Logo
Logo

इलाका प्रशासनबाट सेवा लिनै सास्ती



भजनी । जानकी गाउँपालिका–२ बडरियाका प्रयाकराज जोशी बुहारीको नागरिकता बनाउनका लागि दुई दिन इलाका प्रशासन कार्यालयमा धाइसक्दा पनि काम भएको छैन ।

वडा कार्यालयबाट नागरिकताको सिफारिस ल्याएर आएनुभएका ६५ वर्षीय उहाँलाई प्रशासनमा सेवाग्राहीको भिड छिचोल्न निकै मुस्किल भयो । जोशीलाई पहिलो दिन प्रशासन बाहिरको भिड छिचोलेर नागरिकता फाँट पुग्दैमा समय सकियो भने आइतबार पनि उहाँको काम भएन ।

“बिहान ६ बजे आएर लाइनमा बसेको हुँ । पालो कुर्दै दिन बित्यो, पालो आएन ।” उहाँले भन्नुभयो, “बाहिर बस्नका लागि ठाउँ छैन । शौच लागे शौचालय छैन । पिउने पानी छैन । आपत्मा काम गर्नुपर्ने बाध्यता छ ।” जोशीले प्रशासन बाहिर सेवाग्राहीलाई प्रतीक्षाका लागि ठाउँ नहुँदा महिला, तथा ज्येष्ठ नागरिकलाई निकै सास्ती भएको बताउनुभयो ।

भजनी नगरपालिका–१ निवासी सुनिता रोकाया छ महिनाको बच्चालाई काखमा च्यापेर नागरिकता बनाउन शुक्रबार नै कार्यालय पुग्नुभएको थियो । शुक्रबार काम नभएपछि उहाँ त्यही बच्चालाई काखमा च्यापेर फेरी आइतबार बिहान ७ बजे कर्यालय पुग्नुभयो । “एकातिर काम समयमा नहुँदा सास्ती छ भने, अर्को बच्चालाई स्तनपान गराउने ठाउँ पनि छैन । बच्चालाई दूध खुवाउन निकै अप्ठ्यारो भएको छ”, सुनिताले भन्नुभयो, “तनावपूर्ण अवस्थामा काम गर्नुपर्ने बाध्यता छ । प्रशासनमा काम प¥यो भनेपछि पहिलेदेखि नै चिन्ता लाग्छ ।”

सोही वडा निवासी विमला विकको समस्या पनि त्यस्तै छ । उहाँ पनि आठ महिनाको छोरा बोकेर कार्यालय आउनुभएको थियो । प्रशासनले भजनी नगरपालिकाका सेवाग्राहीका लागि दुई दिन काम गर्छ । शुक्रबार र आइतबार मात्रै काम हुने भएपछि टाढाबाट सेवा लिन आउँदा निकै समस्या भएको उहाँको गुनासो थियो । विमलाले सबै काम वडा तहबाटै हुने भए पनि नागरिकताका लागि सेवाग्राहीले विगतदेखि नै भोग्नुपरेको सास्ती अन्त्य हुन नसकेको बताउनुभयो ।

“खाना र पानी नभनेर प्रशासनमा पालो कुरेर बस्नुपर्ने बाध्यता छ । आसपासमा केही खानेकुरा पनि पाइँदैन । बजार पुगेर केही खाएर आउँदासम्म काम हुँदैन कि भन्ने चिन्ता हुन्छ ।” उहाँले भन्नुभयो, “सिंहदरबार गाउँगाउँमा आयो भन्छन्, हामी सेवाग्राहीका लागि त्यसको कुनै महसुस हुनसकेको छैन ।”

सोही नगरपालिकाको वडा नं ३ का ७५ वर्षीय भागीराम महतो तिहार अघिदेखि नै प्रशासन धाउन थाल्नुभएको हो । स्थानीय तहको संरचना भएपछि वडा नं ४ मा रहेको उहाँको घर अहिले वडा नं ३ मा परेको छ । नागरिकतामा वडाको ठेगाना सच्याउन प्रशासन पुग्नुभएका भागिरामको काम महिना दिन बितिसक्दा पनि भएको छैन । “तिहारपछि हुन्छ त्यसपछि आउनु भन्नुभएको थियो । अहिलेसम्म भएको छैन । म बुढो मान्छे पैदल भएर भजनीबाट टीकापुर पुग्न निकै कठिन छ ।” उहाँले भन्नुभयो, “राति ३ बजे घरबाट हिँडेको थिए । खाना पानी केही खान पाएको छैन । काम पनि भएको छैन । भित्र कार्यालय पुग्न म बुढोको तागत पुग्दैन ।” भगिरामले सधैँ आउने र केही नबुझेरै घर फर्किनुपरेको गुनासो गर्नुभयो ।

इलाका प्रशासन कार्यालयमा सेवा लिन आउने यी सेवाग्राही एक उदाहरण मात्रै हुन् । अधिकांश सेवाग्राहीको काम एकै दिनमा हुँदैन । प्रशासनले कोरोना कालमा लगाएको बारअनुसारको तालिका पनि अझै हटाएको छैन ।

कार्यालयका प्रशासकीय अधिकृत महेशबहादुर बमले कार्यालयमा कर्मचारीको दरबन्दी कम र सेवाग्राही धेरै भएपछि सेवा प्रवाहमा निकै समस्या भएको बताउनुभयो । अहिले कार्यालयमा दुई नायब सुब्बा, एक खरिदार, एक अधिकृत, एक कम्प्युटर अपरेटर, तीन कार्यालय सहयोगी र एक उपसचिवको दरबन्दी छ । अहिले उपसचिवबाहेकका सबै फाँटमा कर्मचारी छन् । उहाँले सेवाग्राहीको भिडलाई कम गर्न अझ एक प्रशासकीय अधिकृत, एक नायब सुब्बा, एक खरिदार र एक कम्प्युटर अपरेटरको दरबन्दी थाप गर्नुपर्ने देखिएको बताउनुभयो ।

“सेवाग्राहीहरु कार्यालयमा राति ३ बजेदेखि नै आएर लाइन लागेका हुन्छन् । प्रशासनको भिडभाड सम्हाल्नै मुस्किल छ । कर्मचारी कम छौँ । सेवाग्राही धेरै छन् । त्यसमा पनि भाडामा कार्यालय सञ्चालन गर्नुपर्ने अवस्थामा कार्यालय परिसरमा खाली ठाउँ छैन ।” प्रशासकीय अधिकृत बमले भन्नुभयो, “अहिले राष्ट्रिय परिचयपत्रका लागि नागरिकता बनाउन आउने सेवाग्राहीको अत्याधिक भिड भएको हो । नत्र नियन्त्रणभन्दा बाहिर जानेगरी यस्तो भिडभाड त हुँदैनथ्यो ।” उहाँले शनिबार पनि शुक्रबारको बाँकी काम गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्