Logo
Logo
एमालेको १०औं महाधिवेशन

नेतृत्वका लागि तँछाडमछाड, १५ पदमा ४४ आकांक्षी



काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशनको नजिकिँदै गर्दा विभिन्न पदका आकांक्षी बढ्दै गएका छन् । एक सातामा एमालेले आगामी पाँच बर्षका लागि नयाँ नेतृत्व चयन गरिसक्छ ।

एमालेको १०औं महाधिवेशन मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ जना सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

एमालेको महाधिवेशन मिति नजिकिँदै गर्दा पदाधिकारी र केन्द्रीय सदस्य को हुने भन्ने चर्चाले व्यापकता पाएको छ । शीर्ष नेताले सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी गरिरहेको बेला विभिन्न पदका आकांक्षीहरुले दाबी पेश गर्ने क्रम पनि बढेको छ ।

अध्यक्षमा ओलीकै निरन्तरता
एमालेको १०औं महाधिवेशनबाट अध्यक्षमा पुनः केपी शर्मा ओली नै दोहोरिने निश्चित छ । नवौं महाधिवेशनमा ओलीले नेतृत्वमा नदोहोरिने उद्घोष गरेका थिए । तर, ओली समूहका नेताहरुले एमालेमा ओलीको विकल्प नै नभएको भन्दै ओलीलाई नै पुनः अध्यक्ष बनाउने वातावरण बनाइसकेका छन् ।

माधवकुमार नेपाल र झलनाथ खनाल पार्टीबाट बाहिरिएपछि ओली एमालेका एक्लो हर्ताकर्ता भएका छन् । अर्का प्रभावशाली नेता वामदेव गौतमले पनि उपाध्यक्ष पदबाट राजीनामा दिएपछि ओलीलाई हाइसन्चो छ । ओलीलाई टक्कर दिने प्रभावशाली नेता एमालेमा कोही छैनन् ।

तर, उपाध्यक्ष भीम रावलले ओलीसँग प्रतिस्पर्धा गर्ने उद्घोष गरिसकेका छन् । अध्यक्षमा प्रतिपस्र्धा गर्ने उद्घोष गरे पनि रावलको तयारी भने देखिएको छैन । वरिष्ठ उपाध्यक्षमा बार्गेनिङ गर्न रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेको चर्चा हुने गरेको छ ।

उपमहासचिव घनश्याम भुसाल पनि अध्यक्षमा प्रतिस्पर्धा गर्न आन्तरिक गृहकार्यमा छन् । भुसाल निकट एक नेता भुसालले अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताउँछन् । यद्यपि, औपचारिक रुपमा भुसालले अझै अध्यक्षमा प्रतिपस्पर्धा गर्ने घोषणा गरेका छैनन् । कतिपयले महासचिव पाउनका लागि भुसालले अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गर्ने हल्ला चलाएको भन्ने गरेका छन् ।

ओलीविद्ध रावल र भुषालले उम्मेदवारी दिने तयारी गरे पनि एमालेमा बाँकी पाँच वर्षका ओली निर्विकल्प अध्यक्षका रुपमा देखिएका छन् । पूर्वमाओवादी नेताहरु पनि ओलीलाई नै अध्यक्ष बनाएर जानुपर्ने पक्षमा छन् । ओलीलाई सर्वसम्मत अध्यक्ष बनाए आफूहरु पनि सुरक्षित हुने उनीहरुको निष्कर्ष हो ।

वरिष्ठ उपाध्यक्षमा को ?
एमालेमा अध्यक्ष पछिको महत्वपूर्ण पद वरिष्ठ उपाध्यक्ष हो । वरिष्ठ उपाध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन् । उपाध्यक्ष रावलसहित महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले वरिष्ठ उपाध्यक्षमा दावी गरेका छन् ।

एमाले स्रोतका अनुसार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलको भित्रि चाहना सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष पाउँन हो । वरिष्ठ उपाध्यक्ष पद पाएको अवस्थामा ओलीसँग उनी प्रतिस्पर्धा गर्नेछैनन् । ओलीबाट उनले वरिष्ठ उपाध्यक्षको ग्यारेन्टी खोजेका छन् । तर, ओलीले ग्रिन सिग्नल अझै दिएका छैनन् ।

महासचिव पोखरेलले १०औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा यस अघि नै गरिसकेका हुन् । सर्तसहित अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका पोखरेलको भित्रि चाहना भने वरिष्ठ उपाध्यक्ष हो । ओली अध्यक्ष नहुने अवस्थामा आफू अध्यक्षका लागि तयार रहेको उनको भनाइ थियो । खासमा उनी ओली पछिको पोर्टफोलियो खोजिरहेका छन् ।

दुई पटक लगातार महासचिव भइसकेका पोखरेल एमाले विधानअनुसार पुनः महासचिव हुन पाउँदैनन् । त्यसैले पोखरेलले ओलीले अध्यक्षमा चाहना नराखेको अवस्थामा आफू सो पदका लागि प्रतिस्पर्धा गर्न तयार रहेको सन्देश दिएका हुन् । ओलीकै चाहनाअनुसार पोखरेल वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्ष हुने निश्चित छ । तर उनको चाहना ओलीपछिको पोर्टफोलियो अर्थात वरिष्ठ उपाध्यक्ष नै हो ।

वरिष्ठ उपाध्यक्षका अर्का प्रतिस्पर्धी हुन रामबहादुर थापा ‘बादल’ । पूर्वमाओवादी केन्द्रबाट एमाले भएका बादलले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक तोकिएका बादलले अहिलेसम्म अध्यक्ष ओलीबाट साथ र सहयोग पाउँदै आएका छन् ।

उपाध्यक्षमा पराजित हुनेको पनि दाबेदारी
एमालेको विधानअनुसार अगामी महाधिवेशनबाट चार जना उपाध्यक्ष चयन हुनेछन् । नवौं महाधिवेशनबाट पाँच जना उपाध्यक्ष निर्वाचित भएका थिए । उपाध्यक्ष वामदेव गौतमले राजीनामा दिइसकेका छन् । अर्का उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति छन् ।

अहिले भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली उपाध्यक्ष छन् । यी तीनै नेता एमाले एक हुँदा नेपाल–खनाल समूहका हुन् । शाक्य र ज्ञवाली पुनः उपाध्यक्षमै दोहोरिन चाहन्छन् । ओली समूहका नेताहरु सुवासचन्द्र नेम्वाङ, लालबाबु पण्डित, किरण गुरुङ, टोपबहादुर रायमाझी, रघुजी पन्त लगायत नेताले उपाध्यक्षमा दाबी गरेका छन् ।

नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित पण्डित र गुरुङ १०औं महाधिवेशनमार्फत सर्वसम्मत उपाध्यक्ष निर्वाचित हुन चाहन्छन् । उपाध्यक्षबाट ज्ञवाली आउट हुने सम्भावना बढी छ । आफूपक्षीय नेताहरुलाई व्यवस्थापन गर्नुपर्ने सकसमा रहेका ओलीले उपाध्यक्षमा आफूले रुचाएका र विगतदेखि साथ दिँदै आएका नेतालाई स्थान दिने सम्भावना छ ।

यस्तै, वरिष्ठ उपाध्यक्ष र महासचिवको दावी गर्ने नेताहरु सो पदमा अटाउन नसकेको अवस्थामा उनीहरुलाई उपाध्यक्षको जिम्मेवारी दिनुपर्ने हुन्छ । यस्तो अवस्था उपाध्यक्षमा नयाँ अनुहार आउने सम्भावना रहन्छ ।

महासचिवका आकांक्षी को–को ?
एमालेमा अध्यक्ष पछिको दोस्रो कार्यकारिणी र महत्वपुर्ण पद महासचिव हो । बहुपदीय प्रणालीमा जानुभन्दा अघि एमालेभित्र महासचिव नै पहिलो पदीय बरियताको पद थियो । त्यसकारण पनि महासचिव महत्वपुर्ण जिम्मेवारी हो । महासचिव अर्को महाधिवेशनमा स्वतः अध्यक्षका दाबेदार पनि हुन् ।

अहिलेका महासचिव ईश्वर पोखरेल पुनः सोही पदमा विधानअनुसार दोहोरिन पाउँदैनन् । महासचिवका लागि पोखरेलसँग नवौं महाधिवेशनमा ६ मतले पराजित सुरेन्द्र पाण्डे, तत्कालीन नेकपामा महासचिवको जिम्मेवारी निर्वाह गरेका विष्णु पौडेल, सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य शंकर पोखरेलले दावी गरेका छन् ।

पाण्डे, पौडेल, गुरुङ र पोखरेल मध्ये एक महासचिव हुने निश्चित छ । यस मध्ये पौडेल र पोखरेलको सम्भावना बढी छ । पौडेल तत्कालिन नेकपाको मसहाचिवको भुमिका निर्वाह गर्न सफल भएको र ओलीको विश्वास पात्र हुन् । पोखरेल जनताको बहुदलीय जनबाद (जबज)का व्याख्याता र राष्ट्रपति भण्डारीका साथै अध्यक्ष ओलीका पनि विश्वास पात्र हुन् ।

पाण्डेले विगतमा ओलीलाई सहयोग नगरेको र उनी पूर्व तत्कालीन नेपाल–खनाल समूहका नेता भएकाले उनको सम्भावना कम छ । गुरुङ ओलीको विश्वास पात्र भए पनि पौडेल र पोखरेल अगाडि कमजोर रहेकाले उनको सम्भावना कम छ ।

उपमहाचिवमा को ?
एमालेमा अहिले पाँच जना सचिव छन् । प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य र पृथ्वीसुब्बा गुरुङ सचिव हुन् । यी पाँचै नेता उपमहासचिव पदको स्वतः दाबेदार हुन् । एक पद माथि उक्लिनुपर्दा पाँच सचिव मध्ये एकले उपमहासचिव पाउन सक्छन् ।

अहिले उपमहासचिव रहेका विष्णु पौडेल र घनश्याम भुसाल सोही पदमा दोहोरिने सम्भावना छैन । किनभने पौडेलले तत्कालीन नेकपाको महासचिवको जिम्मेवारी बहन गरिसकेका छन् । उनी यसपटक महासचिवको दौडमा छन् । भुसाल अध्यक्षमा ओलीसँग प्रतिपस्र्धा गर्ने आन्तरिक तयारीमा समेत लागेका छन् ।

महासचिव पदमा दाबेदारी पेश गरेका गुरुङको उपमहासचिव हुने सम्भावना बलियो छ । तर उपमहासचिवमा प्रदीप ज्ञवालीको समेत दाबेदारी रहेकाले यहाँ पनि गुरुङले तीब्र लबिङ गर्नुपर्ने देखिन्छ ।

सचिवमा नयाँ पुरानौ सबैको चाहना
एमालेको प्रथम विधान सम्मेलनबाट पारित विधानअनुसार ७ सचिव निर्वाचित हुनुपर्ने हुन्छ । नवौं महाधिवेशनबाट पाँच जना सचिव निर्वाचित भएका थिए । विधान संशोधन गरी सचिवको संख्या दुई थपेर सात बनाइएको छ । केही नयाँ र केही पुरानै अनुसार सचिवमा आउँनेछन् ।

नवौं महाधिवेशनबाट सचिव निर्वाचित ज्ञवालीले उपमहासचिव र गुरुङले महासचिवको दाबी गरेका छन् । दाबी अनुसारको पद नपाएको अवस्थामा यि नेताहरु सचिवमै दोहिरिनुपर्ने हुन्छ ।

भानुभक्त ढकाल, खगराज अधिकारी, विष्णु रिमाल, प्रभु साह, यमलाल कँडेल, डोरमणि पौडेल, लेखराज भट्ट, कर्ण थापा, मणि थापा, गोकुल बाँस्काटो, रघुवीर महासेठ, शेरधन राई, शेरबहादुर तामाङ, हिक्मत कार्की, अरुण नेपाल, आनन्द पोखरेल, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, गुरु बराल, खिमलाल देवकोटा, राधा ज्ञवाली, पद्मा अर्याल, विन्दा पाण्डे, राजेन्द्र गौतम लगायत सचिवका लागि लबिङमा छन् ।

यसबाहेक पनि सचिवमा अकांक्षा राख्नेहरु छन् । महाधिवेशन नजिकिँएसँगै सचिवमा उम्मेदवारी घोषणा गर्नेहरु पनि बढिरहेका छन् ।

केन्द्रीय कमिटीमा ५० प्रतिशत नयाँ अनुहार
नेकपा एमालेको विधानले १५ पदाधिकारी सहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको छ । नवौं महाधिवेशनबाट निर्वाचित १ सय ६७ संख्यामा ८९ जना सदस्य थपिएका थिए ।

माधव नेपालले भदौ ९ गते एकीकृत समाजवादी गठन गरेपछि ५८ जना केन्द्रीय सदस्य नेपाल नेतृत्वको पार्टीमै गएका छन् । यस्तै विद्यादेवी भण्डारी राष्ट्रपति, गणेश तिमिल्सिना राष्ट्रिय सभाका अध्यक्ष, सानुकुमार श्रेष्ठ बागमती प्रदेश सभामुख भएकाले एमालेमा उनीहरूको पद रिक्त छ ।

यसअघिका उपाध्यक्ष वामदेव गौतमले राजीनामा दिएको र नवौं महाधिवेशनबाट यता आइसक्दा रवीन्द्र अधिकारी (कास्की)सहित ५ नेताको मृत्यु भएकाले उनीहरूको पनि पद खाली छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अहिले एमालेमा १ सय ९६ जना केन्द्रीय कमिटी सदस्य छन् । अहिलेकै अवस्थामा महाधिवेशनबाट २९ नयाँ अनुहार केन्द्रीय कमिटीमा आउने सम्भावना छ ।

तामाङले केन्द्रीय कमिटीमा ५० प्रतिशतसम्म नयाँ अनुहार आउने बताउँदै भने, ‘१९६ मा सबै साथीहरू दोहोरिनुहुन्छ भन्ने छैन । पराजित हुन सक्नुहुन्छ । त्यसैले अहिलेको अनुमानअनुसार ५० प्रतिशतसम्म नयाँ अनुहार आउँछन् होला ।’

सचिव पृथ्वीसुब्बा गुरुङ ओली अध्यक्षमा दोहोरिने निश्चित भएको बताउँछन् । ‘ओली नै अबको अध्यक्ष हुने १०० प्रतिशत छ । अहिले नै सर्वसम्मत चाहिँ भनी नहालौं । किनकी, कुनै व्यक्तिलाई चित्त बुझेन भने उठ्न त पाउँछ नि’ गुरुङले भने ।

३३ प्रतिशत महिला सदस्य सुनिश्चित गर्ने बताएको एमालेले २२५ मध्ये ७० भन्दा बढी केन्द्रीय सदस्यमा महिलालाई स्थान दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्