Logo
Logo

सर्वोच्चमा प्रहरीका तीन गणको ‘रिजर्भ फोर्स’



सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीको धर्ना रोक्न शुक्रबार परिचालित प्रहरीको टास्क फोर्स । तस्बिर : दीपक केसी/कान्तिपुर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै एक महिनादेखि आन्दोलनरत कानुन व्यवसायीलाई रोक्न सर्वोच्च अदालत परिसरमा प्रहरीको ‘रिजर्भ फोर्स’ समेत तैनाथ गरिएको छ । नक्सालस्थित १ नम्बर गण, महाराजगन्जस्थित २ नम्बर गण, कपनस्थित विशेष कार्यदल (स्पेसल टास्क फोर्स) बाट रिजर्भ फौजलाई दैनिक रूपमा खटाउन थालिएको हो ।

अदालतभित्रको शान्ति सुरक्षा एवं आवागमन व्यवस्थित गर्न परम्परागत रूपमा अदालत–प्रहरी तैनाथ छ । त्यसले नपुगेमा नजिकैको प्रहरी युनिटबाट समेत थप मद्दत माग्न सकिन्छ । तर प्रहरी प्रधान कार्यालयले कानुन व्यवसायीको आन्दोलन लक्षित गरेर सर्वोच्च अदालत परिसर र रामशाह पथ क्षेत्रमा तीनवटा गणबाट प्रहरी परिचालन गरेको छ ।

त्यसबाहेक महानगरीय प्रहरी परिसर टेकुसहित विभिन्न वृत्तबाट समेत प्रहरीको उपस्थिति बढाइएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै कात्तिक ८ बाट न्यायाधीशले बेन्च बहिष्कार गरेका थिए ।

एक सातापछि कात्तिक १४ बाट नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायी आन्दोलनरत छन् । कानुन व्यवसायीले प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रशासनले कात्तिक २६ मा प्रहरीबाहेक सिनामंगलस्थित सशस्त्र प्रहरी विपद् व्यवस्थापन गणबाट समेत सुरक्षाकर्मी खटाएको थियो ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्