Logo
Logo

प्रधानमन्त्रीले आन्दोलनरत कानुन व्यवसायीलाई छलफलका लागि बोलाए



काठमाडौं । करिब एक महिनादेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले कानुन व्यवसायीलाई भेटघाटका लागि भोलि (शुक्रबार) बिहान १० बजे बोलाएका हुन् ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले समय माग गरेकाले प्रधानमन्त्री देउवाले बोलाएको बताए ।

बार महासचिव लीलामणि पौड्यालका अनुसार, प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय शुद्धिकरणको अवधारणाका विषयमा छलफल हुनेछ ।

छलफलमा बार पदाधिकारीका साथै वरिष्ठ अधिवक्ता दमननाथ ढुंगाना, बद्रीबहादुर कार्की, शम्भु थापा, हरिहर दाहाल, रमण श्रेष्ठ, प्रेमबहादुर खड्का पनि सामेल हुने तय भएको छ । त्यसैगरी नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्षका साथै केही पदाधिकारी पनि जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्