Logo
Logo

स्विडेनकी पहिलो महिला प्रधानमन्त्रीले दिइन् १२ घण्टा नबित्दै राजीनामा



काठमाडौं । स्विडेनकी पहिलो महिला प्रधानमन्त्री म्याग्डलेना एन्डर्सनले प्रधानमन्त्री बनेको १२ घण्टामै पदबाट राजीनामा दिएकी छन् । एन्डर्सनले नियुक्त भएको १२ घण्टाभित्रै राजीनामा दिएकी हुन् ।

उनी सोसल डेमोक्रेटिक पार्टीकी नेता हुन् । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार एन्डर्सनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घण्टा नबित्दै पदबाट राजीनामा दिएका हुन् ।

गठबन्धन सरकारको साझेदार रहेको ग्रिन पार्टीले समर्थन फिर्ता लिएपछि एन्डर्सनको राजीनामा आएको समाचारमा उल्लेख छ । उनको राजीनामासँगै स्विडेनमा राजनीतिक अन्यौल भएको छ ।

उनले सभामुखलाई एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्रीमा नियुक्त हुने अपेक्षा गरेको पनि बताएकी छन् । ‘मैले सभामुखलाई प्रधानमन्त्री पदबाट मुक्त गर्न भनेकी छु’, पत्रकार सम्मेलनमा बोल्दै एन्डर्सनले भनिन्, ‘म एकल पार्टीको नेतृत्वको सोसल डेमोक्रेट सरकारको नेतृत्व गर्न तयार छु ।’

गठबन्धन सरकारले ल्याएको बजेट संसदबाट अस्वीकृत भएपछि ग्रिन पार्टी सरकारबाट बाहिरिएको थियो । तर प्रधानमन्त्रीका लागि संसदमा हुने चुनावमा एन्डर्सनको पक्षमा मतदान गर्ने उक्त पार्टीले प्रस्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्