Logo
Logo

ठेकेदारमाथि कारबाही खोई ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ठेक्का लिने तर तोकिएको समयमा काम नगर्ने निर्माण ब्यवसायीहरुलाई सार्वजनिक खरिद ऐन अनुुुसार कालोसूचीमा राख्नुपर्ने हो । तर नेपालमा राजनीतिक संरक्षणका कारण ठेक्का लिने तर तोकिएको समयमा काम नगर्ने निर्माण ब्यवसायीहरुको आम प्रवृत्ति नै बनिसकेको छ । २ बर्षमा सक्नुपर्ने काम ७ बर्षमा पूरा नगर्ने निर्माण ब्यवसायी पनि छन् । ठेक्का लिएर काम नगर्ने निर्माण ब्यवसायीलाई कालोसूचीमा राखी कारबाही नगर्दासम्म विकास निर्माणका कामले गति नलिने तथ्य घाम जत्तिकै छर्लङ्ग छ ।


सरकारले समयमा काम नगर्ने ठेकेदारलाई पार्टीनिकटता नहेरी कारबाही गर्ने हो भने सकारात्मक परिणाम आउनेछ । ठेकेदारहरु नै राजनीतिक पार्टीमा नेता र मन्त्री भएकाले पनि विकृति बढेको छ । पप्पु कन्ष्ट्रक्सनका हरिनारायण रौनियार सांसद हुन् । कालिका कन्ष्ट्रक्सनका विक्रम पाण्डे पूर्वमन्त्री र राप्रपाका उपाध्यक्ष हुन् । ठेकेदारहरु बहादुरसिंह लामा, जीपछिरिङ लामा, इन्द्रबहादुर बानियाँहरु पनि सांसद हुन् । राजनीतिक पार्टीमा ठेकेदारहरु हावी भएका यी केही दृष्टान्त हुन् । विक्रम पाण्डेको कालिका कन्ष्ट्रक्सनबाट पेटी ठेक्का लिंदै पछिल्लो समयमा एकाध ठूला ठेक्का लिने हैसियत बनाएका रमण कन्ष्ट्रक्सनका पवन महतो पनि राजनीतिक संरक्षणप्राप्त ठेकेदार हुन् । उनले पनि राजनीतिक संरक्षणमा ठेक्का लिने र समयमा काम गर्दैनन् । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग नै कनेक्सन रहेको छ भन्दै ठेक्का लिने र समयमा काम नगर्ने पप्पुपथमा अग्रसर भएका छन् ।

उनले बिराटनगर ६ लेन सडक विस्तार आयोजनाको ४ वटा ठेक्का लिएको ३ बर्षभन्दा बढी भइसकेको छ । ती ४ वटै ठेक्कामा उनले काम गरेका छैनन् । पूरा हुनुपर्ने काम समेत आधा समेत भएको छैन । उनैले लिएको जनकपुर–कमला खण्डको हुलाकी सडकको ठेक्का बर्षौ भइसक्दा पनि काम गरेका छैनन् ।

महतो उदाहरण हुन्, ठेक्का लिएर समयमा काम नगर्नेहरु थुप्रै छन् । जबसम्म यस्ता ठेकेदारलाई कालोसूचीमा राखिंदैन, तबसम्म विकास निर्माणका काममा तदारुकता आउन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्