
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी दलका नेताहरु मधेसी जनताका लागि ‘खलनायक’ साबित भएको टिप्पणी गरेका छन् ।
रौतहतको कटहरीयामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेसी दलका नेताले मधेसी जनतालाई अधिकार सम्पन्न गर्ने सवालमा खलनायकको भूमिको खलेको टिप्पणी गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘तपाईंहरुले देख्नु भयो होला नि । मधेसी जनतालाई अधिकार सम्पन्न बनाउने भन्दै हिँडेका महन्थ–राजेन्द्रहरु प्रतिगमनकारी केपी ओलीको टाङमुली छिरे । मधेसी जनताका लागि उनीहरुले खलनायकको भूमिका खेले । तपाईंहरुले बुझ्नुपर्छ ।’
माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेका नेता प्रभु साहको निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केही भगौडाले माओवादी सिध्याउने सपना देखेपनि जनताले माओवादीलाई नै माया गर्ने दाबीसमेत गरे ।

प्रभु साहप्रति इङ्गीत गर्दै प्रचण्डले भने– ‘केही भगौडाले माओवादी पार्टी सिध्याउने सपना देखे । तर, यहाँका जनता माओवादीको पक्षमा झनै उद्देलित भएका छन् । यहाँका जताले आगामी निर्वाचनमा भगौडाहरुलाई राम्रै जवाफ दिनेमा विश्वस्त छु ।’

अध्यक्ष प्रचण्डले अबको निर्वाचनमा मधेसमा माओवादी नै ठूलो पार्टी हुने पनि दाबी गरेको छन् । मधेसी जनतालाई अधिकारसम्पन्न बनाउने सवालमा मधेसी नेताले खलनायकको भूमिका खलेको कुरा मधेसी जनताले बुझिसकेको भन्दै अध्यक्ष प्रचण्डले मधेसी जनताको पक्षमा काम गर्ने पार्टी माओवादी नै भएकाले अबको निर्वाचनमा माओवादी नै ठूला पार्टी बन्ने दाबी गरेका हुन् ।












