Logo
Logo

ओलीले अब विश्राम लिनुपर्छ : भीम रावल


441
Shares

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष डा.भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले विश्राम लिनुपर्ने बताएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर १०औं महाधिवेशनमा आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दैै उपाध्यक्ष रावलले अब ओलीले विश्राम लिएर आफूलाई अध्यक्षका लागि समर्थन गर्नुपर्ने बताए ।

ओली ७० वर्षसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्रीसमेत भइ महत्वपूर्ण जिम्मेवारी बहन गरिसकेकाले अब ओलीले विश्राम लिनुपर्ने ओलीको तर्क छ ।

‘पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले ७० वर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री समेत भई महत्वपूर्ण जिम्मेवारी वहन गरिसक्नु भएको छ’ रावलले भने, ‘यस क्रममा उहाँले देश र जनताका लागि गर्नसक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेका छन् ।’

रावलले यसअघि नै ओलीले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र फेरि अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्न पनि घोषणा गरिसकेको स्मरण गराए । ९औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार रहेका ओलीले कक्षा नदोहोर्याउने उदघोण गरेका थिए ।

‘उहाँ (ओली) स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो’ रावलले भने, ‘उहाँको यस्तो कार्य र घोषणाको सम्मानका लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकाले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु ।’

रावलले आफूमाथि भरोसा गरेर नेतृत्व हस्तान्तरण गर्न पनि अपिल गरेका छन् । ‘पार्टीमा फुट भएको बेला अरुबाट परिस्थितिको सामना गर्न केही कठिनाई हुन्छ कि भन्ने लागेको भए त्यसबारे ममाथि भरोसा गरी ढुक्क हुन उहाँलाई हार्दिक आग्रह गर्दछु’ उनले भने, ‘मैले अध्यक्ष पदको जिम्मेवारी पाएँ भने उहाँको महत्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई जहिले पनि पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिरहने तत्पर रहने छु ।’

‘अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल नेपाली जनताको आकांक्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु’, रावलले भने ।

उम्मेदवारी घोषणा कार्यक्रममा उनले आफूले विजय र पराजयको अर्थमा भन्दा आफ्ना धारणा र मान्यतालाई महत्व दिएको बताए । आफूले कुनै व्यक्ति विशेष प्रति कुनै आग्रह नराखेको उनको भनाइ छ ।

‘पार्टी एकताका लागि १०–बुँदे सहमति गरिरहँदा पनि मैले देश, जनता र पार्टीको हितका लागि अवलम्बन गर्दै आएको विचार कै पक्षपोषण गरेको हुँ, तिनलाई परित्याग गरेको छैन वा कहीं समर्पण गरेको छैन । कुनै पनि पनि इमान्दार पार्टी नेताले त्यसो गर्न पनि सक्दैन’ उनले भने

एमालेको १०औं महाधिवेशनमा मंसिर १०, ११ र १२ गते चितवनमा हुदैछ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ जना सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्