इतिहास निर्माणको अप्ठेरो बाटो « Drishti News – Nepalese News Portal
Logo

इतिहास निर्माणको अप्ठेरो बाटो


लक्ष्मण देवकोटा


आइन्स्टाइनले भनेका छन्– संकटै संकटभित्र नै हो भेटिने अवसर ! बाटो नभएको भीरपहरामै हो भूगोलको अप्ठेरो चिर्दै बन्ने बाटो र कुद्ने बस र रेल नै हो ।

नेपाली श्रमजीवी जनताको मुक्तिको आन्दोलन, जातीय दमन उत्पीडन विरुद्धको लडाइँ, महिला मुक्तिका जमिन र कानूनका लडाइँ, मुलुकको साँध सिमाना जोगाएर छिमेकी थिचोमिचो र हेलाहोँचोविरुद्धको प्रतिवाद अहिले सबै छायाँमा परेको छ । सुगौली सन्धिको मूलप्रति त जतनले राख्न नसक्ने सरकारले जंगी पिलर जोगाउने कल्पना कसरी गर्नु ?

भीरपहरा खन्न निस्केका ज्यामी, मजदुर अगुवाहरू अहिले पूर्णत पथभ्रष्ट छन् । अपेक्षा गरिएको नेता जो अहंकार, लोभ र लालचको कुण्डमा डुबेर हेर्नै नसकिने गरी गन्हाइसकेका छन्, ऊ आफू मात्र बाँच्न लाजै नमानी जे पनि हर्कत गरिरहेको छ ।

खड्गप्रसाद ओली ठोरीतिर लागेकोमा आलोचना गर्नेहरु बाबा रामदेवलाई विस्तारासम्मै पुर्याएर ख्वामित भक्ति प्रदर्शन गरिरहेका छन् ! रुग्ण वैद्यखानाको कुनै सरोकार छैन, तर अर्बौँ रुपियाँको कारोबार गर्ने पतञ्जलीलाई सरकारले निःशुल्क जग्गा दान गर्दैछ । सामान्य शिष्टाचार हुनु, विचार आदानप्रदान हुनु अहिलेको लोकतान्त्रिक समाजमा नौलो कुरा होइन । तर, सत्तामा टिकिरहन भारतीय संस्थापनको यतिबिघ्न गुलामी सार्वभौमसत्ता विरोधी चरित्र हो ।

काठमाण्डूका बोर्डिङहरुमा बन्देमातरम त बजेकै थिए, अब पतञ्जलीका आयुर्वेदिक केन्द्र खुल्दै जाँदा, उनीहरुका निजी सञ्चारमाध्यमले २४ घण्टा पनि नकुरेर अनुमति प्राप्त गर्नुले सरकारले लगाइरहेको वस्त्रलाई ह्वाङ्गै बनाइदिएको छ । रामदेवलाई कम्पनीको रुपमा करको दायरामा ल्याएर राष्ट्रिय स्वार्थ नबाँझिने गरी व्यापारिक सम्बन्ध हुनु अस्वाभाविक होइन, तर निजी कम्पनीलाई यसरी हाम्रा प्राकृतिक सम्पदा समर्पण गर्नु स्वाभिमानी नेपाली जनताका लागि लाजमर्दो विषय हो ।

बहुदल आउनासाथ कांग्रेसी नेताहरुले निजीकरण र खुला अर्थतन्त्रका नाममा चीनले दिएका उद्योगधन्दा बेचेर खाए । चीन सरकारले दिएको छालाजुत्ता कारखाना, हेटौँडा कपडा उद्योग, चिनी मिल, भृकुटी कागज कारखाना, वीरगञ्ज औजार कारखाना, रुस सरकारले बनाइदिएको जनकपुर चुरोट कारखाना मात्र जोगाएको भए देश आर्थिक समृद्धितिर गइसक्थ्यो । विगतमा गरेका गल्ती कमजोरीलाई सच्याउँदै जानुको साटो रामदेवको पतञ्जजलीलाई स्थापित गर्ने र नेपाली जडीबुटी उत्पादन गर्ने सिंहदरबार वैद्यखानादेखि अन्य उद्योगलाई धरासायी बनाउने कुराले देश आर्थिक समृद्धितर्फ जान सक्दैन ।

नेपालमै कोरोना, क्यान्सरको औषधि कल्पसनद् प्रतिष्ठानले बनाएको कुरा मिडियामा आएको छ । त्यस्ता कुरालाई व्यवस्थित गरेर उत्पादन गर्नु सरकारको दायित्व हो । तर, सरकार आफ्नालाई भन्दा पराई पोस्न व्यस्त छ ।

कांग्रेसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धिलाई सम्झौता हो भनेर ढाँट्न खोज्दा कत्रो विद्रोह भएको थियो ? संसद् र सडकमा ! कालापानीबाट भारतीय फौजको वापसीको दबाब दिन अखिल, युवासंघका युवाहरु नै खुकुरी बोकेर कालापानीमै पुगेका थिए । समाज परिवर्तनको आँधीका हरेक ज्वारभाटा उठाउने नेपालका वामपन्थी युवाहरु नै थिए, समयको यो कालखण्डमा सत्ता, शक्ति र अहंकारको रसातलमा भासिएर नारायणी किनारमा पुगेका छन् हाम्रा नेताहरु ।

श्री ढलेका कर्पोरेट हाउसका विक्रेताजस्ता देखिएका छन् उनीहरु । शक्तिको लोभमा दिल्ली दलालीको चक्रमै फँसेका छन् उनीहरु । यो मिथ्या आरोप होइन, घटनाक्रमले देखाएको सत्य हो । सामन्त गोयल केपी ओलीको विस्तारामा पुग्नु र बाबा रामदेव प्रचण्डको गुप्त कोठामा पुग्नु दीर्घकालमा भारतीय स्वार्थकै निम्ति भारतीय संस्थापनद्वारा सोचीसम्झी चालिएको कुरा हो । बाह्यरूपमा जे–जस्तो देखिए पनि कालान्तरमा भारतीय स्वार्थका खेलहरू प्रष्ट हुँदै जानेछन् ।

यस्तो जटिल र अस्थिर राजनीतिमा देशको निम्ति कम्युनिष्ट पार्टीहरुभित्रका असल कम्युनिष्टहरुको मोर्चा बनेन भने भारतीय स्वार्थका अगाडि हाम्रा नेताहरुले घुँडा, टाउको सबै टेक्ने हुन् कि भन्ने खतरा देखिन थालेको छ । यहाँनेर सरकारमा गएको माधव नेपाल नेतृत्वको समाजवादी दलको निरन्तर खबरदारी र देशघाती सम्झौता हुन नदिन चनाखो भूमिका हुनुपर्ने देखिन्छ ।

चितवन महाधिवेशनमा पूर्णत आफ्नो कब्जामा पार्टी लिएपछि ओलीले आफू बलियो हुन भारतीय संस्थापनको अरु दलाली गर्नेछन् । चरम रुपमा उग्र हिन्दूत्वको लाइनमा गइसकेका उनी बाह्यरुपमा जति देशभक्त देखिए पनि भित्रीरुपमा बिजेपी लाइन नै उनको लाइन हुनेछ । अतः घुमिफिरी समयले यसको रखवारी गर्ने काम माधव नेपाललाई नै दिएको छ । उनकै अगुवाइमा वामपन्थी एकता भयो भने मुलुकको सार्वभौमिकता जोगाउने र इतिहास रच्ने काम हुनेछ ।

इतिहास रच्ने आम जनताहरुले नै हो । त्यसको निम्ति नेतृत्वको सही कार्यदिशा र समय अनुकूलको विचार नै प्रमुख कुरा हो । नक्कली राष्ट्रवादी आवरणमा जनतालाई एमालेले धेरैपटक झुक्याएको छ । कांग्रेसको त इतिहास नै कालो छ । कम्तीमा देशलाई पहिला राख्ने स्वाभिमानी जनता मात्रै वामपन्थी हुन्छ भन्ने कुराको पुनःस्थापना नै अहिलेको मूल मुद्दा हुनुपर्दछ ।

सत्तामा पुगेर कुस्त कमाएका कम्युनिष्टधारी दलालहरु र जनताको आँगनमा गणतन्त्र, समावेशी राज्य र संघीयताको मुद्दा लिएका बीचको द्वन्द्व जारी छ र निरन्तर चलिनै रहनेछ । जनजीविकाका मुद्दाहरु बोकेर अप्ठेरो बाटो हिँड्नेहरु थोरै नै हुन्छन् । इतिहासले नै देखाएको कुरा हो यो । कम्तीमा ओली अहंकारविरुद्ध, विधि, विधान र पद्धतिका निम्ति विद्रोह गरेकाहरुबाट कुनै गलत काम हुनुहुँदैन ।

ओलीलाई महाराज ओली बनाउनमा विगतमा भएका गल्ती कमजोरी सच्याउँदै जनतासँग गएर सियोसम्म नलिएर पुनः संगठनको अभियानमा होमिनुपर्छ । वडा तहसम्मै एमालेका छोटा दलालहरुले पार्टी कब्जा गरेको अवस्थामा इमानदारहरुको जाने ठाउँ पनि छैन । नीति, सिद्धान्तबिना सहमतिको नाममा ओली गुटको एकछत्र राज चलिरहेको बेला यो आवश्यकता पनि हो । इतिहास रच्ने जिम्मा विद्रोही कामरेडरुको हातमा आएको छ ।

– मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्