Logo
Logo

आईपिएलमा निर्धक्क सट्टेबाजी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । यो वर्षको इन्डियन प्रिमियर लिग(आइपिएल) आइतबार सकिएको छ । भारतमा हुने आईपिएलको रौनक विगतमा जस्तै नेपालमा समेत थियो ।

आईपिएलको फाइनल खेलमा आइतबार राजधानीका होटल–होटलमा उत्सव जस्तो देखिएको थियो । खेलमा करोडौंको सट्टेबाजी समेत भएको थियो । तर, प्रहरीले त्यसमा यसपटक आँखा चिम्लिएको छ ।

गत वर्ष प्रहरीले गौरव तिवारी तथा भुपेन कुँवर लगायतको समूहलाई प्रमाणसहित पक्राउ गरेको थियो । त्यो समूहले यो वर्ष पनि आईपिएलमा सट्टेबाजी चलाएको स्रोत बताउँछ । प्रहरी अधिकारीले थाहा पाएर पनि यो वर्ष कुनै कारबाही नगर्नुलाई आश्चर्यका साथ हेरिएको छ । सो समूहले भने प्रहरीको उच्च तहसम्म सेटिङ मिलाएर सट्टेबाजीको काम गरिएको दाबी गरिएको छ ।

तराईका जिल्लाहरुमा समेत लाखौंको सट्टेबाजी भएको थियो । आइतबार बारामा समेत तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै गत महिना रुपन्देही प्रहरीले एक समूहलाई पक्राउ गरी मुद्दा चलाएको थियो । तर, काठमाडौंमा भने एक जना पनि पक्राउ परेनन् ।

गौरव र भूपेनको महानगरीय अपराध महाशाखा र काठमाडौ परिसरका अधिकारीसँग दोस्ती रहेको स्रोत बताउँछ । सोही कारण यसपटक उनीहरुले करोडौं कमाउन सफल भएका छन् । आईपिएल मात्र होइन उनीहरुले वर्षैभरी बाजी खेलाउने गर्दछन् । गोप्य एपहरुमार्फत् उनीहरुले बाजी खेलाउने गरेको स्रोत बताउँछ ।

सट्टेबाजका नाइकेका रुपमा गत वर्ष अपराध महाशाखाले धनुषाका नागराज भनिने अमित अग्रवाललाई पक्राउ गरेको थियो । अदालतबाट सफाइ पाएपछि उनी भारत भागेका छन् । प्रहरीले फेरि पक्राउ गर्न सक्ने डरले उनी भारत भागेका छन् । प्रहरीसँग सेटिङ मिलाएपछि सो समूहले आगामी २० मे बाट सुरु हुन लागेको विश्वकप क्रिकेटमा पनि बाजी खेलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्