Logo
Logo

काठमाडौं प्रहरीको अग्निपरीक्षा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । भनिन्छ– सर्वसाधारणले देशका मन्त्री चिन्दैनन् । तर, काठमाडौंका प्रहरी प्रमुखलाई चिन्छन् । को गृहमन्त्री भयो भन्दा पनि काठमाडौंको प्रहरी प्रमुख को छ भन्ने कुरामा धेरैको चासो हुने गरेको छ ।

सर्वसाधारणको यो चासो स्वभाविक पनि छ । किनकी हरेक दिन सयौं व्यक्तिहरु न्याय माग्दै काठमाडौं प्रहरीमा पुग्ने गर्दछन् । एसएसपीको सक्षमता र व्यवहारले कतिले सहज न्याय पाउने र नपाउने कुरा तय हुन्छ । सोही कारण काठमाडौंको प्रहरी प्रमुखको सर्वसाधारणमा अत्याधिक चासो हुने गरेको हो ।

त्यही ‘आकर्षक’ पदमा गत बुधबारदेखि एसएसपी उत्तम सुवेदीले जिम्मेवारी पाएका छन् । उनको सरुवालाई धेरैले ‘राइट म्यान राइट प्लेस’ भनेर टिप्पणी गरेका छन् । यसअघि धनुषा, सर्लाही लगायत विभिन्न जिल्लामा हुँदा उत्कृष्ट काम गरेकाले पनि काठमाडौं परिसरमा उनले अझै राम्रो काम गर्ने अपेक्षा गरेका छन् ।

यसरी बढ्यो चार्म

कुनै समय काठमाडौंका एसएसपीलाई गुन्डा र दुई नम्बरी काम गर्नेले मात्र चिन्दथे । गुन्डासँग असुल्ने र अन्य अपराधिक गतिविधिमा संलग्नहरुलाई संरक्षण दिएर लाइन खाने सिष्टम थियो । कतिसम्म भने प्रहरी महानिरीक्षकको आर्थिक स्रोत जुटाउनसमेत काठमाडौं परिसर प्रयोग हुने गरेको थियो ।

२०६४÷६५ मा नवराज सिलवाल र सर्वेन्द्र खनाल काठमाडौं परिसरको प्रमुख भएपछि प्रहरी पैसा कमाउन मात्र होइन राम्रो काम गरेर सेलिब्रेटी बन्न सक्छ भन्ने लहर उत्पन्न भयो । त्यसपछि काठमाडौंमा दाम होइन नाम कमाउने प्रतिस्पर्धा सुरु भयो ।

सिलवाल र खनालपछि गणेश केसी काठमाडौं प्रहरी प्रमुख भए । तर, एक अपराधिक गिरोहका नाइके नागराजलाई आर्थिक लेनदेन गरी छाडिदिएकोमा उनी कारबाहीस्वरुप हटाइए । त्यसपछि २०६७ सालमा रमेश खरेल परिसरका प्रमुख भए । उनको कार्यकालमा काठमाडौं प्रहरी अझै माथि उठ्यो । काठमाडौंमा गुन्डाहरुको भागाभाग भयो । उनीपछि पुष्कर कार्कीले काठमाडौं प्रहरी सम्हाल्ने अवसर पाए । उनले राम्रो गर्ने प्रयास गरे । तर केही ठूला अपराधिक घटना नरोकिएपछि उनको सरुवा भयो । त्यसपछि केदार रिजाल काठमाडौं प्रहरी प्रमुख भए । उनको कार्यकाल मध्यम रह्यो । गणेश लामालाई थुनेको आरोपमा विजय गच्छेदार गृहमन्त्री भएपछि उनलाई हटाए । त्यसपछि राजेन्द्र श्रेष्ठलाई परिसरको प्रमुख बनाए । श्रेष्ठपछि सुबोध घिमिरे, रणबहादुर चन्द, जयबहादुर चन्द, बिक्रमसिंह थापा, उत्तम कार्की, छविलाल जोशी, रबिन्द्रसिंह धानुक, विश्व पोखरेल हुँदै बसन्त लामासम्म काठमाडौं परिसरका प्रमुख भए । काठमाडौं परिसरमा एसएसपीको दरबन्दी भएपछि जयबहादुर चन्दको पोष्टिङ भएको थियो । रमेश खरेलले एसएसपी हुँदा पनि परिसर सम्हाल्ने अवसर पाए । रणबहादुर चन्द कारबाहीस्वरुप सरुवामा परे । नवराज सिलवाल प्रकरणमा धानुकको पनि आकस्मिक सरुवा भएको थियो । एसएसपी बसन्त लामाले पनि एक वर्षको अवधि पुरा गर्न पाएनन् । उत्तम सुवेदीलाई परिसरको जिम्मेवारी दिइएको छ ।

के छन् चुनौती

काठमाडौंमा पहिले जस्तो संगठित अपराध र गुन्डागर्दी छैन । पेशेवर अपराधीबाट हुने घटना कम हुँदै गएका छन् । त्यसकारण अहिले काठमाडौंमा प्रहरीलाई ठूला चुनौती छैन । बलियो सुरक्षा संन्यन्त्रका कारण यस्ता ठूला अपराध नभएका भने होइनन् । खुला सीमाना र नाकाको कमजोर चेकिङ प्रणालीका कारण अपराधीले जुनसुकै बेला जस्तो सुकै गतिविधि गर्न सक्ने अवस्था छ । त्यसतर्फ प्रहरी नेतृत्व सचेत हुनु जरुरी छ ।

अर्काेतर्फ सामाजिक तथा आर्थिक अपराध बढीरहेका छन् । त्यसमा निष्पक्ष भएर उनले काम गर्न सक्नुपर्छ । आर्थिक लेनेदनका विषयमा प्रहरी प्राय एकपक्षीय भएर काम गर्ने आरोप लाग्ने गरेको छ ।

उपत्यकामा कतिपय कार्यालयमा अहिले पनि लाइन चल्ने गरेको छ । वर्षाैदेखि एउटै कार्यालयमा बसेर कतिपय प्रहरीले अपराधिक गतिविधिमा साँठगाँठ गर्दछन् । त्यस्ता प्रहरीको पहिचान गरी उनले चिन्नु जरुरी छ । साथै सूचना संयन्त्रलाई बलियो बनाए मात्र उनी सफल हुने देखिन्छ ।

प्रहरी महानिरीक्षकको सचिवालयमा रहँदा उनले समुदाय– प्रहरी साझेदारी कार्यक्रमको संयोजक भएर काम गरेका थिए । नागरिकसँग कसरी सम्बन्ध विस्तार गर्नुपर्छ भन्नेमा उनलाई राम्रो ज्ञान छ । त्यसकारण उनको कार्यकालमा कम्युनिटी पुलिसिङ नमूना हुने धेरैले अपेक्षा गरेका छन् ।

महाशाखा– परिसर ‘लभहेट’ सम्बन्ध

एसएसपीको अर्काे आकर्षक पोष्टिङ हो–महानगरीय अपराध महाशाखा । जहाँको नेतृत्वको पनि काठमाडौं परिसरसँगै फेरिएको छ । एसएसपी धीरजप्रताप सिंह एक वर्षको कार्यकाल पुरा गरेर मुख्यालय सरुवा भएका छन् भने, एसएसपी सहकुल थापा महाशाखाको प्रमुख बनेका छन् ।

महाशाखामा पनि कोही हिरो भएका छन् भने लोभमा फस्दा कतिपय एसएसपी जिरो समेत भएका छन् । एसएसपी थापाको पृष्ठभूमि मध्यम खालको छ । लोभमा नफसी महाशाखालाई सफल नेतृत्व दिन सके हिरो बन्ने अवसर उनीसँग छ ।

काठमाडौं परिसर र महाशाखाबीच सधैं ‘लभ–हेट’को सम्बन्ध रहँदै आएको छ । कहिले सम्बन्ध राम्रो हुने गरेको छ भने कहिले तिक्ततापूर्व ।

कार्यक्षेत्रमा प्रष्टता नहुँदा र काम देखाउने होडका कारण कतिपय अवस्थामा महाशाखा र परिसरबीच विवादसमेत भएका छन् । तर, अहिले परिसर र महाशाखाका प्रमुखले मिलेर जाने घोषणा गरेका छन् । आइतबार संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरुले यस्तो सन्देश दिएका हुन् ।

पत्रकार सम्मेलनमा महाशाखाका नयाँ प्रमुख एसएसपी सहकुल थापाले सुरुमै भने,‘हामी दुवैले जागिर पनि एकैदिन सुरु गरेका हौं, सँगसँगै अगाडि बढ्यौँ । एसएसपीमा म उहाँभन्दा केही ढिला बढुवा भएँ । यी दुवै निकायको काम शान्ति सुरक्षा कायम गर्ने हो । देशभरका अपराधीहरु एकै ठाउँ बसेर अपराध गर्ने अनि त्यही अपराध नियन्त्रण गर्न हामी किन मिलेर काम नगर्ने ?

महाशाखाले परिसरसँगै मिलेर काम गर्नुपर्ने अवस्था छ । महानगरीय प्रहरीको अवधारणा लागू भएसँगै उपत्यकामा गम्भीर किसिमका अपराधको अनुसन्धानका लागि महाशाखा स्थापना भएको हो । जसले काठमाडौंका तीनै जिल्लाका अपराध अनुसन्धान हेर्दछ । महाशाखालाई आफैं मुद्दा चलाउने अधिकार छैन ।

गत वर्ष अपराध महाशाखामा धीरजप्रताप सिंह र काठमाडौं परिसरमा विश्वराज पोखरेल थिए । उनीबीच काममा तालमेल थिएन । जुन पेप्सीकोलाको अपहरणमा छताछुल्ल भयो । होड लिने नाममा छुट्टाछुट्टै अनुसन्धान हुँदा ढिलाई भएको थियो । धेरै वटा घटनामा काम देखाउने नाममा छुट्टाछुट्टै अनुसन्धान हुँदा प्रहरी असफल भएको छ । यस्तो अवस्थामा महानगरीय प्रहरी आयुक्तले दुई निकायबीच समन्वय गर्न आवश्यक देखिन्छ ।

एसएसपी सुवेदी महाशाखा र परिसर मिलेर काठमाडौंवासीलाई शान्ति सुरक्षा दिनेमा आफूहरु केन्द्रीत हुने बताउँछन् । आफूहरुमा सेलिब्रेटी बन्ने होड नरहेको उनले सुरुमा प्रष्टाएका छन् । ‘ कुनैपनि प्रहरी सेलिब्रेटी हुँदैन। उसलाई सेलिब्रेटी भन्ने र बनाउने भनेको मिडियाले हो। प्रहरीले कुनै एक्स्ट्रा काम गरेको हुँदैन यदी गरेको हुन्छ भने नियम कानुनको अधिनमा रहेर जिम्मेवारीलाई पुरा गर्ने मात्र हो,’ पत्रकार सम्मेलनमा उनले भने हाम्रो बुद्धी र विवेकले भ्याएसम्म हामी प्रहरीको इमेजलाई उच्च बनाउने प्रयाश गर्छाै ।’

प्रतिक्रिया दिनुहोस्