Logo
Logo

अफगानिस्तानमामहिलालाई टेलिशृङ्खलामा नदेखाउँन तालिबानको निर्देशन



काठमाडौं । अफगानिस्तानमा तालिबान सरकारले महिलाहरूलाई टेलिभिजनमा प्रसारण हुने कार्यक्रममा अभिनय गर्न प्रतिबन्ध लगाएको छ ।

तालिबानले महिला पत्रकार र कार्यक्रम प्रस्तोतालाई पनि टाउको ढाक्न निर्देशन दिएको छ। यद्यपि निर्देशिकामा कस्तो प्रकारले टाउँको ढाक्ने भन्ने कुरा स्पष्ट छैन।

पत्रकारहरूले केही नियमहरू अस्पष्ट रहेको र त्यसलाई जसरी पनि व्याख्या गर्न सकिने बताएका छन्। बिबिसीका अनुसार अगस्टमा देशको सत्ता आफ्नो हातमा लिएको तालिबानले बिस्तारै कडा नियमहरू लागु गर्दै जाने डर धेरै जनाले व्यक्त गरेका थिए।

अमेरिकी र सहयोगी सेनाको बहिर्गमनपछि सत्ता नियन्त्रणमा लिनेबित्तिकै तालिबानले महिलाहरूलाई विद्यालय नगई घरमै रहन आदेश समेत दिएको छ । सन् १९९० को दशकमा तालिबानले सत्ता सञ्चालन गर्दा महिलालाई शिक्षामा र काम गर्न प्रतिबन्ध लगाएको थियो।

अफगानिस्तानका टेलिभिजन च्यानलहरूलाई दिइएको नयाँ निर्देशिकामा आठवटा नियमहरू छन्।ती नियममा इस्लाम वा शरिया कानुन एवम् अफगान मूल्यमान्यताविपरीतका चलचित्रहरूदेखि पुरुषका गुप्ताङ्ग देखाउन नपाइनेसम्मका कुराहरू छन्।

धर्मलाई अपमान गर्ने कुराहरू वा अफगानका लागि आपत्तिजनक कुरा भएका हास्य र मनोरञ्जनात्मक सामग्री पनि देखाउन नपाइने नियम बनाइएको छ। तालिबानले विदेशी मूल्यमान्यता प्रचार गर्ने विदेशी चलचित्रहरू देखाउन नपाइने बताउँदै आएको छ । अफगान टेलिभिजन च्यानलहरूमा महिलाप्रधान विदेशी टेलिशृङ्खला प्रसारण हुँदै आएका थिए।


तालिबानले महिलामाथि शिक्षा र रोजगारीमा लगाइएको प्रतिबन्ध अस्थायी भएको र त्यो विद्यालय एवं कार्यक्षेत्रहरू उनीहरूका लागि सुरक्षित बनाउनका लागि मात्रै लागु गरिएको बताउँदै आएको बिबिसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्