Logo
Logo

बालविवाह अन्त्य गर्न बालबालिका र सरोकारवालाबीच अन्तरक्रिया


नन्दा थापा


बाजुरा । बाल विवाह अन्त्यका लागि बुढीगंगा नगरपालिकाका १० वटै वडामा बालबालिका र सरोकारवाला विच अन्तरक्रिया सञ्चालन गरिएको छ ।

बालविावह अन्त्यका बालबालिका र सरोकारवाला निकायका प्रतिनिधिलाई संगै राखेर अन्तरक्रिया गरिएको हो । ‘सबै जुटौ बालविवाह रोकौ’ भन्ने मूल नाराका साथ बुढीगंगा नगरपालिकाको समन्वय गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा पीसविन बाजुरा सामुदायिक विकास परियोजनाको आयोजनामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

बालविवाह अन्त्यका लागि स्थानीय रणनीति २०७६ को मस्यौदा गरी गुड नेवर्स इन्टरनेशनल नेपाल र बुढीगंगा नगरपालिका कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग तथा पीसवीन बाजुराको संयोजनमा यो रणनीति तयार गरिएको छ । घरधुरी सर्भेक्षणबाट प्राप्त तथ्य तथ्यांकहरु, सरोकारवालाहरुसँग गरिएको छलफल तथा अन्र्तक्रियाबाट प्राप्त सुझाव तथा पृष्ठपोषण, लक्षित समूह छलफल बाल क्लब, समुदाय, बाल संरक्षण समिति आदिबाट प्राप्त नतिजा र सहायक सन्र्दभ सामग्री संकलन गरी स्थानीय रणनीति २०७६ को मस्यौदा तयार गरिएको हो ।

बुढीगंगा नगरपालिकाले गुड नेवर्स इन्टरनेशनल नेपाल र पीसविन बाजुराको सहकार्यमा वि.सं. २०७५ साल चैत्रमा एउटा सर्वेक्षण गरेको थियो । सर्भेक्षणमा २०७३ वैशाखदेखि २०७५ चैत्रसम्ममा भएका सम्पूर्ण विवाहहरुको तथ्यांक संकलन गरिएको थियो । उक्त तथ्यांकलाई विश्लेषण गर्दा विवाह गरेका २८० मध्ये १५७ जनाले २० वर्षको उमेर नपुग्दैे विवाह गरेको पाइएको थियो भने कानूनी रुपमा उमेर पुगेर १२३ जनाले विवाह गरेको पाईएको थियो ।

वि.सं. २०७३ सालमा ४३ जना, २०७४ सालमा ६८ जना र २०७५ सालमा ४६ जना किशोरकिशोरीहरुले बालविवाह गरेको पाईएको नगरप्रमुख दिपक विक्रम शाहले बताएका छन् । उमेरगत रुपमा विश्लेषण गर्दा १४ देखि १५ वर्षको उमेरमा १०.२%, १६ देखि १७ वर्षका उमेरमा ४२% र १८ देखि १९ वर्षको उमेरमा ४७% ले विवाह गरेको उनको भनाई छ । तथ्यलाई विश्लेषण गर्दा तुलनात्मक रुपमा केटाभन्दा केटीहरुले कम उमेरमा विवाह गरेको पाईएको नगरप्रमुख शाहको भनाई छ ।

सोही तथ्याङ्कलाई आधार मान्दै नगरपालिकाले बाल विवाह अन्त्यका लागि स्थानिय रणनिति २०७६ बनाई कार्यान्वयन चरणमा ल्याएको छ । स्थानिय रणनिति बनाएको २ वर्ष अब बालविवाहको गर्नेको दर पत्ता लगाउन फेरी सर्वेक्षण गरिने नगरपालिकाले जनाएको छ । सर्वेक्षणको पछिको तथ्याङ्कलाई आधार मान्दै नगरपालिकालाई २०८० मा बाल विवाह अन्त्य भएको घोषणा गरिने नगरप्रमुख शाहले बताए ।

१० वटै वडामा एक साथ सञ्चालन गरिएका अन्तरक्रिया कार्यक्रममा कार्यपालिकाका सदस्य, वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य संस्थाका प्रमुख, बाल समूह, स्थानीय प्रहरी निकाय, ग्रामीण विकास समाज नेपाल, गुड नेवर्स इन्टरनेशनल नेपाल लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा बाल विवाह जस्तो कानुनी तथा सामाजिक अपराधमा मेरो कुनै पनि हिसाबले संलग्नता रहने छैन र अरुलाई पनि बाल विवाह नगराउन अभिप्रेरित गर्नेछु भन्दै प्रतिबद्धता सहितको व्यानरमा हस्ताक्षर गरिएको छ । प्रतिबद्धता व्यानरमा बालबालिका सहित सरोकारवाला ५ सयले एक साथ हस्ताक्षर गरेका छन् ।

बालबालिका र सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सहजीकरण नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुरा सचिव नन्दा थापा र सदस्य प्रमित विकले गर्नुभएको हो । ५ दिनसम्म लगातार सञ्चालन भएका अन्तरक्रिया कार्यक्रम बुढीगंगा नगरपालिका १ र २ को कुडी, ३ र ४ को थुमा मावि, ५ र ६ को नगरपालिकाको हल, ७ र ८ को वडा नं. ७ तथा ९ र १० को ९ नं. वडा कार्यलयमा सञ्चालन गरिएका छन् ।

अबको दुई वर्षभित्र बालविवाह मुक्त पालिका बनाउने लक्ष्य बुढीगंगा नगरपालिकाले लिएको छ । त्यसै अनुरुप बालविवाह न्युनीकरणका लागि पीसविन बाजुरा र गुड नेवर्स इन्टरनेशनल नेपालले उक्त पालिकामा विभिन्न जनचेतनामुलक कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्