Logo
Logo

‘साइबर सर्कल’ले एमालेका विचारलाई जनतामा लैजान्छ : प्रदीप ज्ञवाली



काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले ‘साइबर सर्कल’ ले एमालेका विचार र नीतिलार्य आम जनतामा लैजाने बताएका छन् ।

बुधबार राष्ट्रिय युवा संघको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसारलाई सूचना प्रविधिले हत्केलामा अटाउने बनाएको उदाहरण दिँदै साइबर सर्कलमार्फत एमालेका विचार र नीतिलाई आम जनतामा लैजान सहज हुने बताएका हुन् ।

उनले सूचना प्रविधि भनेको दुईधारे ब्लेड भएको उदाहरण दिँदै उनले तरिका मिलाउँदा दारी काट्न सकिने र तरिका नमिलाउँदा गाला काट्ने प्रस्ट पारे । उनले मुलुक पनि अहिले त्यस्तै दुई धारमा उभिएको चर्चा गरे । एकातिर केपी ओली र अर्कातिर १० तिर फर्किएका अवसरवादी गरी मुलुक दुई धारमा रहेको उनको भनाइ थियो ।

नेता ज्ञवालीले संवैधानिक आवरणमा मुलुकलाई प्रतिगामी बाटोमा हिँडाउन लागेको अवस्थामा एमालेले दसौँ राष्ट्रिय महाधिवेशन गर्न गइरहेको भन्दै यो महाधिवेशनबाट देश र जनतालाई एमालेको उपस्थिति देखाएर प्रस्ट सन्देश दिनुपर्ने खाँचो औँल्याएका छन् ।

लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई भत्काउने कसैले दुस्साहस नगरोस्, त्यसको पहरेदारको भूमिका एमालेले निर्वाह गर्नेछ भन्ने सन्देश दिनुपर्ने खाँचो औँल्याए । सही नीति र सही नेतृत्व स्थापित गर्ने प्रयोजनका निम्ति महाधिवेशन भइरहेको भन्दै उनले केपी ओलीको विकल्प नरहेको दाबीसमेत गरे ।

मुलुकमा अहिले एमालेविरुद्ध चौतर्फी घेराबन्दीको अवस्था सिर्जना भएको पनि उनले बताए । केन्द्र र प्रदेशका सरकारबाट पार्टी बाहिरिएको, केही नेता एमालेबाट चोइटिएको र केही मिडियाको समाचार हेर्ने हो भने एमालेमा खरानी मात्र बाँकी छ जस्तो भन्ने सन्देश प्रवाह भएको अवस्थामा एमालेले दसौँ महाधिवेशनमार्फत त्यो भ्रम चिर्ने पनि उनले प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्