Logo
Logo

आइन्स्टाइनको पाण्डुलिपि लिलाममा बिक्री



काठमाण्डौं । अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एउटा पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिकेको छ ।

यो पाण्डुलिपि फ्रान्सको पेरिस क्रिस्टिको लिलामी घरमा बिक्रीमा राखिएको थियो । क्रिस्टिको लिलामी घरमा भएको यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको कीर्तिमान तोडेको बीबीसीले जनाएको छ ।

सन् १९१५ मा प्रकाशित यो सिद्धान्तले मानवजातिको अन्तरिक्ष, समय र गुरुत्त्वाकर्षणबारेको बुझाइ परिवर्तन गरिदिएको थियो । सापेक्षिता सिद्धान्त सम्बन्धी हिसाब गरेको यो पाण्डुलिपि आइन्स्टाइन र उनका स्वीस सहकर्मी मिसेल बेसोले सन् १९१३ र १९१४ तयार गरेका थिए । यी कागजात पनि बेसोले नै राखेका थिए । क्रिस्टिको लिलामी घरले यी पाण्डुलिपिलाई जोगाएर राख्ने बेसोको सोंचको तारिफ गरेको छ ।

‘आइन्स्टाइन त्यस्ता थिए जसले आफूले लेखेका थोरैमात्रै कागजात राखे, त्यसैले यो पाण्डुलिपि रह्यो भन्ने तथ्य मात्रै पनि हाम्रा लागि असाधारण हो’ लिलामी घरका विज्ञ भिन्सेन्ट बेल्लोएले भन्नुभयो । पाण्डुलिपिमा कालो कलमले हिसाबकिताब गरिएको छ र बेल्लोएका अनुसार सिद्धान्त तर्जुमा गर्ने दौरान त्यहाँ थुप्रै गल्ती देखिन्छ । तर ५४ पृष्ठको यो पाण्डुलिपि कसले खरिद गरेको भन्ने खुलाइएको छैन ।

आइन्स्टाइनको सापेक्षताको सिद्धान्तले ब्रह्माण्ड, ग्रहका कक्ष र ब्ल्याक होलको उत्पत्तिमा थप स्पष्टता ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्