Logo
Logo

ट्रेडमार्क चोरको अदालतमा सेटिङ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सरकार विदेशी लगानी आकर्षित गर्नका लागि लगानी सम्मेलन गर्नेदेखि विभिन्न विदेशी फोरममा प्रतिबद्धता प्रकट गरिरहेको छ । सरकारका मन्त्रीहरु विदेशी लगानीको लागि नेपाल उपयुक्त गन्तब्य हो भनिरहेका छन् । तर नेपालमा ट्रेडमार्क संरक्षण नभएको गुनासो विदेशी लगानीकर्ताहरुको छ । बजारमा प्रतिष्ठा कमाइसकेका ब्रान्डका ट्रेडमार्क मात्र होइन, विदेशी ब्रान्डका ट्रेडमार्क नक्कल गर्ने गिरोहको पहुँच नेपालको उद्योग विभागदेखि न्यायालयसम्म छ ।

ट्रेडमार्क चोरी गर्ने गिरोहका मुख्य नाइके कैलाश गोयलले प्रतिष्ठा कमाइसकेका विदेशीदेखि स्वदेशी ब्रान्डको ट्रेडमार्क चोरी गरी दर्ता गर्ने गरेका छन् । र, पछि विदेशी कम्पनी नेपालमा लगानी गर्न आएपछि मुद्दा हालेर दुःख दिने गरेका छन् । अदालतसम्म सेटिङ गरी सक्कली उद्योगीका विपक्षमा फैसला गराउँदैआएका छन् । जसको ज्वलन्त उदाहरण हो, नेपाली बजारमा सुपरिचित जापानी ब्राण्ड कन्साई नेरोल्याक पेन्ट्स । नेरोल्याकको नेपाली कम्पनी ‘केएनपी’ जापान विरुद्ध गोयलले मुद्दा हालेका छन् ।

झन्डै एक सय वर्ष पुरानो र ६० देशमा साझेदारीमा सञ्चालन रहेको बहुराष्ट्रिय कम्पनी कन्साईले नेपालमा ८ बर्षअघि उत्पादन सुरु गरेको हो । गोयलले चोरी गरेको तर कन्साईको विश्वभर परिचित आफ्नै आधिकारिक ट्रेडमार्कविरुद्ध अहिले २० वटा उत्पादनमा मुद्दा हालिएको छ ।

४० करोड रुपैयाँ विदेशी लगानी लिएर नेपाल भित्रिएको कन्साई पेन्ट्सको ट्रेडमार्क गोयलले चोरी गरिदिएपछि जापानी ब्राण्ड अहिले पनि मुद्दामै छ । ८ बर्षसम्म पनि मुद्दामै अल्झिनुपरेपछि विदेशी लगानीकर्तामा कस्तो प्रभाव पर्ला ? यो मर्म उद्योग विभागदेखि अदालतले समेत बुझ्न सकेका छैनन् । ट्रेडमार्क चोरी गर्ने गिरोहका कैलाश गोयलको पहुँच यति छ कि उनी हरेक न्यायाधीशको घरमा तरकारी, फलफूल बोकेर पुग्ने गरेका छन् । कतिपय न्यायाधीशको घरमा रङ लगाइदिने काम समेत गरिदिन्छन् । उनको काम नै चर्चित विदेशी वा स्वदेशी ब्रान्डको ट्रेडमार्क चोरी गरी दर्ता गर्ने र पछि उक्त कम्पनीले उद्योग संचालन गरिसकेपछि मुद्दा हाल्ने हुँदैआएको छ । गोयलको उद्योग विभागदेखि सर्वोच्च अदालतका न्यायाधीशसम्म सेटिङ छ ।

गोयलको सेटिङका कारण सक्कली ट्रेडमार्कको हकदार कन्साईले उद्योग विभागमा मुद्दा हा¥यो । कन्साईले उच्च अदालतबाट पनि मुद्दा हारेको थियो । सबै ठाउँबाट मुद्दा हार्दै सर्वोच्चमा पुगेको कन्साइको पुरानो मुद्दाको फैसला हुन नपाउँदै, गोयलको रुक्मिणी केमिकल्सले कन्साई विरुद्ध फेरि २० वटा उत्पादनमा ट्रेडमार्क दावी विरोधको मुद्दा हालेर हैरानी दिएको छ । यसरी गोयलले विदेशी लगानीकर्तालाई हतोत्साही बनाउन उद्योग विभागदेखि न्यायालयसम्म नै सेटिङ गरेका छन् । उनको काम नै उद्योग विभागका भ्रष्ट कर्मचारीसँग सेटिङ गरी विदेशी कम्पनीको ट्रेडमार्क चोरी गरी दर्ता गर्ने हो । विशेष गरी गोयलहरूले बहुराष्ट्रिय कम्पनीको नाममा नेपालमा ट्रेडमार्क दर्ता गरेका छन् । तर उनीहरूको न उद्योग छ, न त उत्पादन छ न त अस्तित्व नै ।

ट्रेडमार्ककै संरक्षण नभएपछि अन्तर्राष्ट्रिय लगानीकर्तामा नेपालबारे नकारात्मक धारणा फैलिन पुगेको छ । ट्रेडमार्क चोरीमा अदालतले पनि चोरलाई नै साथ दिने गरेका उदाहरणहरु छन् । ट्रेडमार्क चोरलाई अदालतले साथ दिनु राष्ट्रिय हितविरुद्ध छ । कन्साई नेरोलेकको ट्रेडमार्कका बारेमा ७ बर्षदेखि मुद्दा छ । जुन मुद्दा अहिले सर्वोच्चमा छ । जसको पेशी २०७६ बैशाख ३१ गते छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा रसिया भ्रमणमा गएका छन् । निमित्त प्रधानन्यायाधीश दीपक कार्कीले ट्रेडमार्कका असली हकदारलाई न्याय दिने अपेक्षा गरिएको छ । न्यायालय सुधारको दिशामा गएको अनुभूति भइरहेको बेलामा राष्ट्रिय हितका पक्षमा दिने आदेशले नेपालमा विदेशी लगानी गर्नेहरु आकर्षित हुनेछन् । ट्रेडमार्क चोरहरु निरुत्साहित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्