Logo
Logo

‘अल्पमत बहुमतको आधारमा नेतृत्व चुने हामी फालिन्छौं’



काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशन शुक्रबार चितवनमा सुरु हुँदैछ । विधान महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नीति बनाइसकेको एमालेले चितवनबाट नेतृत्व चुन्ने छ । त्यसैले सबै नेता पद सुरक्षित गर्न लागिपरेका छन् । सर्वसम्मत नेतृत्व चुन्ने संस्थापन पक्षको चाहना हो । तर, परिस्थिति त्यस्तो छैन । सर्वसम्मत नेतृत्व चुन्ने अवस्था बन्न नसके एमालेका धेरै समूह संकटमा पर्नेछन् । मुख्य त तेस्रो धार र पूर्वमाओवादी समूह यसको मारमा पर्नेछन् । यसै सन्दर्भमा पूर्वमाओवादी धारका नेता प्रभु साहसँग दृष्टिन्यूजका सन्तोष साहले गरेको संक्षिप्त कुराकानी प्रस्तुत छः

महाधिवेशनको तयारी कस्तो छ ?
महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि छनोट भइसकेका छन् । महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न मूल व्यवस्थापन समितिका साथै विभिन्न उपसमितिहरु गठन गरेर जिम्मेवारी बाँडफाँड गरेर लागेका छौं । भव्यरुपमा महाधिवेशन सम्पन्न गर्न युद्धस्तरमा काम भइरहेको छ ।

कसरी नेतृत्व चयन गर्दै हुनुहुन्छ ?
१०औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्छ । अल्पमत र बहुमतको आधारमा नेतृत्व चयन गर्दा एकताको भाव पैदा हुँदैन । वर्तमान चुनौतीहरु सामना गर्न सहमतिको आधारमा नेतृत्व चयन गर्दा राम्रो हुन्छ । नेकपा एमालेविरुद्ध हुँदै आएको घेराबन्दी तोड्न सक्ने नेतृत्व सहमतिको आधारमा मात्र चुन्न सकिन्छ ।

एकताको महाधिवेशन भएकाले १०औं महाधिवेशनबाट मूल नेतृत्वको रुपमा केपी शर्मा ओली नै निर्वाचित हुनुहुनेछ । पार्टी र देशलाई केन्द्रमा राखेर उहाँकै नेतृत्वमा अगाडि बढ्यौं भने वर्तमान समस्याको समाधान गर्न सकिन्छ । उहाँको नेतृत्वमा अगाडि बढे एमालेले देशको नेतृत्व गर्न सक्छ । उहाँको नेतृत्वमा सिंगो कमिटी नै सर्वसम्मत गर्ने प्रयास हो । त्यस्तो अवस्थामा एमाले बलियो हुन्छ । र, आगामी निर्वाचनमा उहाँकै नेतृत्वमा एमालेले बहुमत प्राप्त गर्छ ।

केपी ओली बाहेक मूल नेतृत्वका लागि अरु योग्य छैनन् ?
अहिलेको आवश्यकता केपी शर्मा ओली नै हो । ओलीजीको विकल्प नै छैन् । पार्टीमा मात्रै होइन, देशमा पनि ओलीजीको विकल्प छैन् । उहाँकै नेतृत्वमा अगाडि बढे मात्र निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्दै देशको नेतृत्व गर्नसक्छ । मुख्य नेतृत्वमै विवाद गर्ने हो भने पार्टी बलियो हुँदैन् । त्यसैले ओलीजीलाई सर्वसम्मत अध्यक्ष चुन्नुपर्छ । र, उहाँलाई सहयोग पुग्ने अन्य पदमा समेत उहाँकै सहयोगीलाई ल्याएर अगाडि बढ्नुपर्छ । एमालेका लागि ओलीजी निर्विकल्प हुन् ।

सर्वसम्मत नेतृत्व चयन गर्नु सोचेजस्तै सहज छ त ?
मेरो स्पष्ट धारणा के हो भने– अहिले अल्पमत बहुमत गर्नु हुँदैन् । अल्पमत बहुमतमा गर्दा विभिन्न समूहबाट आएका हामीहरु नै फालिने डर हुन्छ । अल्पमत बहुमतमा जाँदै गर्दा विपक्षीले चलखेल गर्ने र हाम्रो एकता भाडिने सम्भावना पनि हुन्छ । कम्युनिष्ट पार्टीलाई बलियो बनाउन हामीभित्रै पनि एकताको आवश्यता छ । हामी भित्रैका साथीहरुका कारण विगतमा कम्युनिष्ट एकता विभाजनको अवस्थामा पुगेको हो । त्यसकारण हामी भित्रको एकता अहिलेको आवश्यता हो । अल्पमत–बहुमतको दिशामा गएर केन्द्रदेखि तल्लो तहसम्म समूह निर्माण गर्ने काम भएको विगतबाट पाठ सिक्दै अगाडि बढनुपर्छ । नेतृत्व सर्वसम्मत नै चयन गर्नुपर्छ ।

उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा सर्वसम्मत कसरी सम्भव हुन्छ ?
उहाँको आकांक्ष स्वभाविक हो । पार्टीको उपाध्यक्षले अध्यक्ष दाबी गर्नु गलत होइन । तर, अघि पनि भनिसके अहिलेको आवश्यकता ओलीजी नै हो । यो कुरा रावलजीले पनि बुझ्नु भएको छ । अन्त्यमा उहाँ पनि सहमतिकै आधारमा अघि बढ्न तयार हुनुहुन्छ । किनकी, पार्टी विभाजनको क्रममा पार्टी एकताको पक्षमा उभिएका नेता पार्टी बलियो बनाउने सवालमा जिम्मेवार भएर प्रस्तुत हुनुहुन्छ भन्नेमा विश्वस्त छु ।

पदाधिकारीका आकांक्षी झन् धेरै छन्, कसरी सबै पदमा सर्वसम्मत नेतृत्व चयन होला ?
पदाधिकारी भनेको बहुकेन्द्र होइन । मुख्य नेतृत्वलाई सहयोग गर्दै पार्टीको कामलाई गति दिन विभिन्न पद सृजना गरिएको हो । बहुपदलाई कसरी व्याख्या गर्ने भन्ने दृष्टिकोणमा भरपर्छ । विधानमा हामीले विभिन्न पद हुने जुन व्यवस्था गरेका छौं, त्यो भनेको बहुकेन्द्र हो वा जिम्मेवारी बाँडफाँड हो ? यसमा स्पष्ट हुने हो भने पदाधिकारीमा हानाथाप गर्नुपर्ने कारण हुँदैन । नेतृत्वलाई सहयोग गर्न र पार्टीलाई गतिशिल बनाउँन बहुपद व्यवस्था गरिएको हो । त्यसैले, मुल नेतृत्वलाई सहयोग गर्ने सन्दर्भमा सहमितकै आधारमा जिम्मेवारी बाँडफाँट गर्नु नै राम्रो हुन्छ । हाम्रो प्रयास यसैमा हुन्छ ।

तपाईंको आकांक्षा कुन पदका लागि हो ?
केपीजीकै नेतृत्वमा, उहाँले नै प्रस्ताव गरेको टिमको रुपमा अगाडि बढ्नुपर्छ । त्यसैले अर्को विकल्प सोचिसकेको छैन । महाधिवेशनमा कस्तो परिस्थिति बन्छ त्यतिबेला नै तय हुन्छ । आफू–आफू हुने भनेर बहुसेन्टर बनाउने र नेतृत्वलाई अप्ठयारो पार्ने पक्षमा म छैन् । नेतृत्वलाई सहज हुने गरी अगाडि बढ्ने मेरो स्पष्ट धारणा हो ।

महाधिवेशनपछि तपाईं पूर्वमाओवादीको अवस्था कस्तो हुन्छ ?
हामी के चाहन्छौं भने– पूर्वएमाले, पूर्वमाओवादी बनेर कम्युनिष्ट पार्टीलाई एकीकृत गर्न सकिन्न । कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने हो भने पूर्वएमाले र पूर्वमाओवादीको सोच त्याग्नुपर्छ । कम्युनिष्ट सेन्टरको सोचबाट अगाडि बढ्दै यो महाधिवेशनबाट सबैलाई जोडने गरी केपीजी अगाडि बढ्नुहुन्छ भन्ने मेरो विश्वास हो । एकताको मर्मअनुसार उहाँले पार्टीलाई नयाँ जीवन दिने काम गर्नुहुन्छ ।

प्रतिनिधि छनोटमार्फत पूर्वमाओवादीलाई प्रतिवन्ध नै लगाइयो भनिन्छ नि ! अवस्था पनि त्यस्तै देखिन्छ । तपाईंहरुलाई बेठिक लागेको छैन ?
यसमा मुख्य नेतृत्वको संलग्नता छैन् । स्थानीय स्तरका केही नेताले केही ठाउँमा गरेको जस्तो लाग्छ । तर एउटा कुरा के छ भने जसले अरुका लागि खाल्डो खन्छ पहिला उहीँ त्यो खाल्डोमा पर्छ । अरुलाई निषेध गर्ने, अरुलाई बाहिर राख्ने सोच जसको हुन्छ उ आफैँ त्यो खाल्डोमा पर्ने निश्चित छ । त्यसैले यसलाई ‘तिलको टार’ बनाइराख्न आवश्यक ठान्दिन् । तर एकाध ठाउँमा अस्वभाविक काम भएको छ । पार्टीले त्यो समस्या समाधान गर्छ ।

अन्त्यमा, तपाईंको अर्न्तसंघर्ष बाँकी छ कि सकियो ?
मुख्यकुरा राजनीतिक वैचारिक कुरा नै हो । हामीले नेकपाको निरन्तरता खोजेका थियौं । पुरानो एमाले नभइ नेकपाको आधारमा नयाँ एमाले खोजिएको हो । त्यो मुलभूत रुपमा विधान महाधिवेशनले सम्बोधन गरिसकेको छ । वैचारिक हिसाबले पनि धेरै कुरा स्पष्ट भइसकेको छ । सांगाठनिक हिसाबले पनि धेरै कुरा हल भइसकेको छ । केही प्राविधिक हिसाबले मिलाउन बाँकी कुरा पनि आगामी महाधिवेशनबाट समाधान हुन्छ । नेतृत्वप्रति विश्वास छ, हामी आशावादी छौं । त्यसैले यो पिषयलाई धेरै बहसको विषय बनाउँन आवश्यक छैन् ।

प्रतिक्रिया दिनुहोस्