Logo
Logo

सेवाप्रति समर्पित भएर काम गर्न कर्मचारीलाई दाहालको निर्देशन


- दृष्टि न्युज/संवाददाता


चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले इमान्दार, निष्ठावान बनी सेवाप्रति समर्पित भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छन् । भरतपुर महानगरपालिकाका वडा सचिवहरु र समायोजन पदस्थापनमा आएका कर्मचारीहरुको क्षमता विकासको लागि भएको दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले वडा कार्यालयहरुलाई चुस्त, दुरुस्त र सशक्त बनाउन कार्यशालाको आयोजना गरिएको बताइन् ।


उनले भनिन्, ‘राष्ट्रसेवक कर्मचारीहरुले सेवाग्राहीको कुनै पनि काममा ढिलासुस्ती नगरी, पारदर्शी ढंगले सेवा प्रवाह गर्न जरुरी छ ।’ महानगर प्रमुख दाहालले वडा कार्यालयहरुलाई सशक्त र गतिशील बनाउन वडा सचिवहरुलाई निर्देशन दिएकी छिन् ।

कार्यशाला गोष्ठीमा महानगरका २९ वटा वडाका वडा सचिवहरु सहभागी थिए । महानगर प्रमुख दाहालले भनिन्, ‘सेवा प्रवाह प्रभावकारी अझै हुन नसकेको यताकदा केही गुनासोहरु आइरहेका छन्, यस्तो कुनै किसिमको गुनासो नआउने ढंगले काम गर्न जरुरी छ ।’
कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले सिंगो महानगरलाई उत्कृष्ट महानगर बनाउन वडा सचिवहरुको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले कार्यशालाबाट सिकेको सीपलाई कार्यान्वयनमा लगेर सेवालाई प्रभावकारी बनाउन कर्मचारीहरुको कर्तव्य भएको बताइन् ।

कार्यक्रममा महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले क्षमता विकास गरेर महानगरलाई नमुना र उत्कृष्ट महानगर बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य महानगरका उपसचिव प्रद्युम्न उपाध्यायले दिएका थिए । दुई दिनसम्म चल्ने कार्यशालामा प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, उपसचिव कुलबहादुर जिसी, सूचना अधिकारी मेनका पण्डित, उपसचिव प्रद्युम्नप्रसाद उपाध्याय, ठाकुरप्रसाद पौडेल, नेत्रप्रसाद रिजाल, तुलसीप्रसाद पौडेललगायतले प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्