Logo
Logo

५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण



धनगढी । शुक्लाफाँटा नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिएको छ । गहुँ प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि समूह, कृषि सहकारी, कृषि फार्ममार्फत नगरपालिको कृषि शाखाले किसानलाई अनुदानमा १८ हजार ६६० किलो बीउ वितरण गरेको हो ।

कृषि शाखाका प्राविधिक सहायक करन सिंह बुढाऐरका अनुसार नगरपालिकामा क्रियाशील १८ वटा कृषि सहकारी, २२ वटा कृषि समूह र ४५ वटा कृषि फार्ममार्फत ३२५ जना किसानलाई उन्नत जातको गहुँको बिउ वितरण गरिएको छ ।

गहुँ प्रवर्द्धन कार्यक्रमअन्तर्गत संघीय सरकारबाट प्राप्त २० लाख रुपैयाँमध्ये सात लाख र किसानले व्यहोरेको सात लाख गरी १४ लाख रूपैयाँमा बिउ खरिद गरी वितरण गरिएको प्राविधिक सहायक बुढा ऐरले जानकारी दिए । उनले भने, ‘किसानलाई उन्नत जातका विजय, आदित्य, एनएल ९७१ र बाणगंगा जातको गहुँको बिउ मागका आधारमा उपलब्ध गराएका छौं । उन्नत जातको बीउको प्रयोगले गहुँको उत्पादनमा बृद्धि हुने अपेक्षा गरेका छौं ।’

किसानलाई मार्का नपर्ने गरी ढुवानी र लोड अनलोडवापतको खर्च शाखाबाटै व्यहोरिएको छ । शाखाबाट वितरण गरिएको बिउ १८८ बिघा जग्गामा किसानले छरेका छन् । नगरपालिका क्षेत्रका गहुँ खेतीमा संलग्न किसानमध्ये ७० प्रतिशतले उन्नत जातको गहुँको बिउको प्रयोग गर्ने गरेका छन । सिँचाइको पहुँच पुग्न थालेपछि गहुँको उत्पादन प्रत्येक वर्ष बढ्दो छ । नगरपालिका क्षेत्रमा प्रति हेक्टर गहुँको उत्पादन दुई मेट्रिक टन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्