Logo
Logo

सूचना प्रविधि क्षमताको लेखाजोखामा वालिङ द्वितीय



वालिङ । सूचना प्रविधि क्षमतायले गरेको स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखामा स्याङ्जाको वालिङ नगरपालिका दोस्रो भएको छ ।

मन्त्रालयको सूचना तथा प्रविधि शाखाले सातवटै प्रदेशबाट कूल ४३४ पालिकाको लेखाजोखा गर्दा वालिङ नगरपालिका दोस्रो भएको मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो । मन्त्रालयले स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा गर्न विभिन्न ७ विधामा ५० वटा सूचाङ्कहरुको आधारमा मूल्याङ्कन गरी प्रकाशित गरेको नतिजा अनुसार वालिङ नगरपालिकाले दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

स्थानीय तहमा उपलब्ध रहेको जनशक्तिमध्ये सूचना प्रविधिसम्बन्धी ज्ञान भएका जनशक्तिको स्थिति, सूचना प्रविधिसँग सम्बन्धित पूर्वाधारको उपलब्धता, सूचना प्रविधिमा स्थानीय तहको संस्थागत क्षमताको स्थिति, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग, वेबसाइट व्यवस्थापन, डिजिटल साक्षरता, सूचना प्रविधिसम्बन्धी नीतिगत व्यवस्थाको मूल्याङ्कन गरी आगामी दिनमा गर्नुपर्ने कार्यकाबारेमा सुझाव प्रस्तुत गर्ने मुख्य उद्देश्य रहेको छ ।

यस मूल्याङ्कनले स्थानीय तहलाई सूचना प्रविधि प्रयोगको हालको अवस्थाकाबारेमा जानकारी प्रदान गर्दै सूचना प्रविधिका क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धिका लागि मार्गदर्शन मिल्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचना तथा प्रविधि शाखाको वेबसाइटमा उल्लेख छ ।

सूचना प्रविधिमा स्थानीय तहको क्षमता अभिवृद्धिका लागि काम गर्न चाहने सङ्घीय तथा प्रादेशिक निकाय, अन्य सरकारी तथा गैरसरकारी निकायलाई समेत सहयोगी हुने जनाइएको छ । यस अध्ययनका लागि ७ विधामा ५० वटा सूचक तयार गरी सोको अङ्कभार गणनाका लागि स्थानीय तहलाई इमेल तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमार्फत प्राप्त भएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो ।

सोहीमार्फत स्थानीय तहलाई अङ्कभार प्रविष्ट गर्न अनुरोध गरिएअनुसार नगरपालिकाबाट भरेर पठाएको विवरणका आधारमा मूल्याङ्कन गरिएको उहाँले बताउनुभयो । सूचना तथा तथ्याङ्कका आधारमा संवैधानिक तथा कानूनीरुपमा स्थानीय तहलाई प्राप्त अधिकारको कार्यान्वयनमार्फत सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग गर्न महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

हाल उपलब्ध भएको स्रोतसाधन, जनशक्ति, संरचनाको अवस्था र त्यहाँ आवश्यकपर्ने अन्य दक्षताको बीचको अन्तर पत्ता लगाउन सहयोगी हुने उहाँले बताउनुभयो । “नगरपालिकाबाट दैनिक भएका सूचना प्रविधिको लेखाजोखा मापदण्ड र अभ्यासलाई हामीले मन्त्रालयमा पठायौँ”, उहाँले भन्नुभयो, “हामीले सूचना तथा प्रविधिको प्रयोगलाई नागरिकसँग जोडेर प्रवाह गर्दै आएको दैनिक सेवालाई तेस्रो पक्षले गरेको मूल्याङ्कनमा देशभरिमै दोस्रो हुन सफल भयौँ यसले थप ऊर्जा र हौसला दिएको छ ।”

विभिन्न सात वटा क्षेत्रमा दिएको सूचकाङ्कका आधारमा स्थानीय तहले प्रविष्ट गरेको अङ्कभारबमोजिम स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा गर्दा वालिङ नगरपालिका कूल ७८ अङ्कसहित दोस्रो हुन सफल भएको हो । कूल ८० अङ्कसहित रुकुमपश्चिमको चौरजहारी नगरपालिका पहिलो भएको हो भने काठमाडौँको कीर्तिपुर नगरपालिकाले पनि ७८ अङ्कसहित दोस्रो भएको छ ।

मन्त्रालयको वेबसाइटमा सूचना प्रविधिको क्षमतासम्बन्धी लेखाजोखा मूल्याङ्कनका लागि विवरण पठाएका पालिकाको अङ्कभार सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्