Logo
Logo

कारिन्दासँग गृहमन्त्री निरीह



काठमाडौं । प्रधानमन्त्रीपछि दोस्रो वरियतामा रहेका गृहमन्त्री बालकृष्ण खाण राज्य सञ्चालनमा निकै कमजोर देखिएका छन् । गृह प्रशासनमा पार्टीकरण गरेका उनले कतिपय अत्यावश्यक काममा समेत चासो दिने गरेका छैनन् ।

गृहमन्त्री खाण नेपाल ट्रष्टको समेत अध्यक्ष छन् । राजा वीरेन्द्रको परिवारको सम्पत्तिको लागत संकलन र सदुपयोगका लागि स्थापना गरिएको ट्रष्टमा अरबौंको सम्पत्ति छ । तर, खाणको बेवास्ताले ट्रष्टका नियमित कामसमेत रोकिएका छन् । चार महिना हुँदा पनि उनले एक पटक पनि बोर्ड बैठक बोलाएका छैनन् ।

यसको अर्काे कारण बोर्डका सदस्यहरू पनि हुन् । बोर्डमा तीन सदस्यहरू केपी शर्मा ओलीका नजिकका व्यक्तिहरू छन् । बैठक बोलाउँदा आफु नै अल्पमतमा पर्ने डर पनि उनलाई छ । ओलीले नियुक्त गरेका योङजोम शेर्पा, प्रवीणराज दाहाल र नन्दबहादुर रोकाया(नरेश) बोर्ड सदस्य छन् । उनीहरू तीन जना एमालेको राजनीतिमा आबद्ध छन् । शेर्पाकै पहलमा विगतमा सस्तोमा ट्रष्टका जग्गा यती समूहलगायतलाई दिइएको थियो । त्यस्तै रोकाय अखिलका नेता नै हुन् । सहसचिव बराबरको तलब खाने उनी सरकारी गाढी चढेर सरकारविरुद्धको आन्दोलनमा जाने गरेका छन् । जबकि, कार्यालयमा भने कहिलेकाही मात्र जाने गरेका छन् ।

राजनीतिक भर्ती गरिएका बोर्ड सदस्यलाई देउवा सरकारले हटाउन पनि सकेको छैन । बोर्डका काम अघि बढाउन पनि चाहेको छैन । जसको असर बोर्डको आम्दानीमा परेको छ । कतिपय जग्गा भाडामा लगाउने तथा सम्झौता नगर्दा बोर्डले भाडा गुमाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्