबाट रोक्न बनाइएको १० बुँदे सहमति कार्यान्वयन गर्ने सर्तमा एमालेमै रहने निर्णय गरेका हुन् । तर, विधान महाधिवेशनपछि एमालेमा १०बुँदे लगभग खारेज भइसक्यो । सँगै, १० नेताको गुट पनि खारेज भएको छ । अहिले १० नेता सामुहिक छलफल समेत गर्न नसक्ने अवस्था छन् । त्यस्तो अवस्थामा महाधिवेशनमा १० बुँदे पक्षधर एक भएर मैदान उत्रने सम्भावना लगभग समाप्त भएको छ ।

मुद्धाको आधारमा एक ठाउँमा रहँदै आएका यी १० नेता अहिले एक ठाउँमा रहन नसक्ने भएपछि सबैको राजनीति भविष्य पनि संकटमा परेको छ । त्यसैले उनीहरु एक्लाएक्लै प्राप्तीको रणनीतिमा जुटेका छन् ।

भीम रावल र घनश्याम भुसाल बाहेक बाँकी ८ नेता त ओली समूहमै बिलय भन्यो भन्दा हुने अवस्था बनेको छ । रावल र भुसालले ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने भन्दै आएपनि अरु नेता चुपचाप छन् । उनीहरुले थर्काएर भन्दा पनि फकाएर पद हत्याउने नीति अवलम्बन गरेका छन् । त्यसैले ८ नेता ओली समूहमै विलय भएका हुन् ।

रावल र भुसाललाई आफ्नैबाट साथ छैन
ओली विरुद्धको मोर्चा कस्ने सामान्य कुरा छैन । भीम र घनश्यामले अध्यक्ष पदमा ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गरे पनि आफ्नैबाट साथ छैन ।

पछिल्लो समय तेस्रो धार मध्येबाट पनि थप विद्रोही नेताको रुपमा देखिएका रावलले गृह जिल्ला अछाम पुगेर अध्यक्ष पदमा ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा त गरे तर आफ्नै समूहमा छलफल गरेका छैनन् ।

समूहमा छलफल नै नगरी उम्मेदवारी घोषणा गरेको भन्दै आफ्नैबाट आलोचना सुरु भएको छ । आफ्नैले ओलोचना गरेपछि रावल महाधिवेशनका लागि आवश्यक सामान्य टिम बनाउनसमेत नसक्ने अवस्थामा पुगेका छन् । रावलको पछिल्लो गतिविधिलाई धेरैले उपाध्यक्ष र सुदूरपश्चिम इञ्चार्ज सुरक्षित गर्ने ‘बार्गेनिङ’ भन्ने गरेका छन् ।

उपमहासचिव घनश्याम भुसालले अध्यक्ष पदमा ओलीसँग प्रतिस्पर्धा गर्ने चर्चा सुरु भएको छ । तर, उनले औपचारिक घोषणा गरेका छैनन् । औपचारिक घोषणा नगरे पनि भुसााल आन्तरिक तयारिमा भने जुटेका छन् । आफ्नो र ओली समूहका नेताहरुसँग ‘वान टु वान’ छलफल गर्दै आएका भुसाल आफ्नो वैचारिक धार बचाउनका लागि भएपनि अध्यक्ष पदमा उम्मेदवारी दिने सोचमा रहेको बुझिन्छ ।

रावल र भुसाल अध्यक्षका लागि आन्तरिक तयारीमा रहेतापनि उनीहरुलाई आफ्नै समूहको साथ छैन । सबै आफ्नो पद सुरक्षित गर्नेतर्फ केन्द्रित भएका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिइहाले पनि रावललाई साथ दिने कोही देखिन्न, भुसललाई केही वैचारिक नेता कार्यकार्ताले साथ देलान तर त्यो पुग्दो हुँदैन ।

बाँकी नेता ओली समूहमा विलय
रावल र भुसाल बाहेकका ८ नेता संस्थापन समूहकै नेता भइसकेका छन् । अर्थात तेस्रो धारबाट उनीहरु पहिलो धारमा सरिसकेका छन् । युवराज, अष्टलक्ष्मी, योगेश, गोकर्ण, सुरेन्द्र, रघुजीहरु ओली समूहकै नेताको भूमिका देखिन्छन् । ओलीका हरेक निर्णयमा खुलेर समर्थन गरिरहेका छन् ।

ओलीकै समूहमा मिसिनुको एक मात्र कारण महाधिवेशनमा पद सुरक्षित गर्नु भन्ने उनीहलाई आरोप लाग्ने गरेको छ । ओलीलाई सर्वसम्मत अध्यक्ष बनाएर बाँकी पदमा आफू सुरक्षित हुने उनीहरुको योजना हो । विगतमा ओलीको चर्को आलोचना गर्ने यी ८ नेतामा भीम र घनश्यामलाई समर्थन गरे ओलीले किनारामा पार्ने डर छ ।

तेस्रो धारका अधिकांश नेताले एमाले विभाजन नहुँदै माधव छोडेर ओली रोजिसकेका थिए । सचिवद्वय गोकर्ण र योगश पार्टी विभाजन हुनु अगावै ओली गुटमा पुगिसकेका थिए । एमाले विभाजनको संघारमा पुग्दा सुरेन्द्र पाण्डे माधव छोडेर ओलीकै पक्षमा खुलिसकेका थिए । सोही कारण १०औं महाधिवेशन व्यवस्थापन समितिको सह–संयोजक बनाएर ओलीले सुरेन्द्रलाई ‘जोखिम’ पुरस्कार दिएका हुन् । फरक धारकै भएपनि ओलीले आफूलाई पदाधिकारी बनाउनेमा सुरेन्द्र आशावादी छन् ।

अन्तरसंघर्षका क्रममा ओलीविरुद्ध आगो ओकले पनि माधवलाई छोडेवापत ७२ दिने मुख्यमन्त्री पाएपछि अष्टलक्ष्मी संस्थापन लाइनकै सदस्य भइसकेका छन् । भीम आचार्यले पनि माधवलाई धोका दिए वापत नै मुख्यमन्त्रीको पुरस्कार पाए । भविष्यमा ओलीबाट कुनै न कुनै अवसर पाउने आशामा अरु नेता पनि संस्थापन भइसकेका छन् । अथार्त एमालेमा अब तेस्रो धार नामको समूह खारेज भएको छ ।

प्रतिक्रिया दिनुहोस्