Logo
Logo

गाउँपालिका महासंघका संस्थापक अध्यक्ष विवेकशीलमा आबद्ध



काठमाडौं । गाउँपालिका महासंघका संस्थापक अध्यक्ष तथा मातृभूमिका लागि नेपाली अभियानका पूर्वमहासचिव नारायणप्रसाद कोइराला, पूर्वसह–संयोजक भवानीप्रसाद शर्मा, पूर्वयुवा विभागका प्रमुख रमेश श्रेष्ठलगायत विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् ।

लामो समय नेपाली कांग्रेसको राजनीति गरेका कोइराला हालै विवेकशील साझा पार्टीसँग एकता भएको सिटिजन्स डिसकशन फोरमका अगुवासमेत हुन् ।

विवेकशील साझामा आबद्ध हुने अन्यमा मातृभूमिका लागि नेपालीका देवराज पौडेल (संयोजक, नवलपुर), रुद्रप्रसाद सापकोटा (संयोजक, चितवन), सुशील खनाल (संयोजक, रुपन्देही), कमलराज पौडेल (संयोजक, पाल्पा), माधव भण्डारी (सह–संयोजक, कास्की), प्रकाश अधिकारी (नवलपुर), देवी बहादुर अधिकारी (गोर्खा), माधव प्रसाद लम्साल (नवलपुर), मदन पोखरेल (रुपन्देही) तथा विकास सापकोटा (चितवन) रहेका छन् ।

मातृभूमिका लागि नेपालीका पूर्वमहासचिव कोइराला भन्छन्, ‘अब मातृभूमिलाई शिरमा राख्ने सबै नागरिक, अभियानकर्मी तथा पार्टीहरू एकबद्ध हुनै पर्ने अवस्था आएको छ । अन्यथा, यो देशको बेथितिमा कुनै सुधार आउने छैन ।’ त्यसैगरी, पूर्वसह-संयोजक भवानीप्रसाद शर्माले विवेकशील साझा अब देशका लागि एकमात्र विकल्प भएको बताए ।

विवेकशील साझा बृहत् रूपान्तरणकारी शक्ति निर्माणको अभियानमा जुटेको छ । सोही अभियानअन्तर्गत हालै विवेकशील साझा, सिटिजन्स डिसकशन फोरम तथा राष्ट्रिय जनता दरबार पार्टीबिच एकता भएको थियो र सो एकताको घोषणा कार्यक्रम यही मंसिर १८ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्