
बैतडी । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुइ जना गम्भीर घाइते भएका छन् । गएराति साढे ८ बजे देहिमाडौँबाट जन्ती लिएर सीमायलतर्फ छुटेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द नगरपालिका-४ को कलुवाड मोडमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रमुख बोधराज ओझाले जानकारी दिए । दुर्घटनामा दशरथचन्द नगरपालिका-६ का ४८ वर्षका राजेन्द्रबहादुर चन्द, ३८ वर्षका धनबहादुर चन्द, ६५ वर्षका प्रेमबहादुर चन्द, ६५ वर्षका तारासिंह थापा र ५८ वर्षका खेमसिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।











