
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर भए उपलब्धि खतरामा पर्ने बताएका छन् । सोमबार पूर्वी चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले कार्यकर्तामा केही आत्मविश्वासमा कमी आउँदा प्रतिक्रान्तिकारीहरु सलबलाउन खोजेको बताए ।
‘पार्टी केही निस्क्रिय हुँदा कार्यकर्तामा केही आत्मविश्वासमा कमी आउँदा प्रतिक्रान्तिकारीहरुले कसरी टाउको उठाउँदा रहेछन् भनेर हामीले भोग्यौँ । माओवादी कमजोर हुँदा उपलब्धि जतिबेला पनि उल्टिन सक्ने खतरा रहेछ । हामीले पूर्णसंविधान मानेको त होइन, त्यसको संशोधन गरिनुपर्छ भनेका छौँ’ प्रचण्डले भने, ‘तर, विगतमा एउटा राजामा अधिकार निहित हुने परम्परा थियो । त्यो परिस्थितिबाट जनताको संघर्षको बलमा पहिलो पटक जनतालाई सार्वभौम बनाएको संविधान बनाएका हौँ । यो संविधानको रक्षा गर्दै र परिमार्जन गर्दै समाजवादतिर अघि बढ्नु हाम्रो ऐतिहासिक दायित्व हो ।’
यस्तै प्रचण्डले फेरि देशैभरि माओवादीको पक्षमा लहर आउने बताए । ‘मैले अहिले माओवादी नै देश जोगाउने पार्टी हो भन्ने लहर देखिएको पाएको छु ।’ महन्थ ठाकुर र राजेन्द्र महतोमाथि मधेसमा विश्वास नरहेको जिकिर गरे । ‘मधेसीको हक अधिकारको रक्षा मधेसी दलले गर्छन् कि भन्ने लागेको थियो तर त्यो होइन रहेछ । महन्थ ठाकुर र राजेन्द्र महतोमाथि विश्वास रहेनछ’, प्रचण्डले भने ‘माओवादीमै आश रहेछ । अहिले देशैभरि त्यही परिस्थितिका रिपोर्टहरु छन् । हामी कम्युनिस्ट आन्दोलनको एकताको झण्डा उठाएको हो विभाजनको होइन । एमाले प्रतिक्रान्तिकारी पार्टी हो ।’











