Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

कान्छो कल्याणदेखि पाको रामचन्द्रसम्म सभापतिका उम्मेदवार



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आउन तीन साता मात्रै बाँकी छ । पटकपटक कार्यतालिका परिवर्तन गरेको कांग्रेसले पछिल्लोपटक मंसिर २४ देखि २६ गते काठमाडौंमा महाधिवेशन गर्ने तयारी गरेको छ ।

महाधिवेशनको कार्यतालिमा यसपटक हेरफेर नहुने र निर्धारित समयमै सम्पन्न हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले बताएका छन् । र, संवैधानिक तथा आन्तरिक विधानको बाध्यात्मक समयलाई बुझ्ने हो भने पनि कांग्रेसले अब महाधिवेशन सार्नु मिल्दैन ।

महाधिवेशन नजिकिएसँगै सभापतिका आकांक्षीहरू आन्तरिक तयारीमा जुटेका छन् । ११ नेता सभापति पदमा आकांक्षी देखिएका छन् । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, तेस्रो समूहको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला पनि सभापतिका उम्मेदवार हुन् ।

तीन समूहमध्ये सबैभन्दा बढी पौडेल समूहमा सभापतिको आकांक्षी देखिएका छन् । देउवा समूहबाट तीन जना सभापतिमा आकांक्षी छन् भने पौडेल समूहमा सात जना छन् ।

देउवा समूहबाट देउवा समूहकै उपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ सभापतिका आकांक्षी हुन् । पौडेल समूहमा महामन्त्री डा. शशांक कोइराला, शेखर कोइराला, सुजता कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत र कल्याण गुरुङ सभापतिका आकांक्षी हुन् । यता सिटौला समूहमा भने सिटौला मात्रै सभापतिका आकांक्षी हुन् ।

महाधिवेशनको सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका निधिले महामन्त्री शशांक र नेता सिंहसँग पटकपटक छलफल गर्दै आएका छन् । देउवाको पनि अझै एकपटक सभापति बन्ने चाहना छ । त्यसैले देउवाले निधिलाई आगामी महाधिवेशनमा आफूलाई सघाउन बारम्बार अग्रह गर्दै आएको भए पनि अस्वीकार गर्दै निधि महाधिवेशनमा होमिसकेका छन् ।

निधि भने देउवाकै सहयोगमा सभापति बन्न चाहन्छन् । निधिले देउवालाई १२औं र १३औं महाधिवेशनमा सहयोग गरेको स्मरण गराउँदै १४औं महाधिवेशनमा आफूलाई सघाउनु पर्ने बताउँदै आएका छन् ।

आमागी महाधिवेशनमा देउवाले नसघाए पनि सभापतिमा उम्मेदवारी दिने निधिले घोषणा गरिसकेका छन् । उनले बानेश्वरमा सम्पर्क कार्यालय नै स्थापना गरेर प्रचारप्रसार गरिरहेका छन् ।

देउवा समूहकै अर्का नेता गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले निधिभन्दा पहिले नै आउँदो महाधिवेशनमा सभापतिको उम्मेरदवार आफू हुनुपर्ने सामूहिक प्रस्ताव राखेका थिए ।

श्रेष्ठ पनि देउवाकै सहयोगमा पार्टी सभापति बन्न चाहन्छन् । उनले देउवालाई अब आफूलाई सभापतिमा सहयोग गरेर अभिभावकका रुपमा बस्न आग्रह गरिरहेका छन् । कांग्रेस प्रजातान्त्रिक गठन हुँदा कार्यवाहक सभापतिका रुपमा देउवालाई साथ दिएका उनले पार्टीका सबै मोर्चामा देउवालाई साथ दिँदै आएका छन् । त्यसैले आगामी महाधिवेशमा देउवाले आफूलाई सहयोग गर्नुपर्ने श्रेष्ठ बताउँदै आएका छन् ।

यता, देउवा इतर समूहबाट देउवासँग भिड्न वरिष्ठ नेता पौडेल स्वयं अघि सरेका छन् । जसरी भएपनि एकपटक सभापति हुने पौडेलको चाहना छ । त्यसैले एक वर्षका लागि मात्रै भएपनि सभापति बन्ने पौडेलले अनौठो प्रस्ताव राखिसकेका छन् ।

पौडेल जसरी भएपनि आफू सभापति बन्न लागिपरे पनि उनको समूहमा सहमति जुट्न सकेको छैन । सहमति नजुट्ने पनि पक्का भइसकेको छ । संस्थापन पक्षमा भन्दा संस्थापन इतर पक्षमा धेरै सभापतिका आकांक्षी भएकाले पनि सहमति जुट्ने सम्भावना देखिँदैन ।

यता संस्थापन इतर समूहकै शंशाकले पनि सभापतिमा उम्मेदवारी घोषण गरिसकेका छन् । उनीले अबको नेतृत्व युवा नेताको हुनुपर्ने धारण अगाडि सारेका छन् । उनले आफूलाई सभापतिका लागि बलियो उम्मेदवार भएको बताउँदै आएका छन् । अहिले उनी सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा गर्ने तयारीमा छन् ।

अर्का नेता शेखर पनि सभापतिको उम्मेदवारी दिने तयारीमा छन् । उनले पनि सभापतिमा उम्मेदारी दिने घोषणा गरिसकेका छन् । आगामी महाधिवेशनमा आफूलाई सघाउन वरिष्ठ नेता पौडेललाई आग्रह पनि गर्दै आएका छन् । शेखरले २०७२ सालमै सभापति उठ्ने बताएका थिए तर उनी अन्तिम समयमा पछि हटेका थिए ।

प्रकाशमान पनि सभापतिको उम्मेदवारी नछाड्ने पक्षमा छन् । आफूले १३औं महाधिवेशनमै वरिष्ठ नेता पौडेल र महामन्त्री शशांकलाई सघाएकाले यसपटक आफूलाई सघाउनुपर्ने उनको तर्क छ ।

‘सधैँ गणेशमानकै परिवारले मात्रै त्याग गर्नुपर्ने भन्ने हुँदैन । यसपटक म सभापति हुने परिस्थिति बन्यो भने मात्रै साझा उम्मेदवार चयन गर्न सकिन्छ,’ उनको भनाइ छ ।

पौडेल समूहकै अर्का नेता कल्याण गुरुङले पनि पार्टी सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । केन्द्रीय सदस्य ५१ वर्षीय गुरुङ आसन्न महाधिवेशनमा सभापतिका आकांक्षीमध्ये सबैभन्दा कान्छा हन् । उनी अहिले आफ्नो टिम बनाउन लागिपरेका छन् ।

यता संस्थापन इतर समूहकै सुजता, रामशरण र अर्जुननरसिंहले पनि सभापतिमा दाबी गर्दै आएका छन् । संस्थापन इतरका नेताहरुबीच सहमति नभए सभापतिमा उम्मेदवारी दिने उनीहरुको तयारी छ ।

सिटौला पक्षमा भने सिटौला मात्रै सभापतिका उम्मेरदवार भएको बुझिएको छ । सभापतिमा साझा उम्मेदवारबारे सहमति हुँदा सभापतिकै आकांक्षीहरू तल्लो तहका पदमा उम्मेदवार हुने देखिन्छ ।

के भन्छन् राजनीतिक विश्लेषक ?

अग्रजहरुले विदा लिँदै युवालाई नेतृत्वका लागि मार्गप्रशस्त गरिदिनुपर्ने भनेर सशक्त रुपमा आवज उठिहरेकाले सभापतिकका आकांक्षी धेरै भएको राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम बताउँछन् । उनी भन्छन्, ‘पार्टीको नेतृत्व युवाले गर्न पाउनु पर्छ, अग्रजहरुले विदा लिनुपर्छ, हाम्रो लागि मार्गप्रशस्त गरिदिनुपर्छ, बाटो छोडिदिनुपर्छ भन्ने आवज शसक्त रुपमा उठेकाले युवासमेत सभापतिका आकांक्षी देखिएका छन्, स्वाभाविक रुपमा धेरै हुने नै भए ।’

को बलियो छ ? र, कसले जित्छ ? भनेर अहिले नै भन्न नसकिने विश्लेषक गौतम बताउँछन् । महाधिवेशन प्रतिनिधि चुनिएपछि मात्रै कसले जित्छ भनेर अनुमान गर्न सकिने उनको भनाइ छ । ‘महाधिवेशनका प्रतिनिधि चुनिएपछि मात्रै कसले जित्छ भनेर भन्न सकिन्छ, १३, १४ जिल्लाबाट आएका प्रतिनिधिले मात्रै निर्धारण गर्दैन, । सबै जिल्लाबाट नआएसम्म यसले जित्छ भन्न सकिँदैन,’ उनी भन्छन् ।

अहिले सबैले दाबी गरेपनि महाधिवेशन प्रतिनिधि आएपछि उनीहरुले आफ्नो अवस्था देख्ने गौतम बताउँछन् । ‘जब महाधिवेशन प्रतिनिधि चुनिएर आउँछन्, त्यसपछि सबैले आफ्नो अवस्था देख्नुहुन्छ । मलाई चुन्ने प्रतिनिधिहरु यति आए भन्ने थाहा पाएपछि मात्रै नेगोशिएशन सुरु हुन्छ । अहिले नेगोशिएशनको आपेक्षा गर्नु हुँदैन, हतार हुन्छ,’ उनी भन्छन्, ‘अहिले सबैलाई आफू शक्तिाशाली र आफ्नो पकड छ भन्ने लागेको छ । कति पकड छ भन्ने कुरा भोलि प्रतिनिधि सार्वजनिक भएपछि थाहा हुन्छ । त्यसपछि आफ्नो कम्जोरी लुकाउँछन्, अनि समझदारी गर्न खोज्छन् ।’

प्रतिक्रिया दिनुहोस्