Logo
Logo

बिनाअधिवेशन बिसौं वर्षदेखि राज, राजनीतिक संरक्षणमा मेहताको स्वेच्छारिता


- दृष्टि न्युज/संवाददाता


सुनसरी । लामो समयदेखि सुनसरी–मोरङ जल उपभोक्ता केन्द्रीय समन्वय समितिमा अधिवेशन नहुँदा एउटै व्यक्तिको हालिमुहाली रहँदै आएको छ । अधिवेशनै नहुँदा समन्वय समितिमा अध्यक्ष रामप्रसाद मेहताको स्वेच्छाचारितासमेत बढ्दो छ ।

मूलशाखासहित २० शाखा रहेको समन्वय समितिको कार्यकाल चार वर्ष हो । तर, यसलाई आफूखुसी संशोधन गरी पाँच वर्षे कार्यकाल बनाइएको छ । जुन ‘जल उपभोक्ता संस्था गठन तथा सञ्चालन कार्यविधि २०७२’सँगसमेत मेल खाँदैन ।

मेहताअघि पनि समन्वय समितिमा दुई अध्यक्ष थिए । मेहतालाई उनी अघिका अध्यक्ष पूर्णप्रसाद भट्टराईले पुनर्गठनमार्फत् नेतृत्व सुम्पेका थिए । तर, समितिको स्थापनाकालदेखि अहिलेसम्म अधिवेशनै भएको छैन ।

अधिवेशनै नहुँदा अहिले अध्यक्ष मेहताले स्वेच्छाचारी ढंगबाट समिति सञ्चालन गर्दै आइरहेको गुनासो छ । ‘नियमतः हरेक चार वर्षमा अधिवेशन हुनु पर्ने हो’, केन्द्रीय सदस्य सन्तोष साहले भने, ‘तर, संशोधन गरी पाँच वर्ष बनाइयो । अझ यहाँ त बिसौं वर्षदेखि एउटै व्यक्ति अध्यक्ष छ ।’

समिति सदस्यहरुका अनुसार विधिसम्मत तरिकाले अधिवेशन नभई कार्यसमिति पुनर्गठनमात्रै हुँदै आएको छ । यसले गर्दा कार्यसमितिमा स्वच्छ प्रतिस्पर्धाद्वारा नयाँ नेतृत्व आउन त सकेको छैन नै मेहताको स्वेच्छाचारितासमेत नियन्त्रण हुने अवस्थामा छैन ।

उपभोक्ता समितिको विधानअनुसारै पनि सबै शाखाका ७० प्रतिशत चुनाव सम्पन्न गर्ने र बाँकी रहेको बिस्तारै गर्ने भन्ने उल्लेख छ । तर, २०७४ सालमा सम्पन्न साधारणसभाले अध्यक्ष मेहताकै संयोजकत्वमा गठित विधान मस्यौदा समितिले सबै शाखाको चुनाव सम्पन्न नगरी अधिवेशन नगर्ने संशोधन हाल्यो ।

कार्यविधि–२०७२ अनुसार उपभोक्ता समितिको विधान संशोधन गराउन सिँचाई कार्यालयको प्राविधिक सहयोगसँगै उपभोक्ताहरुको समेत सहभागिता आवश्यक छ । तर, विवादास्पद ढंगले उक्त संशोधन अध्यक्ष मेहतानिकट सदस्यहरु मिली अनुमोदन गराएका थिए ।

‘यसले गर्दा समितिअन्तर्गत रहेका १९ शाखामा चुनाव नहुने वातावरण सिर्जना भएका छन्’, केन्द्रीय सदस्य साह भन्छन्, ‘शाखा र प्रशाखाहरुमै चुनाव नभएपछि केन्द्रीय अध्यक्ष एउटै रहने वातावरण सिर्जना भएको छ ।’

उनीहरुले यसविरुद्ध समितिका सात जना सदस्य मिलेर सुनसरी–मोरङ सिँचाई योजनामा निवेदनसमेत दिएका छन् । साथै, सिँचाई विभाग र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा समेत बोधार्थ दिएका छन् ।

तर, राजनीतिक आँड र संरक्षण पाएका मेहताले ‘आफूलाई सक्ने भए हटाउन’ भन्दै धम्की दिने गरेको कार्यसमितिका सदस्यहरु बताउँछन् । उनलाई मन्त्री वर्षमान पुनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईं ‘सचिन’, नेकपा प्रदेश सदस्य मुक्साहाङ मेन्याङ्बो ‘मुकेश’ र डम्बर सुवेदी ‘हिमाल’लगायतका राजनीतिक नेताहरुको दरिलो आँड छ ।

अध्यक्ष मेहतासमेत हाल तेस्रो कार्यकाल सञ्चालन गरिरहेको जिकिर गर्छन् । तर, कार्यविधि–२०७२ मा दुई कार्यकालभन्दा बढी एउटै व्यक्ति पदाधिकारी बन्न नपाइने उल्लेख छ । उनी भन्छन्, ‘अधिवेशनै नभएको भन्नु झुटो आरोपमात्रै हो । समय पुगेपछि अधिवेशन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्