Logo
Logo

इजरायल जाने कामदाकार लागि खोपको व्यवस्था गर्न माग



काठमडौं । रोजगारीका लागि इजरायल जाने नेपाली युवालाई कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरेको छ ।

हाल इजरायल जान स्वास्थ्य परीक्षण गरिरहेका १ हजार १ सय ७५ श्रमिकमध्येबाट परीक्षण रिपोर्ट पास भएका श्रमिकलाई खोप व्यवस्थापन गर्न पत्राचार गरिएको हो ।

मन्त्रालयले हाल नेपालमा मान्यताप्राप्त ७ प्रकारकामध्ये कुनैपनि खोपको व्यवस्थापन गर्न अनुरोध गरेको छ । श्रम मन्त्रालयले ३ मंसिरमा स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा मोडेर्ना, फाइजर, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका, कोभिसिल्ड, सिनोफार्म वा सिनोभ्याकमध्ये कुनै लगाउन सकिने उल्लेख छ ।

वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीका लागि स्वास्थ्य परीक्षणपछि छनोट भएका १ हजार १ सय ७५ श्रमिकको स्वास्थ्य परीक्षणपछि खोपको व्यवस्थापन गर्नुपर्ने जनाउँदै आएको छ ।

विभागले खोप नलगाएका युवाका लागि सरकारले मान्यता दिएको कुनै पनि खोप लगाउन सकिने जनाएको छ । श्रम मन्त्रालयका एक कर्मचारीका अनुसार वैदेशिक रोजगार विभागद्वारा खोपको व्यवस्थापनमा सहजिकरण गर्न अनुरोधसहित स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइएको छ ।

आइतबारसम्म अन्तिम छनोटमा परेका ५ सयभन्दा बढी युवाको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको काम सम्पन्न भएको छ । बाँकी रहेका ६ सय ७५ जनाको भने आइतबारबाट स्वास्थ्य परीक्षणसहित प्रहरी प्रतिवेदनको काम भइरहेको विभागले जनाएको छ ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदारको अन्तिम छनोटका लागि नेपालले पिवालाई उपलब्ध गराएको योग्यताक्रम सूचीका १ हजार ६ सय जना उम्मेदवारमध्येबाट १ हजार १ सय ७५ रोजगारीका लागि योग्य भएका थिए ।

इजरायलले पठाएको नामावलीको आधारमा क्रमशः १ हजार १ सय ७५ जनालाई नै अभिमुखिकरण तालिम समयमै सम्पन्न गर्ने गरी तयारी गरिएको छ । विभागले इजरायलको पिवाबाट छनोट भएर आएका सबैलाई भिसा प्रक्रियाका लागि इजरायली दूतावास पठाउने गरी काम भइरहेको जनाएको छ । (कारोबार दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्