Logo
Logo

राष्ट्रपतिको आउने भएपछि उत्सवमय मटिहानी


693
Shares

महोत्तरी । मुलुकको प्राचीन मिथिला क्षेत्रमा पर्ने महोत्तरीको मटिहानी नगर अहिले उत्सवमय देखिँदो छ । आफ्नो ठाउँमा राष्ट्रप्रमुख राष्ट्रपति आउने कार्यक्रमले मटिहानीवासीले यसलाई उत्सवका रुप दिएका हुन् । भोलि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानीका धार्मिकस्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको ३०३ वर्ष पुरानो पाठशालाको अवलोकनसँगै नवनिर्मित रङ्गशाला समुद्घाटन गर्न आउने कुराले नगरवासीमा उत्साह छाएको हो । राष्ट्रपतिको मटिहानी ९महोत्तरी० भ्रमण कार्यक्रमको राष्ट्रपति कार्यालयले पनि पुष्टि गरेको छ ।

यतिखेर मटिहानीका मुख्य चोकबजार केन्द्रमा राष्ट्रपतिका पूर्ण कदका तस्वीर टाँगिएका देखिँदो छ । ‘महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई धार्मिक नगरी मटिहानीमा हार्दिक स्वागत छ’ लेखिएका स्वागतद्वारले सबैतिर झकिझकाउ देखिँदो छ । मटिहानीवासीले यस अवसरलाई पर्व र उत्सवकै रूपमा लिएका छन् । आफ्नै ठाउँमा आफ्नै राष्ट्रप्रमुखको स्वागतको अवसर आफैँमा पर्व र उत्सव हुने मटिहानीवासी बताउँछन् । “हाम्रो ठाउँले त्रेतायुगदेखि नै धार्मिक महत्व बोक्दै आएको छ, यसबाहेक संस्कृत शिक्षाको त यो पुरानो केन्द्र नै हो”, मटिहानी–८ का बासिन्दा पुराना राजनीतिक, सामाजिक अगुवा वृजनारायण लाल कर्ण भन्नुहन्छ, “पछिल्लो कालमा हाम्रो पुरानो पहिचान उजागर गर्ने प्रयत्न बढेका छन्, राष्ट्रप्रमुखले यो प्रयत्न अवलोकन गर्ने अवसर बन्दैछ, हामी खुशी छौँ ।” आपूmहरूका लागि राष्ट्रपतिको अवाइ महत्वपूर्ण अवसर र पर्व नै हुने कर्ण बताउनुहुन्छ ।

महोत्तरीको मटिहानीअघि त्रेतायुगमा राम–सीताको विवाहमा वेदि ९यज्ञस्थल० निर्माण गर्न माटो खनिएको ठाउँका रूपमा विश्वास गरिन्छ । वेदिका लागि माटो खनिएको मानिँदै आइएको लक्ष्मीसागर ९तलाउ० मिथिला क्षेत्रकै पवित्रस्थलका रुपमा अझै पूज्य रहेको पाका मैथिल बताउँछन् । यसबाहेक मटिहानीस्थित श्री लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर नेपाल र भारतका मठ परम्परामा पूज्यनीयस्थल रहँदै आएका मटिहानीस्थित राम माध्यमिक विद्यालय ९लक्ष्मीनारायण मठले स्थापना गरेको० का अवकाशप्राप्त प्रधानाध्यापक चन्देश्वर साह बताउनुहुन्छ । भ्रमण क्रममा राष्ट्रपति भण्डारीले यी महत्वपूर्ण धरोहरको अवलोकन गर्नुहुने मटिहानी नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

मटिहानी संस्कृत शिक्षाको पुरानो केन्द्र रहँदै आएको छ । शिक्षाप्रेमी तथा सन्त बालगुरु षडानन ९भोजपुर, दिङ्ला०ले शिक्षा लिनुभएको ३०३ वर्ष पुरानो तत्कालीन संस्कृत पाठशाला अहिले राजकीय संस्कृत माध्यमिक विद्यालयको नाममा मुलुकका विभिन्न भेगका विद्यार्थीलाई शिक्षा दिँदैछ । यही नै राजा जनकको दरबारका विद्वान मनिषी याज्ञवल्क्य र लक्ष्मीनारायण मठको संयुक्त नाममा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ ९संस्कृत क्याम्पस०मा स्नातकोत्तर तहसम्मको अध्ययन÷अध्यापन हुँदै आएको छ । यसबाहेक धार्मिक परम्परामै मिथिलाको ‘महाकूम्भ’ भनिने मिथिला माध्यमिकी परिक्रमा ९फागुन शुक्लपक्षमा हुने०को यो जिल्लामा पहिलो र मिथिला परम्परामा चौथो दिनको विश्रामस्थलका रूपमा स्थापित रहेको मटिहानीवासी बताउँछन् ।

आफ्नो ठाउँको यो गौरवमय परम्परा भए पनि उपल्लो तहबाट उपेक्षित भएको अनुभूति लिँदै आएका मटिहानीवासी यतिखेर भने राष्ट्रप्रमुख नै आफ्नो ठाउँमा आउन लाग्नुभएको कुराले दङ्ग छन् । “बौवा, सुनैछी जे हमरासभक ठाममें राष्ट्रपति अबै छथि” ९बाबु, सुन्दैछु हाम्रो ठाउँमा राष्ट्रपति आउँदै हुनुहुन्छ रे० मटिहानी–६ का बासिन्दा ८० वर्षीय इस्लाम धर्मावलम्बी विकाउ शेषले भन्नुभयो, “आब हमर जगहके पहिचान आओर उजागर होयत ।” ९अब हाम्रो ठाउँको परिचय अझ उजागर हुनेछ० ।

राष्ट्रपतिको आगमन हुने कार्यक्रमले मटिहानीमा राजनीतिक दल, सामाजिक सङ्घसंस्था, महोत्तरी उद्योग वाणिज्य सङ्घ र आम नागरिक समाज एकाकार भएर स्वागतको तयारीमा लागेका छन् । “सम्पूर्ण मटिहानी नगर अहिले राष्ट्रप्रमुखको स्वागतका लागि एकाकार भएको छ”, मटिहानी–८ का बासिन्दा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य विजयकुमार साह भन्नुहुन्छ, “राष्ट्रपतिको आगमनले यस ठाउँबारे चासो बढ्ने हाम्रो विश्वास छ ।” खासमा पछिल्लो कालमा मटिहानीको धार्मिक र शैक्षिक पहिचानलाई बढाउन भइरहेका प्रयत्नलाई अझ मुखरित र व्यवस्थित गर्न राष्ट्रपतिको आगमनले सघाउ पुग्ने साहको विश्वास छ ।

मटिहानी नगरपालिकाको निमन्त्रणामा हुन लागेको राष्ट्रपतिको भ्रमण कार्यक्रमलाई सिङ्गो महोत्तरी जिल्लाले महत्व पाएको भन्ने अनुभूति लिइएको यहाँका राजनीतिक दलका अगुवाले बताएका छन् । “हाम्रो जिल्लामा राष्ट्रप्रमुखको आगमन हुँदैछ, हामीले यसलाई खास अवसरका रूपमा महत्व दिएका छौँ”, नेपाली कांग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायले भन्नुभयो ।

राष्ट्रपतिको भ्रमण कार्यक्रमलाई व्यवस्थित र सम्झनयोग्य बनाउन आफ्ना सारा प्रयत्न केन्द्रित गरिएको बताउँदै यसलाई महिला जागरणको अवसरका रूपमा पनि लिएको मटिहानी नगरपालिकाका उपप्रमुख शिवोदेवी साह बताउनुहुन्छ । “हामीकहाँ महिला शिक्षा अत्यन्त कमजोर अवस्थामा छ, सामाजिक, राजनीतिक र आर्थिक गतिविधिमा महिला सहभागिता कमजोर देखिन्छ”, उपप्रमुख साहले भन्नुभयो, “संयोग ठिक छ, हाम्रो राष्ट्रप्रमुख अहिले महिला हुनुहुन्छ, उहाँलाई देखेर यहाँका महिलामा नयाँ इच्छाशक्ति पलाउन र बढ्न सक्छ, हामी अगुवा महिलाले राष्ट्रपतिको आगमनलाई यो कोणबाट पनि सर्वसाधारण महिलामा उत्साह भर्दैछौँ ।” आसन्न राष्ट्रपतिको महोत्तरी भ्रमण कार्यक्रमले सबै राजनीतिक दलसँग सहकार्य, संवाद र सँगसँगै काममा अघि बढ्ने अवसर दिएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्