Logo
Logo

‘आई लभ यू’ त सिम्पल भइसक्यो- रेखा फागो, अभिनेत्री तथा मोडल


- दृष्टि न्युज/संवाददाता


फिल्म ‘तारेभीर’मार्फत रजतपटमा डेब्यु गरेकी अभिनेत्री रेखा फागो अहिलेकी ‘राइजिङ स्टार’ हुन् । फिल्म र मोडलिङका लागि उनलाई खाँचो छैन । हाल एकैसाथ दुई फिल्म ‘हृदयभरी’ र ‘एउटा यस्तो प्रेमकहानी’मा काम गरिरहेकी उनलाई भ्याइनभ्याई छ । सुनसरी, धरानकी रेखाले मोडलिङ हुँदै फिल्मीयात्रा तय गरेकी हुन् । आफ्नो डेब्यु फिल्मबाटै ‘एक्शन लेडी’को उपमा पाएकी रेखा पछिल्लो समय भने लभस्टोरी जनरामा जम्दै आएकी छन् । ‘हृदयभरी’ र ‘एउटा यस्तो कहानी’ दुवै लभस्टोरी फिल्म हुन् । यी फिल्ममा उनी मुख्य नायिकामा देखिँदैछिन् । तर, पछिल्लो समय उनी म्युजिक भिडियो मोडलिङमा भने चुँजी बनेकी छन् । उनी भन्छिन्, ‘फिल्मले गर्दा म्युजिक भिडियोमा चुँजी बनेकी हुँ, भिडियो नै नखेल्ने भन्नेचाहिँ होइन ।’ कलाकारले हरेक किसिमका भूमिका गर्नुपर्छ भन्ने मान्यता राख्ने रेखा ‘च्यालजिङ रोल’ गर्न रुचाउँछिन् । यिनै पछिल्लो समयकी ‘राइजिङ स्टार’ अभिनेत्री रेखासँग एमपी सुब्बाको जम्काभेट :

हिजाआज व्यस्त हुनुहन्छ है ?

हजुर, फिल्मले गर्दा व्यस्त भन्नुप¥यो । तर, एक साताका लागि फिल्मको सुटिङ ‘ब्रेक’ गरिएको छ । यो फुर्सदको समयलाई सदुपयोग गर्दै बिहान–बिहान मर्निङवाक गर्दै आएकी छु ।

अहिले कुन फिल्म गरिरहुनभएको छ ?

सुरज सुब्बा नाल्बोको ‘हृदयभरी’ । ‘हृदयभरी’का नायक पल शाह आफ्नो अर्को फिल्म रिलिजको तयारीमा रहेकाले उहाँ प्रमोशनमा लाग्नुभयो । त्यसैले साता दिनका लागि सुटिङ ‘ब्रेक’ गरिएको हो ।

‘एउटा यस्तो प्रेमकहानी’ पनि गर्दै हुनुहुन्थ्यो । त्यो कहाँ पुग्यो ?

त्यो फिल्मको ८० प्रतिशत सुटिङ सकिएको छ । अहिलेचाहिँ सुटिङ भएको छैन । केही दिनअघि मात्र शिव श्रेष्ठ दाईले कल गर्नु भएको थियो । उहाँले अब चाँडै सुरु हुन्छ भन्नुभएको छ ।

म्युजिक भिडियोहरु गर्दै आउनुभएको छ होइन त ?

पछिल्लो समय म्युजिक भिडियोहरु खाशै गरेकी छैन । फिल्मले गर्दा भिडियोमा चुँजी बनेकी हुँ । तर, गर्दै नगर्ने भन्नेचाहिँ होइन । म्युजिक भिडियोबाटै कलाकारितामा आएकी हँु । फिल्म सकेपछि पुनः मोडलिङ गर्छु ।

पहिलो फिल्मबाटै ‘एक्शन लेडी’का रुपमा चिनिनुभएको थियो । तर, अहिले लभस्टोरी जनरामा व्यस्त हुनुभयो नि ?

हो, तर एउटा कलाकार भएपछि सबै किसिमका भूमिका गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मेरो पहिलो फिल्म ‘तारेभीर’बाट जसरी ‘एक्शन लेडी’का रुपमा चिनिएँ, त्यस्तै अब यी दुई फिल्मबाट ‘लभगर्ल’का रुपमा चिनिनु चाहन्छु ।

‘एक्शन’ र ‘लभस्टोरी’ । यी दुई भूमिकालाई रोज्नुपर्दा नि ?

मेरो लागि भूमिका यस्तै हुनुपर्छ भन्ने छैन । एक्शन र लभस्टोरी दुवै भूमिकालाई न्याय दिन सक्छुजस्तो लाग्छ । म एउटा कलाकार हुँ । तर, म के चाहन्छु भने मेरो भूमिका च्यालेन्जिङ होस्, जसले म दर्शकको मन बस्न सकुँ ।

पछिल्लो समय उदाएका जो ‘राईजिङ स्टार’हरु छन्, उनीहरुको डिमाण्ड अचाक्ली छ । तपाइँ कति डिमाण्डेड हुनुहुन्छ ?

अलि–अलि डिमाण्ड हुनैपर्छ, नत्र हेप्छन् । तर, मेरो डिमाण्ड अचाक्ली छैन । जो–जसले मलाई काम दिनुभएको छ, उहाँहरुले बुझेरै दिनुभएको छ । मैले यो क्षेत्रमा संघर्ष गर्न थालेको पनि धेरै भएको छैन । धरानमै हुँदा अलि–अलि मोडलिङ गर्थेँ । काठमाडौं आएर संघर्ष सुरु गरेको एक वर्षमात्र हुँदैछ ।

हिँडडुल स्कुटीमै गर्नुहुन्छ, केटाहरुले कतिको जिस्काउँछन् ?

खाशै जिस्काउँदैनन् । माक्स लगाएर हिँड्छु । तर, केटाहरु जिस्काउँलान् भनेर होइन, धुलोबाट बच्नलाई हो । यहाँ गाडीमा भन्दा स्कुटीका हिड्नु सजिलो छ । तर, त्यसका लागि माक्सचाहिँ लगाउँनैपर्छ ।

तपाइँलाई ‘कोरियन लुक्स’की सुन्दर अभिनेत्री भन्छन् । केटाहरुले कतिको प्रेम प्रस्ताव राख्छन् ?

त्यो त भइहाल्छ नि । दैनिकजसो प्रेम प्रस्ताव आउँछ । अहिले ‘आई लभ यू’ त सिम्पल भइसक्यो । तर, मलाई सिरियस्ली नै प्रस्तावहरु आउने गरेको छ । बिहे गरौँ, घरमै माग्न आउँछुजस्ता प्रस्तावहरु आउँछन् । म उहाँलाई ‘थ्याङ्क्यु’ भन्छु किनकि उहाँहरुले म नभएर मेरो कामलाई मन पराएको पनि हुनसक्छ । त्यस्तै म भर्खरै जन्मिएकी छु । करिअर बनाउनुछ । जन्मिएपछि हुर्किनु त प¥यो नि होइन ?

प्रतिक्रिया दिनुहोस्