प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन बारको माग « Drishti News – Nepalese News Portal
Logo

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन बारको माग


दृष्टि संवाददाता


काठमाडौं । प्रधानन्यायाधीशविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुले महाअभियोग लगाउनपर्ने मागसहित सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले सोमबार प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकै कारण न्यायपालिकामाथिको विश्वास गुम्न थालेको र अदालतमा विसंगति मौलाएको भन्दै नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएको छ ।

न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यका लागि पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने उनीहरुको माग छ । झण्डै एक महिनादेखि कानून व्यवसायीहरु आन्दोलन गर्दै आएका छन् ।

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेको बार तथा कानुन व्यवसायीले प्रधानन्यायाधीशको इजलासमा बहस समेत नगर्ने बताइसकेका छन् । नेपाल बारले प्रधानन्यायाधीशलाई विदा गर्नुपर्ने आधार र कारण सहित ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्