Logo
Logo
एमालेको १०औं महाधिवेशन

घनश्यामले अध्यक्षमा उम्मेदवारी नदिने, ओलीसँग बार्गेनिङ गरेर चाहेको पद लिने



काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशन चार दिनमा सुरु हुँदैछ । तर अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेका उपमहासचिव घनश्याम भुसाल चुपचाप छन् । उम्मेदवारी दिने वा नदिने भन्नेमा घनश्याम अझै अलमलमा छन् ।

अध्यक्ष केपी शर्मा ओली १०औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष निर्वाचित हुन चाहन्थे । तर, उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै ओलीको चाहना पूरा नहुने भएको छ ।

रावलको उम्मेदवारीले ओली मात्रै होइन भुसालसमेत अलमलमा परेका छन् । आफ्नै समूहका नेताले उम्मेदवारी घोषणा गरेपछि भुसाल अलमलमा परेका हुन् ।

एमाले विभाजन हुँदा माधवकुमार नेपाललाई छोडेर एमालेमै रहने १० नेता मध्ये रावल र भुसाल पनि हुन । उनीहरु पार्टीको एकता कायम गर्न बनेको १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै एमालेमा रहेका हुन् । तर, रावलले १० बुँदे समूहमै छलफल नगरी उम्मेदवारी घोषणा गरेपछि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका भुसाल अलमलमा परेका हुन् ।

त्यसो त रावलकै घोषणाका कारण मात्र भुसाल अनिर्णित भएका होइनन् । पछिल्लो समय उनले परिस्थिति राम्ररी आंकलन गरेका छन् । तेस्रो धार बाहेकका नेताहरुसँग पनि भुसालले वान टु वान आफ्नो आकांक्षा राखेका छन् । तर, उनले कतैबाट पनि सकारात्मक संकेत पाउन सकेनन् । त्यसैले उनी हतारमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा नगर्ने पक्षमा पुगेका हुन् ।

के गर्छन त भुसाल ?
तेस्रो धारका १० नेतामध्ये रावल र भुसाल बाहेक सवै अध्यक्ष ओलीमा समाहित भइसकेका छन् । ओलीसँग नमिलेसम्म कुनै पनि जिम्मेवारी पाउन नसकिने सबैको विश्लेषण हो । पछिल्लो समय भुसालसमेत ओलीसँगै मिल्ने मनस्थितिमा पुगेको बुझिन्छ ।

भुसाल निकट स्रोतका अनुसार भुसाल पछिल्लो समय ओलीसँगै मिलेर पदाधिकारीमा सेट हुने निर्णयमा पुगेका छन् । तर, ओलीसँग बार्गेनिङ गर्न उनले भित्रभित्रै अध्यक्षमा उम्मेदवारी दिने विषयमा छलफल चलाइरहेका छन् । अन्तिम समयमा अध्यक्षमा उम्मेदवारी नदिने सर्तमा चाहेको पद ओलीसँग माग्ने उनको योजना रहेको बुझिन्छ ।

एमालेको १०औं महाधिवेशन मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ जना सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्