Logo
Logo

जनगणनाका लागि खटिएका गणकहरुलाई सहयोग गरिदिन आग्रह



काठमाण्डौं । केन्द्रीय तथ्याङ्क विभागले जनगणनाका लागि खटिएका गणकहरुलाई सहयोग गरिदिन आग्रह गरेको छ ।

सहरी क्षेत्रमा खटिएका केही गणकले तथ्याङ्क सङ्कलनमा केही समस्या आएको गुनासो गरेपछि विभागले लगत सङ्कलनका लागि घरघरमा पुगेका गणकलाई सहयोग गरिदिन अनुरोध गरेको हो । विभागका उपमहानिर्देशक हेमराज रेग्मीले आउँदो ९ गतेसम्म गणनाको मुख्य काम सकिसक्नु पर्ने भएकाले गणकहरुलाई सहयोग गरिदिन अनुरोध गरे ।

उनका अनुसार अहिलेसम्म हिमाली र पहाडी जिल्लामा ८० देखि ९० प्रतिशतसम्म गणनाको काम सकिएको छ । सहरी तथा तराई र मधेशको भने जानकारी आउन बाँकी रहेको विभागले जनाएको छ । विभागकका अनुसार दार्चुलाको तिङ्कर र छाङरुमा पनि जनगणना भएको छ । जनगणनाका लागि गणकको टोली नेपाली बाटो हुँदै तिङ्कर र छाङरु पुगेका हुन् ।

केन्द्रीय तथ्याङ्क विभागमा तिङ्कर र छाङरुमा ११७ घरधुरी रहेको जानकारी आएको छ । चिसोको मौसम सुरु भएसँगै त्यहाँका केही बासिन्दा सदरमुकाम खलङ्गा झरेकाले उनीहरुको गणना हुन बाँकी छ । गणकहरुले सदरमुकाममै फर्किएर उनीहरुको गणना गर्ने तयारी गरेका छन् ।

भारतले उसको बाटो प्रयोग गर्न नदिए पनि गणकहरु जोखिमयुक्त नेपाली बाटो हुँदै दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्कर पुगेका हुन् । यस्तै, राष्ट्रिय जनगणनाका लागि घरघरमा पुगेका गणकलाई सुविधा सम्पन्न भनिएकै काठमाण्डौ सहरमा तथ्याङ्क सङ्कलन गर्न सकस भएको छ ।

काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका केही बासिन्दाले तथ्याङ्क सङ्कलनमा सहयोग नगरेको गणकहरुको गुनासो छ । काठमाण्डौ उपत्यकाको जनगणनाका लागि अहिले झण्डै चार हजार गणक खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्